माओवादी कतैबाट रिचार्ज भयो, व्याट्री सकिए बन्द हुन्छ- प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले आफु विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपनि ‘खेल अझै बांकी' रहेको भन्दै अविश्वास प्रस्ताव दर्ता गर्नेहरुलाई सचेत हुन सुझाव दिएका छन । सत्ता गठबन्धनबाट फिर्ता भएको भोलीपल्टै एमाओवादी, कांग्रेस सहितका केही साना दलले बुधवार संसदमा ओली विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
‘म माथि जे जस्ता आरोप लगाएर अविश्वासको प्रस्ताव ल्याइएको छ, त्यसलाई स्वीकार गरेर राजीनामा दिन्न,' ओलीले विहीवार एमाले संसदीय दलको बैठकमा भने,‘खेल अझै बांकी छ । अविश्वास ल्याउनेहरु सतर्क होउन ।'
झण्डै डेढ घण्टा भाषण गरेका ओलीले खेल के कस्तो होला भनी स्पष्ट नगरेपनि नयाँ सरकार बन्ने बाटो नरहेको धारणा बारम्वार दोहोर्याएको एमालेका एक सभासदले अन्नपूर्णलाई जानकारी दिए । ‘माधव नेपालले सात महिना कामचलाउ सरकारको नेतृत्व गर्नुभयो । अहिलेको सरकारले कति समय लिनुपर्ने हो ? ' ओलीको भनाई उदघृत गर्दै ती सभासदले भने,‘राजीनामा दिन्न, करकापनामा पनि स्वीकार गरिन्न ।'
झण्डै आधा घण्टा भारत विरुद्ध भाषण गरेका ओलीले चीनसँग सन्धी सम्झौता गरेर मुलुकलाई भारतवेष्ठित बाट सांचो अर्थमा भुपरिवेष्ठित बनाइएको दावी गरेका थिए । ‘हामी स्वतन्त्र भारतको सार्वभौमसत्ता,राष्ट्रियता र स्वाधिनताको सधैं सम्मान गर्छौ । उसले पनि हाम्रो राष्ट्रियता,सार्वभौमसत्ता र स्वाधीनतामा हस्तक्षेप नगरोस भन्ने हाम्रो भनाइ हो,' प्रधानमन्त्री ओलीले भनेका थिए ।
आफ्नो नेतृत्वमा सरकार बन्न नदिने र संविधान जारी हुन नदिने तत्वको डिजाईनमा सरकार ढाल्ने खेल भएको प्रधानमन्त्रीले दावी गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफु विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेकै दिन भारतीय राजदुतले होटेल याक एण्ड यतीमा भोजको व्यवस्था गरेको आरोप लगाएका थिए । ‘खुल्लामञ्चमा अनसन बस्नेहरु पनि भोजमा गएर टन्न खाएछन, यसको अर्थ के हो? ' ओलीले प्रतिप्रश्न गर्दै भारतले ठाडो हस्तक्षेप गरिरहेको आरोप लगाएका थिए ।
माओवादी केन्द्र कतैबाट रिचार्ज भएर सत्ता परिवर्तनको खेलमा लागेको आरोप ओलीले लगाएका थिए । ‘माओवादी व्याट्री चार्ज भएको रेडियो हो, व्याट्री सकिएपछि आफै बन्द हुन्छ,' ओलीको भनाई उदघृत गर्दै एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने । सत्ता परिवर्तनमा लागेर माओवादीले राजनीतिक वेइमानी र धोखा दिएको आरोप लगाएका ओलीले माओवादीलाई सरकारको नेतृत्व दिने कुनै पनि भद्र सहमति नभएको दावी गरेका थिए ।
एमाओवादी अध्यक्ष पुष्कमल दाहालसँग असार २७ गते भावी सरकारको नेतृत्व र मोडोलिटी,मन्त्रालय विभाजन र दाहालपछि एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने लगायतका विषयमा सकारात्मक कुराकानी भएकै भोलिपल्टै टेलिफोनमार्फत सरकारलाई समर्थन फिर्ता लिइएको जानकारी दिइएको ओलीले सभासदलाई बताएका थिए । ‘मैले ९ महिना चलाए । अव २० महिनाको समय छ ।
तपाई(दाहाल) नै प्रधानमन्त्री बन्ने भए कति समयका लागि बन्ने हो, मन्त्रालय के हुने हो ? तपाईले कति पछि एमालेलाई प्रधानमन्त्रीमा छोडने हो भन्ने विषयमा मैले असार २७ गते दाहालसँग छलफल गरेको थिए,'ओलीको भनाई उदघृत गर्दै एमालेका एक सभासदले भने,‘तर मोडोलिटी बनाउंछु भनेको मान्छेले भोलिपल्ट फोन गरेर समर्थन लिएको जानकारी गराएँ ।'

बजेटसँग आश्रित विधेयहरु संसदबाट पारित नभए त्यसको विकल्प खोजिने कुरा पनि प्रधानमन्त्री ओलीले बैठकमा राखेको एमाले सभासद रेवतीरमण भण्डारीले जानकारी दिए । ‘अर्थसँग सम्वन्धित विधेयक पारित नभए राज्य गतिरोधमा एक मिनेट पनि उभिदैन । विकल्प खोज्छ,' ओलीको भनाई उदघृत गर्दै सभासद भण्डारीले भने ।
Don't Forget To Join US Our Community