राजीनामा नगर्ने ओलीको अडान



काठमाडौं: केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबभन्दा ठूलो दल कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने तयारी गरिरहँदा अल्पमतमा परेका ओलीले भने राजीनामा नदिने अडान लिएका छन् ।
संविधानमा संक्रमणकालीन संसद्मा सरकारविरुद्ध अविश्वास प्रस्ताव र सरकार परिवर्तनको व्यवस्था नरहेको भन्दै ओलीले त्यस्तो अडान लिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी समिति बैठकले राजीनामा नदिने निर्णय गरेको हो । माओवादी सरकारबाट बाहिरिनु देशका लागि दुर्भाग्यपूर्ण भएको ठहर गर्दै बैठकले संवैधानिक तथा संसदीय प्रक्रियाको सामना गर्ने निर्णय पनि गरेको छ ।
बैठकपछि महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशिला निर्माण गरिरहेको अवस्थामा माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको उल्लेख छ ।
वर्तमान सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधीनता, स्वाभिमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको भारत र चीन भ्रमणका क्रममा भएका महत्त्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुर्‌याउन सक्ने सम्भावनाप्रति पार्टी गम्भीर बनेको विज्ञप्तिमा उल्लेख छ ।


Don't Forget To Join US Our Community