श्रीमान् बिते, कसरी चार बालबच्चा हुर्काउने ?


जाजरकोटः पाँचजनाको परिवार, सानो झुप्रो, त्यही पनि पानी चुहिने। न खानाको जोहो, न त आनन्दले सुत्ने ओछ्यान।

रुपा विश्वकर्मा निकै समस्यामा छिन्। आफू सक्ने हुँदा ज्याला मजदुरी गरेर ल्याएको अन्न खान पाइन्छ। नसक्दा त त्यही पनि भोकै।

जाजरकोट ढिमे-२ मालुमेला बस्ने रुपा विश्वकर्मा यस्तै पीडामा छिन्। रुपाको १५ वर्षको उमेरमा डोल्पा लहाका बुद्धिबहादुर नेपालीसँग बिहे भयो। तीन छोरी र एक छोरा जन्मिए। दुःखसुख गरेरै भए पनि परिवार जेनतेन चलिरहेको थियो। विवाह भएको सात वर्षमै श्रीमानको ज्यान गयो।

श्रीमान्को मृत्युपछि परिवारको आर्थिक अवस्था पनि निकै नाजुक हुँदै गयो। रुपालाई छाक टार्न पनि समस्या भएपछि रुपा चारजना लालाबाला लिएर माइतीघर जाजरकोट ढिमे आइन्।

यहाँ पनि उनलाई गाँस र बासको समस्याले छोडेन। माइतीको अवस्था पनि उस्तै। जग्गाजमिनको नाममा एक टुक्रो पाखोबारी मात्र। दैनिक ज्याला मजदुरी गरेर खाने। तैपनि छोरीलाई बस्ने ओत दिए माइतीले।

‘न त हातमा सीप छ, न काम गरौँ भने खेतबारी नै छ, म कसरी यी केटाकेटी पालौँ,' रुपाले दुःख प्रकट गरिन्, ‘यी केटाकेटीको पढाइ खर्च कहाँबाट जुटाऊँ।'


रुपाले भनिन्, ‘म त साह्रै समस्यामा परेँ। पढ्ने उमेरमा सानैमा बिहे भयो। बिहे गर्ने उमेरमा विधवा हुनु पर्यो। अब साथमा रहेका चारजना छोराछोरीको लालनपालन र पढाइलेखाइ कसरी गरुँ', उनकी जेठी छोरी पार्वती ९ वर्षकी भइन्, माइली छोरी चन्दा ८  र कान्छी छोरी रेखा ४ वर्षकी भइन सँगै छोरा अनिल ३ वर्षका  छन्।

गाँउलेको गहुँ, मकै, धान गोड्ने, रोप्ने, काट्ने काम गर्दै २५ वर्षिया रुपाले केही जोहो गरेकी छन्। श्रीमान् बितेको तीन वर्ष भयो। ‘जिन्दगी अझै धेरै लामो छ कसरी बित्ने हो, केही थाहा छैन', उनले भने।

कसैले सीपमूलक तालिम दिएको भए र छोराछोरीलाई पढाउने व्यवस्था मिलाइदिएको भए आफ्ना लागि ठूलो राहत हुने उनले बताए।

‘मीठोमसिनो खाने, राम्रा कपडा लगाउने त हाम्रा लागि सपना भए, दुई छाक गाँस र एकसरो शरीर ढाक्ने कपडाका लागि सङ्घर्ष गरिरहनु परेको छ' – रुपाले दुःख सुनाउँदै भनिन्। रासस


Don't Forget To Join US Our Community