सलमान सर्वाधिक बढी खोजिने भारतीय



श्रावण १, २०७३- त्यसो त सलमान खानका बारेमा अनभिज्ञ फिल्म पारखी कमै होलान् । उनी बलिउडमा मात्रै सीमित छैनन् । एकपछि अर्को फिल्ममार्फत् बक्सअफिसमा नयाँ–नयाँ रेकर्ड राख्न माहिर सलमानलाई हालैको एक सर्वेक्षणले गुगलमा सर्वाधिक खोजिने भारतीयको सूचीमा एक नम्बरमा राखेको छ । त्यसो त उनी विगत दस वर्षदेखि पहिलो नम्बरमै हलचल नभई बसेका छन् ।

सलमान जति फिल्म र स्टारडमका कारण चर्चित छन्, उति नै ब्याड ब्वाय छवि र कालो हरिणको अवैध सिकार र ‘हिट एन्ड रन केस’ का कारण उत्तिकै बदनामी पनि खेपिरहेका छन् । त्यसो त पछिल्लो समय छवि सुधार्ने अभियानमा लागेका सलमानले सामाजिक सहयोगका लागि विईंग ह्युमन नामक परोपकारी संस्था पनि सञ्चालनमा ल्याएका छन् ।

५० वर्षको उमेरमा पनि अविवाहित नै रहेका सलमान प्रेममा रहँदा मात्रै नभई ब्रेकअपपछि पनि पूर्वप्रेमिका र उनका नयाँ सम्बन्धसँग गर्ने विवाद र झगडाका कारण बढी मिडियामा छाउने गर्छन् । विवाद, स्टारडम र रेकर्ड ब्रेक फिल्मका कारण सलमान गुगलमा सर्वाधिक बढी खोजिने र चासो दिइने भारतीय सेलिब्रेटी बन्न सफल रहेको सर्वेक्षणकर्ता बताउँछन् ।

गुगलमा सर्च हुने भारतीयमा शाहरूख खान दोस्रो स्थानमा रहेका छन् भने अक्षय कुमारले तेस्रो स्थानमा कब्जा जमाएका छन् । चौथो स्थानमा अमिताभ बच्चन खोजीमा परेका छन् भने दक्षिण भारतीय फिल्मका सर्वाधिक चर्चित अभिनेता रजनीकान्त त्यसपछि अटाएका छन् । खोजी गरिने दस भारतीय सेलिब्रेटीमा त्यसपछि हृतिक रोशन, शाहिद कपुर, रणवीर कपुर, आमिर खान र इमरान हासमी अटाएका छन् ।




Don't Forget To Join US Our Community