
श्रावण ८, २०७३- कांग्रेस सांसद अमरेशकुमार सिंहले ‘प्रधानमन्त्रीको मानसिक अवस्था’बाट प्रश्न उठाएपछि एमालेका सांसदहरुले नियमापत्ति गरेका छन् ।
संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिंदै सिंहले प्रधानमन्त्रीको मानसिक अवस्थामाथि टिप्पणी गरेपछि एमाले सांसदहरु कृष्णभक्त पोखरेल र पुरुषोत्तम पौडेलले नियमापत्ति गरे । लगत्तै एमाले सांसदहरुले उठेर होहल्ला गरेका थिए ।
एमाले सांसदहरुले अमरेशको भनाइमा आपत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले उक्त भनाइ संसदको रेकर्डबाट हटाउन निर्देशन दिइन् । ‘ग्यास पाइप ल्याउने, मेट्रो चलाउने, पानी जहाज चलाउने हावादारी कुरा प्रधानमन्त्रीले गरेका छन्,’ उनले भनेका थिए, ‘उहाँलाई औषधिको प्रभावका कारणले मानसिक अवस्था ठीक छैन, पार्लियामेन्ट त्यसको शिकार हुन सक्दैन ।’
लगत्तै एमाले सांसद पोखरेलले प्रधानमन्त्री सबैको प्रधानमन्त्री भएको उल्लेख गर्दै मानसिक अवस्थाबारे चुनौति दिने अधिकार कसैलाई नभएको भन्दै अशिष्ट शब्द संसदको रेकर्डबाट हटाउन माग गरे ।
पोखरेलले आफ्नो भनाइ सकेलगत्तै अमरेशले जवाफ फर्काए, ‘डाक्टरले नै औषधिको इफेक्ट छ भनेका छन् ।’
फेरि एमालेकै सांसद पौडेलले नियमापत्ति गर्दै भने, ‘मानसिक स्थितिको प्रश्न उठाउनुभएको छ, कुन डाक्टरले त्यो कुरा भन्यो, कहाँ प्रमाणपत्र देखाउनुपर्यो, मानीयले शो गर्नुपर्यो ।’
संसद बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।