माओवादीले सरकारको समर्थन फिर्ता लियो


काठमाडौंः नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् ।
माओवादी केन्द्र भित्र सरकारबाट फिर्ता हुने विषयमा सोमबार नै निर्णय भएको माओवादी नेता मणि थापाले बताए । पार्टीको मंगलबार बसेको बैठकबाट सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
पार्टीको निर्णय सार्वजनिक गर्न दिउँसो २ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन हुने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले अन्नपूर्ण पोस्टलाई जानकारी दिइन् ।
माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि अब एमाले अध्यक्ष ओली नेतृत्वको सरकार परिवर्तन हुने भएको छ । राष्ट्रिय सहमतिको सरकारका लागि प्रचण्डले थुप्रै प्रयास गरे पनि सोमबार विफल भएका थिए ।
माओवादी केन्द्रले प्रमुख दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने विषयलाई प्राथमिकता दिँदै प्रधानमन्त्री ओलीले तीनबुँदे भद्र सहमति पालना नगरेमा आफ्ना मन्त्री फिर्ता गर्ने निष्कर्ष सोमबार नै निकालेको थियो ।

केन्द्रका अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले सहमतिको सरकार नै मुलुकको पहिलो आवश्यकता भएको निष्कर्ष निकालेको थियो । एमालेसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमतिका विषयमा एमालेसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको भए पनि एमालेसँग छलफल नगरि सरकारको समर्थन फिर्ता लिने निर्णय माओवादीबाट आएको हो


Don't Forget To Join US Our Community