सेलिब्रेटी अनुभव : फेसबुक सजिलो, ट्वीटर बौद्धिक



श्रावण २, २०७३- सर्वाधिक लोकप्रिय र धेरै सदस्य आबद्ध मानिने फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालको आफ्नै भर्चुअल दुनियाँ छ । विश्वभरका सेलिब्रेटीहरू फेसबुक र ट्वीटर मैत्री रहे पनि यहाँका कतिपय सेलिब्रेटी अझै यसमा सहज र सही प्रयोगमा चुकिरहेका देखिन्छन् । सामाजिक सञ्जालमा रमाउनेमा प्राय: फेसबुक चलाउने बढी देखिन्छन् । फेसबुक (पेज) मा मनग्गे फलोवर हुनेले पनि ट्वीटरमा खासै आफ्नो सञ्जाल फैलाउन सकेका छैनन् । कतिपय सेलिब्रेटी भने तस्बिर सेयर गर्न फेसबुकसँगै इन्स्टाग्राम र विचार राख्न ट्वीटर प्रयोग गर्दै आएका छन् । केही सेलिब्रेटीले आफ्नो सञ्जाल–अनुभव यसरी बाँडे :

निश्चल बस्नेत, निर्देशक
पहिलेदेखि नै फेसबुक चलाउँदै आएकाले हुन सक्छ, अरू सञ्जालभन्दा यो नै रमाइलो लाग्छ । तर, अचेल इन्स्टाग्राम र ट्वीटरमा पनि हल्का सक्रिय छु । प्राय: फिल्मको प्रमोसनका लागि सञ्जालहरू प्रयोग गर्ने भए पनि मनमा लागेका कुरा लेख्न र अरूका विचारहरू थाहा पाउन
ट्वीटर धेरै चलाउँछु । फोटोहरू सेयर गर्न इन्स्टाग्राम र फेसबुक रोज्छु । परिवारिक र व्यक्तिगत कुराहरू सञ्जालमा राख्न रुचाउँदिनँ ।
अभया सुब्बा, गायिका
फेसबुक र मिग्मी धेरै चलाउँछु । यीमार्फत् आफ्ना विचार राख्नेदेखि ब्यान्डको हालखबर, सांगीतिक गतिविधि आदिबारे जानकारी दिने गरेकी छु । मेरा कतिपय पोस्ट निकै भाइरल बन्ने गरेका छन् । ट्वीटर खासै चलाउन सकिनँ । अलि ढिलो एकाउन्ट खोलेर होला, फलोवर त्यति बढेनन् । त्यसमाथि धेरै लेख्ने बानी परेकाले ट्वीटरको शब्द सीमाभित्र बस्न साह्रै गाह्रो पर्‍यो । ट्वीटरभन्दा फेसबुक नै सजिलो लाग्छ ।
मनोज गजुरेल, अभिनेता
पुराना साथीभाइ भेटिने र प्रशंसकहरूसँग अन्तरक्रिया गर्न पाइने भएकाले फेसबुक मज्जा लाग्छ । तर, यसमा फोटाहरू दुरुपयोग हुने खतरा बढी हुन्छ । ट्वीटरमा विषयको ज्ञान भएका र तर्क संगत कुराकानी गर्ने जमात उपलब्ध हुने भएकाले आफ्ना विचार राख्न यसलाई काइदाको माध्यम ठानेको छु । यद्यपि, शब्द सीमाका कारण विषयवस्तु घटाएर लेख्दा कहिलेकाहीँ भन्न खोजेको कुरा स्पष्ट हुँदैन । त्यस्तो बेला म आफ्नै ‘गजुरियल डट कम’ मार्फत् भनाइ राख्छु ।
केकी अधिकारी, अभिनेत्री
स्न्यापच्याट, इन्स्टाग्राम, ट्वीटर, फेसबुक सबैलाई समय दिएकी छु । चित्त नबुझेका विषय वा प्रशंसा गर्न मन लागेको चिजबिजबारे खुलेर लेख्न/भन्न पाइने भएकाले फेसबुक पेज र ट्वीटर मेरा लागि प्लेटफर्म बनेका छन् । ट्वीटर धेरैले नचलाउने भएकाले छिटो र सजिलो गरी म्यासेज पठाउन फेसबुक रोज्छु । विस्तृत तरिकाले लेख्न नपाए पनि फेसबुकमा भन्दा ट्वीटरमा बौद्धिक प्रतिक्रिया पाइन्छ । ट्वीटरले शब्द सीमा बढाए प्रयोग अझ बढ्थ्यो ।
आस्था राउत, गायिका
फेसबुक र ट्वीटर लिंक्ड भएकाले एउटामा पोस्ट गर्दा अर्कोमा पनि जान्छ । यसर्थ, दुवैमा सक्रिय छु । तर, खासमा ट्वीटर बढी चलाउदिनँ । यो अलि अप्ठ्यारो खालको लाग्छ । फेभरेट, रिट्वीट के–के हो, के–के गर्नुपर्ने ? फेसबुक चलाउँदा जति सहज महसुस हुन्छ,
ट्वीटरमा त्यति हुन्न । त्यसमा फलोवर पनि धेरै छैनन्, लेखेको कसैले नहेरेपछि अल्छी लाग्दो रहेछ । तर, चलाउनुपर्ने चाहिँ ट्वीटर नै हो । सभ्य र स्ट्यान्डर्ड छ ट्वीटर ।
आभास, संगीतकर्मी
फेसबुक र ट्वीटरबाहेक अन्य सञ्जाल प्रयोग गर्ने गरेको छैन । यी दुईमध्ये फेसबुक परिवार, आफन्तजन, शुभेच्छुक आदिसँग सम्पर्कमा रहन चलाउँछु । ट्वीटरलाई चाहिँ अलि बौद्धिक जमातसँग भेटघाट गर्ने साधान मानेको छु । समसामयिक विषयवस्तुमाथि केही लेख्नु वा बोल्नुपर्‍यो भने
ट्वीटर रोज्छु । जानकारीहरू आदनप्रदान गर्न दुवै सञ्जाल उत्तिकै उपयोगी लाग्छन् ।




Don't Forget To Join US Our Community