गाई पालेर राजधानीमै मनग्ये आम्दानी

जेष्ठ ३, २०७३- शंखमूलमा बस्दै आएकी सावित्री गिरीले गाई पाल्न थालेको १० वर्ष भयो । उनका ३ गाई र एउटा बाच्छो छ । दुई दुहुनो गाईको दूध बेचेर १५ देखि २० हजार मासिक आम्दानी हुने उनी बताउँछिन् । तर, सहरमा घाँस नपाइनु भने उनका लागि चिन्ताको विषय हो । त्यसैले गाईलाई दिनभरि उनी वाग्मती नदीछेउ चराउने गर्छिन् ।
गाईपालनबाटै आम्दानी गरिरहेकी आलोकनगरकी सीता तिमल्सिनाका ८ जर्सी गाई छन् । गाईका लागि घाँस काट्न उनी विभिन्न कार्यालयका कम्पाउन्ड र विमानस्थलको घाँसे मैदानसम्म पुग्छिन् । बिहान–बेलुकीको ४३ लिटर दूध बेचेरै उनीसहित ६ जनाको परिवार चलेको छ ।
राजधानीमा गाईपालन गरेरै जीविका चलाउने किसान धेरै छन् । किसानलाई राजधानीमा गाईका लागि घाँसको जोहो गर्न र चराउन भने अप्ठयारो छ । राजधानीमा गाईपालनबाट जीविकोपार्जन सम्भव रहेको किसानहरू बताउँछन् ।
किसानले विशेषगरी वाग्मती नदीकिनार गाईपालन गर्ने गरेका छन् । नदीकिनारमा घाँस पनि तुलनात्मक रूपमा सहजै उपलब्ध हुने गरेको छ । राजधानीको शंखमूल, नरेफाँटलगायत स्थानमा गाईपालन गर्ने किसान छन् । किसानले उपत्यकाकै ठिमी, पाटन, भैंसेपाटी, भक्तपुरजस्ता ठाउँबाट पराल, भुसा आदि ल्याउने गर्छन् ।
गाईलाई आवश्यक मकै, पीठो पराल आदि सर्लाही, रौतहटजस्ता तराईका जिल्लाबाट पनि ल्याइन्छ । किसानले हजारौं रुपैयाँको दाना किनेर गाईवस्तुलाई खुवाउने गरेका छन् । तर, सरकारले पशुपालक किसानका लागि ल्याएको विभिन्न नीति तथा योजनाबारे राजधानीका किसानलाई खासै रुचि छैन ।
रौतहट घर भएका हरि सुवेदीले राजधानीमा गाई पाल्न थालेको १५ वर्ष भयो । जर्सी र होलिस्टन क्रस गरी अहिले उनीसँग २० वटा गाई र बाच्छाबाच्छी छन् । व्यावसायिक गाईपालन गरे पनि उनीहरूले सरकारी निकायमा फार्म भने दर्ता गराएका छैनन् । गाई फार्म खोल्ने विषयमा उनी भन्छन्, ‘खै के–के धरौटी राख्नुपर्छ भन्छन् । पढ्या लेख्या पनि छैनौं हामीलाई केही थाहा पनि छैन ।’
उनले आफूले गाई पाल्न सरकारबाट कुनै किसिमको सहयोग नलिएको बताए । ‘सरकारले गाई पाल्नेलाई सुरुमा किन्दिनुपर्यो अनि पो कर पनि तिर्छन् । सबै सहुलियत केवल ठूलाठालुका लागि हुन्,’ उनले भने । ६ दुहुनो गाईले बिहान–बेलुका गरी ८० माना दूध दिन्छन् । त्यही बेचेकै कमाइबाट उनले बालबच्चालाई पढाउने र घर खर्च चलाउने गर्छन् ।
आलोकनगरकी सुशीला चौलागाईंले पनि काठमाडौं आएर गाईपालन सुरु गरेको १ वर्ष भयो । उनीसँग ७ गाई छन् । ५ दुहुनो गाईले बिहान–बेलुका गरी ६० लिटर दूध दिन्छन् । त्यही दूध बेचेर उनको परिवारको जीविका चल्दै छ ।
केही महिनाअघि उनको मरेको गाई गाड्न नगरपालिकाले ५ हजार रुपैयाँ लियो । ‘तर बिमा गराएको गाईको लागि पैसा लिन जाँदा त्यहाँका कर्मचारीले १० हजार घूस मागेकाले लिएको छैन,’ सुशीलाले भनिन् ।
राजधानी छेउछाउका जिल्लाका भूकम्पपीडितहरू पनि अहिले यहाँ आएर गाईपालन गर्दै छन् । यसबाट परिवार धान्न मनग्ये आम्दानी हुने गरेको उनीहरूको भनाइ छ । काभ्रेका भूकम्पपीडित गोपीप्रसाद चौलागाईंको परिवारले राजधानीमा गाईपालन सुरु गरेको छ । उनको ८ जनाको परिवार पनि गाईपालनबाटै चलेको छ । उनीसँग अहिले १० गाई छन् । यसबाट दिनमा ८० लिटर दूध हुने चौलागाईं बताउँछन् ।
गाई पाल्नु उनको व्यावसायिक उद्देश्य मात्र होइन । ‘कमाउन मात्र होइन, वस्तुभाउको सेवा पनि गरेका हौं हामीले,’ उनले भने । काभ्रेको दाप्चेबाट भूकम्पपछि राजधानी छिरेको उद्धव चौलागाईंको परिवार पनि अहिले गाईपालनमा लागेको छ । यसबाटै उनीहरूको जीविकोपार्जन भइरहेको छ ।
Don't Forget To Join US Our Community