पुरानो डुंगा’ को टिजरमा प्रियंकालाई फकाउँदै दयाहाङ

असार ३१, २०७३- ‘कबड्डी’ फेम निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको तेस्रो फिल्म ‘पुरानो डुंगा’ को शुक्रबार युट्युबमार्फत् टिजर लन्च गरिएको छ ।
बेगनास तालको किनारामा डुंगा चलाएर जिविकोपार्जन गर्दै आइरहेको एक भुजेल परिवारमा अंशवण्डा विवादले उत्पन्न गर्ने रोजीरोटीको समस्यालाई फिल्ममा उतारिएको छ । निर्देशक रामबाबुले उपेन्द्र सुब्बासँग मिलेर लेखेको ‘पुरानो डुंगा’ मा दयाहाङ राई भाई र माओत्से गुरुङ दाईका रुपमा अभिनित छन् । आयआर्जनको एउटै माध्यम डुंगा लिएर भाई हिंडेपछि फिल्मको कथामा द्वन्द्वको प्रवेश हुन्छ । फिल्ममा दयाहाङको अपोजिटमा प्रियंका कार्की रहेकी छन् ।
मंसीर १० मा प्रदर्शन मिति तोकिएको ‘पुरानो डुंगा’ को टिजरमा दया र प्रियंकाबीचको केमेस्ट्रीलाई प्राथमिकता दिइएको छ । ‘बतासे’ नाम पाएको दयाले ‘चन्दू’ को भुमिकामा रहेकी प्रियंकालाई प्रेममा पार्न गरेका प्रयत्न ठट्यौली पारामा देखाइएको छ ।
दया, माओत्से र प्रियंकासहित फिल्ममा मेनुका प्रधान, डीबी गुरुङ, बुद्धि तामांग, मणिराम पोखरेल, पुष्कर गुरुङ, पूर्णिमा गुरुङ, सुदाम सिके, मीन पुन, नवाजुङ गुरुङको पनि अभिनय रहेको छ । अधिकांश दृश्य लेखनाथको बेगनास र पोखराको फेवाताल सेरोफेरोमा खिचिएको फिल्मको छायांकार शैलेन्द्र डी कार्की हुन् भने संगति कालीप्रसाद बाँसकोटाले दिएका छन् ।
फिल्मलाई रौनकविक्रम कंडेल, ओम चन्द रौनियार, धनबहादुर गुरुङ र प्रकाश गुरुङको समुहले निर्माण गरेको हो ।
Don't Forget To Join US Our Community