नयाँ रोग ‘स्क्रब टाइफस’ बाट तीनको मृत्यु, ७६ जनामा सङ्क्रमण (बच्ने उपायसहित)


रत्ननगर (चितवन), ३१ साउन । गत वर्षदेखि नेपालमा आधिकारिक रुपमा पुष्टि भएको नयाँ रोग  ‘स्क्रब टाइफस’बाट आजसम्म तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । चितवनसहित भोजपुर र सङ्खुवासभाका गरी तीनजना बिरामीको मृत्यु भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवन मेडिकल कलेजमा उपचार गरिएकी एक महिलाको उक्त रोगबाट मृत्यु भएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी एक महिलाको उक्त रोगका कारण मृत्यु भएको आज मात्रै पुष्टि भएको जानकारी दिए ।
यसअघि धरानमा उपचार गरिएका सङ्खुवासभा र भोजपुरका गरी दुईजना बिरामीको मृत्यु भएको पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिए ।
उनका अनुसार नेपालमा आजसम्म कुल ७६ जनामा उक्त रोगको सङ्क्रमण भएको पाइएको छ । नेपालका २० जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएको शर्माले जानकारी दिनुभयो । त्यसमध्ये सबैभन्दा बढी सङ्क्रमण चितवनमा छ ।
चितवनमा मात्रै यो वर्षको आजसम्म स्क्रब टाइफसबाट ६७ जनामा सङ्क्रमण भएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले सचेतना कार्यक्रम सुरु भएको छ । यही साउन २१ देखि ३१ गते १० दिनको अन्तरालमा मात्रै १४ जनामा रोग देखिएको छ । सबै चितवन मेडिकल कलेजमा उपचाररत छन् । यसअघि ५३ जनामा सङ्क्रमण भएको सार्वजनिक भएको थियो ।
अघिल्लो वर्षदेखि आधिकारिक रुपमा नेपालमा सरकारले सङ्क्रमण पत्ता लगाएको उक्त रोग अहिले विभिन्न जिल्लामा देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा शर्माले जानकारी दिए । रोग पत्ता लागेमा उपचार सजिलो रहेको भन्दै उहाँले पाँचै विकास क्षेत्रका स्वास्थ्य संस्थालाई यो रोगको न्यूनीकरणका लागि आवश्यक निर्देशन दिएको जानकारी दिए ।
गत वर्ष भदौ १३ गते नेपालमा रोग भित्रिएको सरकारी तहबाट प्रमाणित भएको थियो । गत वर्ष नेपालमा यो रोगका कारण आठजनाको मृत्यु भएको तथ्याङ्क छ । मुख्यगरी एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्रा जस्तै तर सूक्ष्म हुन्छ । मुसाको कानमा बस्छ । त्यसबाट घाँसपात झारमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्ने चिकित्सकले बताएका छन् । यो रोग लागेमा टाउको दुख्ने, १०४ जति ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने लगायतका लक्षण देखिने हुन्छ ।
दोस्रो विश्वयुद्ध ताका जापानको सेनामा पहिलोपटक यो रोग देखिएको थियो । जापानमा पत्ता लागेकाले यसलाई ‘सुसुगामुसी’ भनेर पनि चिनिन्छ । यो एक प्रकारको ब्याक्टेरिया (रिकेटसिया)ले लगाउने रोग हो । झाडी वरिपरि, कृषि कर्म गर्ने, जताततै बस्ने, चौर झारमा बस्नेलाई यो रोग सर्ने सम्भावना बढी हुन्छ । रासस
लक्षणहरु :
यो रोगको लक्षण मुसाले टोकेको १०–१२ दिनमा देखिन सुरु गर्दछ । लक्षणहरु निम्नप्रकार छन् :
–    उच्च ज्वरो आउनु(१०४–१०५ डिग्री फरेनहाइटसम्म आउन सक्छ ।)
–    टोकेको भागमा तथा अन्य भागमा राता–राता बिमिराहरु देखिनु ।
–    टाउको दुख्नु, भोक नलाग्नु ।
–    खोकी तथा वाकवाकी लाग्नु ।
–    शरीर काम्नु, जीउ, मांसपेशी तथा जोर्नी दुख्नु ।
–    लिम्प नोड सुनिनु ।
–    आँखाको कम्युकस मेमरेनको संक्रमण हुनु, आदि ।
बच्ने उपायहरु
–    व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिने ।
–    सुक्ष्म जीवहरु(माइट) जस्तै सुलसुले, उपिया“, टोभ्रविक्यूलिड आदिको टोकाइबाट बच्ने ।
–    घर वरपर झारपात तथा घा“सपात उम्रन नदिने ।
–    रोग सर्ने भेक्टर(बाहक), किटनाशक औषधीको प्रयोग गरी घटाउने ।
–    घरवरपरको वातावरणीय सरसफाइमा ध्यान दिने ।
–    छालामा ‘इनसेक्ट रेपेलेन्टस’जस्तै बेञ्जाइल बेञ्जोएटको प्रयोग गर्ने ।


Don't Forget To Join US Our Community