ओलम्पिक श्रृंखला ४ : कान्छी भएकैले चर्चित गौरिका


श्रावण २३, २०७३- रियो ओलम्पिकमा सहभागि ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी हुन्, गौरिका सिंह । उनी १३ वर्ष २ सय ५५ दिनकी उनी १ सय मिटर ब्याकस्ट्रोकमा आइतबार बेलुकी २१:४७ बजे प्रतिस्पर्धा गर्दैछिन् ।

गौरिका २०५० सालकी एसएलसी बोर्ड टपर गरिमा राणा र लन्डनस्थित रोयल फ्रि हस्पिटलका सर्जन पारस सिंहकी पहिलो सन्तान हुन् । उनी झण्डै तीन वर्षको छँदै बेलायत पुगेकी थिइन् र त्यसयता बा-आमासँगै उतै बस्दै आएकी छन् । चार वर्षको छँदा पहिलोपल्ट बुबासँगै स्वीमिङ पुलमा प्रवेश गरेकी उनी प्रत्येक वर्ष स्कुल बदिामा नेपाल आउने गर्छिन् ।

हजुरबुबा लोकभक्त राणकाअनुसार उनी १० वर्षको छँदै स्वीमङ पुलमा उनको स्पिड उच्च थियो । उनले यो कुरा कोमल पाण्डेलाई भनेका थिए । पाण्डे नेपाली खेलकुदका अलराउन्डर ‘लिजेन्ड’ हुन् । उनले राणालाई नातिनीको पौडी हेर्ने चाहना गरे । ‘सातदोबाटोमा गौरिकालाई लिएर गायौं । तर, स्वीमिङ पुलमा प्रवशे गरेलगत्तै उनी जाडो भयो भनेर रोएकी थिइन्,’ वरिष्ठ अधिवक्तासमेत रहेका राणाले भने ।

त्यसको अर्को वर्ष फेरि गौरिका स्कुल बिदामा काठमाडौं आएकी थिइन् । नेपाल पौडी संघले १९ औं राष्ट्रिय प्रतियोगिता ठीक त्यसैबेला आयोजना गर्दै थियो । त्यसबेला ११ वर्षको रहेकी उनले राष्ट्रिय पौडीमा प्रतिस्पर्धा गर्ने हिम्मत गरिन् । नाम दर्ता गर्दासम्म उनलाई कसैले वास्ता गरेका थिएनन् । तर, साउन, २०७१ को उक्त प्रतियोगिता सुरु भएपछि सबैको ध्यान गौरिकामा केन्द्रित भयो । त्यसमा उनले एकपछि अर्को गर्दै आठपल्ट कीर्तिमान बनाउँदै आठ स्वर्ण र एक रजतपदक जितेकी थिइन् । त्यसैले उनलाई पहिलोपल्ट चर्चा दिलाएको थियो ।

नेपाली पौडीमा सानो उमेरमा राम्रो खेलाडी देखिने र त्यसपछि हराएर जाने प्रचलन छ । गौरिका पनि फेरि प्रतिस्पर्धा गर्न आउलिन् भन्ने कमैले सोचेका थिए । तर, उनी २०७२ वैशाखमा पनि काठमाडौं आइन् । त्यसबेला नौ हजारको ज्यान लिएको भूकम्पको त्रासदीमा पनि अनुभव गरेकी उनले २० औं राष्ट्रिय पौडीमा ६ स्पर्धामा प्रतिस्पर्धा गर्दै सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । यसले उनलाई थप चर्चा दिलायो । त्यही प्रदर्शनबाट उनी विश्व च्याम्पियनसिपमा पनि छनोट भइन् ।

उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा जुलाई–अगस्ट, २०१५ मा कजान (रुस) मा भएको १६ औं फिना वर्ल्ड च्याम्पियनसिपमा सहभागि दुवै स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । नोभेम्बर, २०१५ मा दुवईमा भएको फिना एयरवेभ स्वीमिङ वर्ल्डकपमा पनि उनले दुई स्पर्धामा प्रतिस्पर्धा गर्दै दुवैमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । नेपाली पासपोर्ट भएपनि विदेश बस्नेलाई खेलाउन हुँदैन भन्ने आलोचकहरु पन्छिन थालेका थिए ।

उनी १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुन लन्डनबाटै गुवहाटी पुगेकी थिइन् । त्यहाँ उनले राष्ट्रिय कीर्तिमान बनाउने त पक्कापक्की थियो नै तर पदक जित्छन् भन्नेमा भन्ने विश्वस्त थिएन । किनभने सन् १९८४ बाट सुरु भएको दक्षिण एसियाली खेलकुदमा पौडीमा व्यक्तिगत स्पर्धामा नेपाली खेलाडी सँधै रित्तो हात हुँदै आएको थियो ।


तर, गौरिकाले ३२ वर्ष लामो पदकविहिन नेपालको यात्रामा पूर्णविराम लगाउँदै एक रजत र तीन कांस्पदक जितेकी थिइन् । यसले उनलाई बच्ची नै भएपनि नेपालीमाझ चर्चित् बनाएको थियो । उनले १२ औं सागमा २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा रजत, १ सय र २ सय मिटर ब्याकस्ट्रोक तथा ४ सय मिटर फ्रिस्टाइलमा कांस्यपदक जितेकी थिइन् । आफैले पनि त्यसबेला १ सय २ सय ब्याकस्ट्रोकमा मात्र पदकको आस गरेकी उनले भनेकी थिइन्, ‘मैले चोरेको पदक हो यो (रजत) ।



१२ औं सागमा तीन सय ८४ नेपाली खेलाडीमध्येकी सबभन्दा कान्छी रहेकी उनले व्यक्तिगत स्पर्धामा सात र रिले (टिम स्पर्धा) मा तीनसहित कुल १० राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन् । चार पदक जितेर गुवहाटीबाटै लन्डन गएकी उनी उतैबाट ३१ औं ओलम्पिकमा सहभागि हुन ब्राजिलको रियो डे जेनेरियो पुगेकी हुन् ।



‘बाह्रै महिना प्रशिक्षण गर्ने अवसर पाएकी छन् । मिहिनेती छन् । उनले अझै राम्रो गर्नसक्छन्,’ १२ औं सागका प्रशिक्षक प्रशिक्षक ओङ्देन लामाले गौरिकाबारे भने, ‘नेपालमै रहने हो भने वर्षभरि प्रशिक्षण गर्नसकिने स्वीमिङ पुल छैन । त्यसैले बिदेशमै रहेर योजना बनाएर नियमित प्रशिक्षण गरेमा उनी धेरै राम्रो खेलाडी हुनेछिन् ।’



लन्डनस्थित हाबरडेसर्स गल्र्स स्कुलमा कक्षा ८ मा अध्ययनरत गौरिका चार वर्षयता बार्नेट कोपथल स्वीमिङ क्लबमा रिज गोर्मली र क्रिस्टिन ग्रिनसँग प्रशिक्षण गरिरहेकी छन् । गोर्मलीकै योजनाअनुसार उनले आफ्नो करिअलाई अगाडि बढाइरहेकी छन् । उनी क्लबमा आफ्नो उमेर समूहका नम्बर १ गल्र्स स्वीमर पनि हुन् ।



कजानमा चिनिया स्टार सुन याङसहित विश्वका स्टार स्वीमरहरुलाई भेट्दा अचम्भित भएको उल्लेख गर्दै भउनले भनिन्, ‘म पनि उनीहरुजस्तै खेलाडी बन्छु भन्ने सोच आयो । र, भविष्यमा उनीहरुजस्तै खेलाडी बन्न लागेकी छु ।’ ओलम्पिक इतिहासकै सर्बाधिक सफल अमेरिकी खेलाडी फेल्प्स (१८ स्वर्ण, २ रजत र २ कास्य) उनको आदर्श हुन् । फेल्प््सले ओलम्पिकमा पहिलो स्वर्ण (एथेम्नस/२००४) मा जित्दा गौरिका स्वीमिङ पुल नै प्रवेश गरेकी थिइनन् ।



१२ औं सागपछि बार्सिलोना (स्पेन) मा १० दिन विशेष प्रशिक्षण गरेकी उनले डब्लिनमा भएको आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा पनि दुई राष्ट्रिय कीर्तिमान बनाएकी छन् । यससँगै उनले ३० पल्ट राष्ट्रिय कीर्तिमान तोडेकी छन् । फुर्सद मिलेसम्म फुटबल हेर्ने गरेकी उनी म्यानचेस्टर युनाइटेडका समर्थक हुन् । तर, स्कुल र स्वीमङ गर्दागर्दै उनलाई २४ घन्टा थोरै लागेजस्तो हुन्छ ।



सामन्य नेपालीको तुलनामा उनी हलक्कै बढेकी छन् भने फरक पर्दैन । पाँच फिट सात इन्च भइसेकी उनको हात र पैंताला ठूला छन्, जुन पौडीमा लागि उत्तम मानिन्छ । उनको खान्की पनि उस्तै छ । आमा गरिमाकाअनुासर उनले सामन्य मानिसको तुलनामा तीन गुणा बढी खान्छिन् ।



पौडमिा सहभागि हुनैपर्ने प्रचलनअनुसार उनले यसपल्ट ओललम्पिक खेल्ने अवसर पाएको हो । पाटन अस्पतालमा जन्मेकी उनलाई दाल–भात खुबै मन पर्छ । स्कुलमा जिम्न्यास्टिक, हकी र नेटबल पनि खेलेकी उनले अहिले एउटै लक्ष्य बनाएकी छन् । त्यो हो अर्कोपल्ट टोकियो (सन्२०२०) मा हुने ओलम्पिक छनोट पार गरेर खेल्ने ।



‘पौडीमा महिलाले सानो उमेरमै उच्च प्रदर्शन गर्छन् । १५–१६ वर्षमै उच्चस्तरमा पुग्छन् र २० वर्षपछि उसको प्रदर्शन खस्कन थाल्छ,’ प्रशिक्षक लामाले भने । त्यसैले गौरिकाले विश्व स्तरमा केहि गर्छिन् भने त्यो अर्को ओलम्पिकसम्म प्रष्ट हुनेछ । साताको १०–११ सेसन प्रशिक्षणको क्रममा उनी ७० किलोमिटरसम्म पौडने गरेकी छन् ।



रियोमा के गर्छिन् ?
गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकको प्रारम्भिक चरण ‘हिट’ मा आइतबार प्रतिस्पर्धा गर्दैछिन् । यसमा उनीसहित ३३ खेलाडी सहभागी छन् ।

आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य बनाएकी उनले सामोआकी एभेलेनिा अफोआ र कोसोभोकी रिटा जेकिरीसँगै ‘हिट १’ प्रतिस्पर्धा गर्नेछिन् । उनीहरुमध्ये अघिल्ला प्रतियोगितामा सबभन्दा राम्रो समय गौरिकाको भएको रियो ओलम्पिकको अफिसियल वेभसाइटमा लेखिएको छ ।

यो स्पर्धामा उनले १ मिनेट ७.३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएर १२ औं सागमा कांस्य जितेकी थिइन् । त्यसबेला उनले गत वर्ष रुसको कजानमा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा निकालेको १ मिनेट ८.१२ सेकेन्डको कीर्तिमान सुधार गरेकी थिइन् । ब्याकस्ट्रोक उनको फेवरेट पनि हो । कजानमा ६६ खेलाडीमध्ये ५८ औं स्थानमा रहेकी थिइन् र त्यहाँ गरेकी प्रदर्शनकै आधारमा रियो ओलम्पिकलाई छनोट भएकी थिइन् ।

उनी ओलम्पिक अक्वाटिक्स स्टेडियममा अझ राम्रो समय निकाल्ने अभियानमा छिन् । उनले एक मिनेट ६ सेकेन्डभित्र दूरी पार गर्ने लक्ष्य रहेको बताएकी छन् । प्रतियोगितास्थलमा वुधबारदेखि नियमित प्रशिक्षण गरिरहेकीले पनि उनलाई लक्ष्य पूरा गर्न गाह्रो नहुनसक्छ । तर, लक्ष्य पूरा गरेपनि उनलाई शीर्ष १६ स्थानमा रहदै सेमिफाइनल पुग्न भने असंभवजस्तै छ । एक मिनेट २.३६ सेकेन्डभित्र रहेका २९ स्वीमर सीधा छनोट भएरै रियो पुगेका छन् ।

चार वर्षअघि लन्डन ओलम्पिकमा रजत जितेकी अस्ट्रेलियन एमिली सिबोमले कजानको वर्ल्ड च्याम्पियनसिपमा स्वर्ण, अस्ट्रेलियाकै म्याडिसन विल्सनले रजत र डेनमार्ककी मी निएल्सनले कांस्य हात पारेका थिए । यसपाली पनि उनीहरुवीच नै स्वर्णको होड चल्ने अनुमान गरिएको छ । ५८.२३ सेकेन्डको ओलम्पिक रेकर्ड बनाएकी एमिलीले कजानमा कुल तीन स्वर्ण हात पारेकी थिइन् । यो स्पर्धामा ५८.१२ सेकेन्डको विश्व कीर्तिमान भने बेलायती गेम्मा स्पोफोर्थको नाममा छ ।

उनका प्रशिक्षक गोर्मलीकाअनुसार रियो ओलम्पिक उनको लागि अनुभव बटुल्ने अवसर हो । ६ महिनायता स्वीमिङ पुलमा गौरिकाको गति निक्कै बढेको उनलेब ताएका छन् ।  उनले १ मिनेट १ सेकेन्डमा पूरा गर्दै चार वर्षपछि टोकियो (जापान) मा हुने ओलम्पिकमा सीधा छनोट हुने लक्ष्य बनाएकी छन् ।

‘ओलम्पिक खेल्न पाउने कहिल्यै सोचेकी थिइन,’ उनले रियोतर्फ लाग्नुअघि लन्डनबाट भनेकी थिइन्, ‘ओलम्पिकको प्रतिस्पर्धा धेरै उच्च हुन्छ । मैले जतिसक्दो मेहिनेत गरिरहेकी छु ।



पर्सनल बेस्ट टाइमिङ निकाल्ने लक्ष्य राखेकी छु ।’ तीसपल्ट राष्ट्रिय कीतिृमान राखेकी यो उनको चौथो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । राष्ट्रिय प्रतियोगितामा दुईपल्ट सहभागि हुदा कीर्तिमानको ओइरो लगाएकी उनले रियो जानुअघि सेफिल्डमा ब्रिटिश नेसनल (उमेर समूहको प्रतियोगिता) पनि खेलेकी थिइन् । १२ औं सागमा ५ स्वर्ण र १ रजत जितेकी श्रीलंकाली किमिको रहिम पनि यो स्पर्धामा पौडदैछिन् ।








Don't Forget To Join US Our Community