वालुवाटारमा वादल पक्षलाई प्रवेश निषेध !

३१ साउन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षासँग जोड्दै एकता प्रक्रियाबाट आएकाहरुलाई प्रधानमन्त्री निवास वालुवाटारमा प्रवेश निषेध गरिएको रहस्य खुलेको छ ।
प्रचण्ड प्रधानमन्त्री भएर वालुवाटार सरेसँगै एकता प्रक्रियाहरुबाट आएकालाई वालुवाटार प्रवेशमा निषेध गरिएको रहस्य खुलेको हो ।
सुरक्षा निकाय र प्रचण्ड पक्षधर केही नेताहरुको योजनामा एकता प्रक्रियाबाट आएकाहरुलाई प्रवेश निषेध गरेपछि रामबहादुर थापा वादल लगायतका एकता प्रक्रियाबाट आएकाहरुले छुट्टै भेला गरेका छन् ।
प्रधानमन्त्री भएपछि एक पटक मात्र पार्टी केन्द्रीय कार्यालयको बैठक बसेको थियो । त्यसपछि प्रचण्डले वालुवाटार नभई आफ्नै निवास लाजिम्पाटमा पार्टी केन्द्रीय कार्यालयको बैठक बोलाएर वालुवाटारमा प्रवेश निषेधको रहस्यलाई पुष्टि गरिसकेका छन् ।
प्रधानमन्त्री भएपछि एकता प्रक्रियाबाट आएका नेताहरुले सहज ढंगले भेटन नपाएको गुनासो गरेका छन् । एकता प्रक्रियाबाट आएका एक नेताले भने, ‘हामी एकता प्रक्रियाबाट आएकाहरुमाथि अविश्वास र आशंका गर्दै सुरक्षाकर्मीले अनावश्यक हैरानी दिएर भित्र जान दिएको छैन् ।’
सुरक्षा निकायले एकता प्रक्रियाबाट आएकाहरुसँग हतियार हुन सक्ने, धेरै क्रान्तिकारी भएको कारण देखाउदैँ सकेसम्म एकता प्रक्रियाबाट आएकाहरुलाई वालुवाटार प्रवेशमा निषेध गर्ने तयारी गरेको आफूहरुले थाहा पाएको ती नेताले बताए ।
प्रचण्डको नेतृत्वमा दुई महिना अघि दस पार्टीबीच एकता भएर नेकपा माओवादी केन्द्र बनेको थियो । आगामी मंसिरमा महाधिवेशन गर्ने घोषणा गरेको माओवादीभित्र प्रचण्ड पक्षधर नेताहरुले अधिकांश भातृ संगठनमा आफूहरुलाई निषेध गरेको एकताबाट आएका नेताहरुले निष्कर्ष निकालेका छन् ।
एकता प्रक्रियाबाट आएको वादल नेतृत्वको समुहले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा देव गुरुङलाई राख्न सुझाव दिएको थियो । तर प्रचण्डले बलदेव खनाललाई नियुक्त गरेपछि वादल पक्षधर नेताहरु प्रचण्डसँग रुष्ट भएका छन् ।
पार्टीको तर्फबाट एक जना पनि महिला मन्त्री नबनाइएको भन्दै पम्फा भुसाल लगायत यस अघि ओली नेतृत्वको सरकारमा सहभागी भएका नेताहरुले प्रचण्डको चर्को आलोचना गरेका छन् । तर प्रचण्डको सचिवालय भने यस्तो निर्णय नभएको बताएको छ ।
Don't Forget To Join US Our Community