एयरहोस्टेस दुर्व्यवहार गर्नेलाई ६ हजार जरिवाना



श्रावण १९, २०७३- क्यान बियरको बिर्को खोलिएको विषयमा एयरहोस्टेसलाई दुर्व्यवहार गर्ने भारतीय यात्रु विनय मिश्र ६ हजार जरिवाना तिरेर हिरासत मुक्त भएका छन् ।

गौशाला प्रहरी वृत्तका निरीक्षक पृथ्वी ओलीका अनुसार काठमाडौं प्रशासन कार्यालयले मिश्रलाई ६ हजार रुपैयाँ जरिवाना तिराउँदै सोमबार हिरासत मुक्त गरेको हो । यस्तो निर्णय काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले गरेका हुन् ।

यस्तो मुद्धाको छिनोफानो गर्ने अधिकार स्थानीय प्रशासनलाई रहेको छ । अनुसन्धानका लागि मिश्रलाई पाचँ रात छ दिन प्रहरी हिरासतमा राखिएको थियो । प्रमुख जिल्ला अधिकारी सुवेदीले जरिवाना असुल्दै प्रहरी हिरासतलाई नै हिरासत भन्दै सोमबार रिहा गरिदिएको प्रहरीले जनाएको छ । मिश्रले खोलिएको क्यान दिएको विषय र एयरहोस्टेसले हिन्दी नबोलेको विषयमा विवाद गर्दै उडिरहेकै विमानमा एयरहोस्टेस निलिमा शाहीलाई दुर्व्यवहार गरेका थिए ।

भारतबाट नेपाल छिरिसकेको जहाजमा मिश्रले तेस्रोपटक मदिरा माग्दा बियरको बिर्को खुल्ला भएको विषयमा एयरहोस्टेसलाई दुर्व्यवहार गरेका थिए । त्यही विमानमा रहेका एक यात्रुका अनुसार मिश्रले दुर्व्यवहार गरेपछि उडिरहेकै विमानमा केही यात्रु उनीमाथि जाइलागेका थिए । मिश्रले ‘यस्तो वियर खान्न' भन्दै हातले पन्छ्याउदा वियर एयरहोस्टेसको पोशाकमा पनि पोखिएको थियो ।

यही विषयलाई लिएर शाहीले जहाज उडाइरहेका चालकदललाई ककपिटमा जानकारी गराएकी थिइन । ककपिटमा जहाज उडाउनेमा थिए वरिष्ठ क्याप्टेन वाईके भट्टराई र एनबी विश्वकर्मा । चालकदलले एयरहोस्टेसलाई दुर्व्यवहार र हातपात गरेको विषय एयर ट्राफिक मार्फत काठमाडौंस्थित त्रिभुवन नागरिक उडड्यन प्राधिकरणलाई गराएको थियो । प्राधिकरणले विमानस्थल प्रहरीलाई जानकारी गराएपछि प्रहरीले मिश्रलाई जहाजबाटै पक्राउ गरी गौशाला प्रहरी वृत्तको हिरासतमा राखेको थियो ।

यो घटना गत बुधबार बेलुकी भएको थियो । त्यसदिन विमान साढे नौ बजे काठमाडौंमा अवतरण गरेको थियो । लखनऊमा एक्सेल करियर एकेडेमी नामको शैशिक संस्था चलाइरहेका मिश्र मेडिकल अध्ययन गर्ने भारतीय विद्यार्थी नेपाल ल्याउने एजेन्ट हुन् ।

नेपाल वायु सेवा निगमले भारतीय रुटमा त्यहाँका तीनवटा विमानसेवासँग बजार प्रतिष्पर्धा गर्नुपरेकाले यात्रु आर्कषण गर्न सित्तैमा पेय पदार्थमा मदिरा (क्यान बियर) दिने गरेको छ । १ घन्टा ४५ मिनेटको छोटो दुरी भएकाले समय अभावका कारण एयरहोस्टेसहरुले क्यानको बिर्को खोलेरै सर्भ गर्ने गरेका छन् । यो एयरलाइन्समा यात्रुले अनलिमिटेड ड्रिङ्स पाउँछन् । तर कस्लाई कति दिने यो वरिष्ठ एयरहोस्टेसको तजबिजमा भर पर्छ ।




Don't Forget To Join US Our Community