ओली सरकारले प्रस्ताव गरेका १४ राजदूत फिर्ता

श्रावण २१, २०७३- तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न देशका लागि प्रस्ताव गरेका राजदूतमध्ये राजनीतिक दलको कोटाबाट गएकाहरुको नाम पुष्पकममल दाहाल नेतृत्वको वर्तमान सरकारले फिर्ता लिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को दोस्रो बैठकले राजनीतिक नियुक्तिबाट प्रस्तावित १४ जना राजदूतहरुको नाम फिर्ता लिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिएका छन् ।
संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित राजदूतहरुको सुनुवाई शुरु भइसके पनि सरकारले अघिल्लो सरकारको निर्णय उल्ट्याएको हो । मन्त्री लेखकले अन्य ८ जना सहसचिवको भने प्रक्रिया अघि बढ्ने बताए । आज दिउँसो दुई बजे ५ जना प्रस्तावित राजदूहरुको सुनुवाइ हुँदै थियो ।
सुनुवाई समितिले परराष्ट्र मन्त्रालयका सहसचिवहरुमध्येबाट राजदूत सिफारिस भएकाहरुको सुनुवाई बिहीबार सकेर शुक्रबारदेखि राजनीतिक नियुक्तिमा परेका राजदूतहरुको सुनुवाइ गर्दै थियो ।
केपी ओली सरकारले गत वैशाख ७ गते १४ जनाको नाम राजदूतको लागि प्रस्ताव गरेको थियो । यसरी प्रस्तावित नाममा एमालेबाट महेन्द्रबहादुर पाण्डे, डा.खड्गबहादुर केसी, नारद भारद्वाज वाग्ले, डा.शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की छन् ।
त्यस्तै माओवादी केन्द्रका तर्फबाट युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्रप्रसाद सिंह र पदम सुन्दासको नाम प्रस्तावित गरिएको थियो । त्यस्तै राप्रपा नेपालबाट, राप्रपा र फोरम लोकतान्त्रिकबाट खगेन्द्र बस्न्यात, निरन्जन थापा, शर्मिला पराजुली ढकाल र भरतबहादुर रायमाझीको नाम प्रस्ताव गरिएको थियो ।
Don't Forget To Join US Our Community