विकासका ठूला परियोजनाहरुलाई अगाडि बढाउने तयारीमा नेपाल

परराष्ट्रमन्त्री महतले भेटे भारतीय विदेशमन्त्री
- कमलदेव भट्टराई, नयाँ दिल्ली
भाद्र २७, २०७३- नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी बिहीबारबाट हुने भारत भ्रमणको क्रममा ‘पेन्डिङ’मा रहेका विकासका ठूला परियोजनाहरुलाई अगाडि बढाउने विषयलाई मुख्य एजेण्डा बनाउने भएको छ ।
प्रधानमन्त्री दाहालको भ्रमणको तयारीका लागि हाल भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशरण महतले भारतीय पक्षलाई सो जानकारी गराएका हुन् । भारतीय समकक्षी सुष्मा स्वराजसँगको भेटमा महतले रोकिएका केही ठूला विकासका परियोजनालाई तत्काल अगाडि बढाउन सकेमा यसले दुई देशको सम्वन्धमा एउटा विश्वासको आधार तयार पार्ने जानकारी गराएका छन् ।
भेटघाटपछि कान्तिपुरसँग संक्षिप्त कुराकानी गदै महतले नेपालको प्रस्तावलाई भारतले सकारात्मक रुपमा लिएको र विभिन्न तहमा यस विषयमा लगातर छलफल गर्ने समझदारी बनेको जानकारी दिए । महतले भेटघाट निकै सौहाद्र्धपूर्ण र फलदायी भएको र आफूले नेपालका एजेण्डाहरुलाई स्पष्टताका साथ राखेको वताए ।
पछिल्लो समयमा नेपालमा भारतले धेरै परियोजनाहरु होल्ड गरेको तर त्यसलाई समयमा पूरा नगरेको आलोचना भईरहेको समयमा वर्तमान सरकारले ती परियोजनालाई उच्च प्राथमिकता दिएको पाइन्छ ।
सबैभन्दा उच्च प्राथमकितामा पन्चेश्वर परियोजना रहेको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणको समयमा पञ्चेश्वरको संयुक्त डीपीआरलाई अन्तिम रुप दिने नेपाल पक्षको तयारी छ । यस विषयमा महतले स्वराज र ऊर्जा मन्त्री पियुष गोयलसँग भेटघाट गरेका छन् ।
यसमा विशेषगरी परियोजनाको मुल्यलाई कसरी टुंगो लगाउने भन्ने विषयमा कुरा मिलेको छैन् । मूल्य कसरी निर्धारण गर्ने, कोषको व्यवस्थापन कसरी गर्ने र परियोजनाको निर्माणको विषयलाई अगाडि बढाउने विषय डिपिआरसंग सम्वन्धीत रहेका छन् ।
हुलाकी राजमार्ग निर्माण प्रक्रियालाई सकेसम्म अगाडि बढाउने नेपाली पक्षको तयारी रहेको छ । यस विषयमा पनि महतले भारतीय पक्षसँग कुराकानी राखेका छन् । ‘प्रधानमन्त्री पुष्पकमल दाहालले हुलाकी रोड निर्माणलाई तत्काल अगाडि बढाउन चाहनुभएको छ,’ स्रोतले भन्यो । मुख्यत: कन्सलटेन्ट नियुक्त गर्ने र फन्डिङ ग्यापको विषय हुलाकी रोडको मुख्य विषय हुन् ।
भेटघाटको क्रममा महतले भारतले एकतर्फी रुपमा निर्माण गरेको संरचना तथा बाँधका कारण नेपाली भुभाग डुवानमा परेको विषयलाई उठाएका छन् । यस अगाडि दुई देशको संयुक्त टोलीले यसको संयुक्त अवलोकन भ्रमण गर्ने सहमति वनेको थियो । विशेषत: सिमा क्षेत्रले भारतले एकतर्फी रुपमा निर्माण गरेका सडक संरचनाहरुका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको छ ।
नेपाली चिया, अदुवा तथा छाला लगायतका वस्तुहरु भारत निर्यातमा देखा परेको कठिनाईहरुका सम्वन्धमा पनि महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको विचमा कुराकानी भएको छ । भारतीय पक्षले त्यस्ता समस्याहरु द्विपक्षीय संयन्त्रहरुका माध्यमले समाधान गर्ने आश्वसन दिएको स्रोतले वतायो ।
त्यसैगरी विसखापटनम वन्दरगाहमा नेपाली कार्यालय खोल्ने तथा सकेसम्म चाँडो त्यसलाई सञ्चालनमा ल्याउने विषयमा समेत दुई देशको विचमा कुराकानी भएको छ । त्यसैगरी भारतले भर्खरै वाटरवेजहरुको निर्माण धमाधम शुरु गरेकाले नेपालले पनि कोशी र गण्डकी नदीमा वाटरवेज सञ्चालन गर्ने विषयमा कुराकानी भएको छ । त्यसैगरी आफूले तल्लो अरुण परियोजनालाई अगाडि बढाउन चाहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश पनि महतले भारतीय पक्षलाई दिएका छन् । यस विषयमा समेत प्रधानमन्त्रीको भारत भ्रमणको समयमा कुराकानी हुने छ ।
महतले पावर ट्रेड एग्रिमेन्टको कार्यान्वयनमा देखा परेका समस्याहरुलाई पनि समाधान गर्न आग्रह गरेका छन् । नेपालमा ठूला जलविद्युत आयोजनाहरु वनेपछि भारतमा विजुली वेच्नका लागि कुनै कानुनी अड्चन हुन नहुने नेपाली पक्षको भनाई रहेको छ । त्यसैगरी महत र स्वराजको विचमा प्रधानमन्त्री दाहालको भ्रमण लगत्तै संयुक्त कमिसनको वैठक गरेर दुईपक्षिय एजेण्डालाई अगाडि बढाउने सहमति भएको थियो । कमिसनको वैठक अघिल्लो महिना तय भएपनि नेपालमा भएको सरकार परिवर्तनको कारण रोकिएको थियो ।
महत र स्वराजको भेटघाटपछि भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरेर पारस्परिक चासोका विषयमा कुराकानी भएको वताएको छ । त्यसैगरी दुई पक्षीय सम्वन्धमा समग्र विषयहरुमा समेत छलफल गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
साथै दुवै पक्षले वषौदेखिको गहिरो सम्वन्धलाई मजवुत पार्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 'त्यसैगरी व्यापार, वाणिज्य, पारस्परिक लगानी, डिफेन्स, सेक्युरिटी, विकास साझेदारी, पूर्वाधार निर्माण, इनर्जी र जलस्रोतसंग सम्वन्धित विषयमा कुराकानी भएको छ,' भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
भेटपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्विट मार्फत महत र स्वराजको भेटघाटले नेपालका प्रधानमन्त्रीको महत्वपूर्ण भ्रमणको आधार तयार पारेको वताएका छन् ।
महतले भारतका उर्जा मन्त्री पियुष गोगलसंग जलस्रोत परियोजनाहहरु, विद्युत आयात लगायतका विषयहरुमा कुराकानी गर्नु भएको थियो । त्यसैगरी जलस्रोतमन्त्री उमा भारतीसंग पनि महतले भेटघाट गर्नु भएको थियो ।
यस अगाडि महतले भारतका विभिन्न राजनितिक दल तथा कुटनितिज्ञहरुसंग व्रेकफास्ट वैठकको आयोजना गर्नु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको तयारीको लागि आइतवार भारतको भ्रमणमा आएका महत मंगलवार काठमाडौ फर्कने कार्यक्रम रहेको छ ।
यस अगाडिका वैठकहरुमा भारतले मधेसवादी दलहरुको मागको सम्वन्धमा कुरा उठाएपनि यसपटक भने मौन रहेको स्रोतको भनाई रहेको छ । महत नेपालको संविधान समावेशी भएको र सरकार केही असन्तुष्ट पक्षको माग पूरा गर्ने प्रक्रियामा रहेको जानकारी गराएका थिए ।
प्रकाशित: भाद्र २७, २०७३
Don't Forget To Join US Our Community