झटारो» तरकारी आक्रमण जिन्दावाद !



- लक्ष्मण गाम्नागे
आदरणीय वीर तरकारी व्यापारी साथीहरू क्रान्तिकारी अभिवादन !
हालै राजधानीस्थित बल्खुको तरकारी बजारमा पूर्वसूचनाबिनै एक्कासि अनुगमन गर्न आउने सरकारी टोलीमाथि तपाईंहरूले गर्नुभएका तरकारी आक्रमणप्रति ऐक्यबद्धता जनाउँदै हामी सरकारपीडित व्यापारी तथा व्यवसायीहरू तपाईंहरूको वीरताको कदर गर्न चाहन्छौँ ।

एक्काइसौँ शताब्दीको आजको खुला अर्थतन्त्रमा सरकारले यसरी बारम्बार बजारमा हमला गर्नु निरंकुशताको पराकाष्ठा हो । हामी व्यापारी व्यवसायीको जसरी पनि नाफा कमाउन पाउने नैसर्गिक अधिकारमाथि सरकारले पटक–पटक हमला गरेकामा हामी घोर निन्दा एवं भत्र्सना गर्दछौँ ।

हामी हाम्रो यही स्वतन्त्रताको हक उपयोग गर्दै जनताको सेवामा निरन्तर लागिरहेकै छौँ । हामीले शान्तिपूर्ण तरिकाले आफ्नो पेसा–व्यवसाय गरिरहेका ठाउँमा सरकारले बेलाबेला अशान्ति मच्चाउँदा त्यसको प्रतिरोध पनि हामीले दृढतापूर्वक गर्दै आएका छौँ । हामीले केही वर्षअगाडि न्युरोड क्षेत्रमा सुन पसल अनुगमन गर्न आउने सरकारी टोलीका पोसाक च्यातिदिएका थियौँ । त्यसै गरी विशाल बजारभित्र पसल अनुगमन गर्न आउनेलाई सटरमा थुनेर भकुरेका थियौँ । तीलगायत ट्याक्सी सञ्चालक साथीहरूको आन्दोलनको पनि हामी सगौरव स्मरण गर्दछौँ ।

फेरि पनि सरकारले हामीमाथि अत्याचार गर्न छाडेको छैन । खास गरी ठगी मिटर जडान गरेर पेट्रोलियम पदार्थ बेच्दै आएका बखत र नक्कली डाक्टर–पाइलट काण्डमा सरकारले हस्तक्षेप गर्दा हामीले कडा प्रतिरोध गर्न नसकेकाले सरकार यसरी उद्दण्ड भएको हाम्रो निष्कर्ष छ । तर, हामीले हार खाएका छैनौँ भन्ने प्रमाण तपाईंहरूले पेस गर्नुभएको छ ।

आफ्नो व्यवसायसँग सम्बन्धित हतियारको प्रयोगद्वारा शत्रुहरूमाथि आक्रमण गर्ने नौलो तरिकाको प्रतिपादनका लागि तपाईं तरकारी व्यवसायी साथीहरू साधुवादका पात्र हुनुहुन्छ । यस आन्दोलनमा तपाईंहरूले आफ्नो उच्च नैतिक अनुशासन पनि कायम गर्नुभएको छ । प्रहरीले जस्तो एकैचोटि गोली चलाउनेजस्तो आक्रामक शैली नअपनाई सुरुमा गोलभेडा, भेडे खुर्सानी, घिरौँला, धनियाँ, साग आदि प्रयोग गरी अनुगमनकारीहरूलाई तर्साउने प्रयास गर्नुभयो । त्यसबाट पनि अनुगमनकारीहरू पछि नहटेपछि करेला, काउली, बन्दा, लौकाले घुँडामुनि चार्ज गरेको र त्यसबाट पनि आतंककारीहरू पछि नहटी अनुगमन गर्न कस्सिएपछि छिप्पिएका इस्कुस, फर्सी, चिचिन्डा र कटहरले आक्रमण गरेर तिनीहरूलाई घाइते बनाई लखेटेको घटना साह्रै अनुकरणीय छ । व्याकअपमा राख्नुभएको खुर्सानीको धूलो प्रयोग गर्न नपाउनुभएकामा हामी केही दु:खी भएका छौँ । जे होस्, अनुगमनकारीहरूलाई यसरी नै तह लगाउनु पर्छ ताकि बारम्बार हाम्रो काममा बाधा गर्न नआऊन् ।

आगामी दिनमा नक्कली सर्टिफिकेटधारी डाक्टर, मास्टर र पाइलटहरू, कुहिएका मिठाई बिक्री प्रकरणमा सरकारी कारबाहीमा परेका तथा जुत्तामोजाबाट घरेलु मदिरा उत्पादन गर्ने मित्रहरूलाई पनि संगठनमा गोलबन्द गर्नुपर्छ । प्रहरीले आक्रमण गर्दा रुमालले मुख छोपेर प्रहरीका अघि लाग्ने हुतिहारा कर्म कसैले पनि गर्नु हुँदैन । आगामी दिनमा पनि यस्तै उच्च मनोवलका साथ व्यापार–व्यवसायमा संलग्न हुँदै देश र जनताको सेवामा लाग्नु हुन सबैमा अनुरोध गर्दछौँ । अन्त्यमा हामी केही नाराहरू भन्न चाहन्छौँ :
– आक्रमणकारी सरकार राजीनामा दे !
– बिगारिएका ढक–तराजु तथा मिटरहरूको प्रयोग गर्न पाउनैपर्छ !
– नक्कली सर्टिफिकेटलाई मान्यता दे !
– अनुगमन टोलीलाई हान्दा नष्ट भएका तरकारीको क्षतिपूर्ति ले !
– सम्पूर्ण ठगहरू एकजुट हौँ !
– वीर व्यापारीहरूको तरकारी आक्रमण जिन्दावाद !


Don't Forget To Join US Our Community