
श्रावण २, २०७३- पहाडी जिल्लाहरुमा भइरहेको लगातारको वर्षा र वर्षासागै विभिन्न खोला तथा नदीमा आएको बाढीले गर्दा गएरातिदेखि सप्तकोशी नदीमा पनि पानीको बहाव बढेको छ । पछिल्लो केही सातादेखि सप्तकोशीमा पानीको बहावमा घटबढ भइरहेको अवस्थामा गएराति यसवर्षकै सबभन्दा बढी बहाव मापन गरिएको छ ।
कोशी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार गएराति सप्तकोशी पानीको बहाव २ लाख ३३ हजार ८ सय ८० क्यूसेक प्रतिसेकेन्ड मापन भएको थियो । तर आज बिहान भने कोशीको बहाव केही कमी आएको छ । बिहान ९ बजेको मापन अनुसार बहाव १ लाख ९८ हजार ९ सय ८५ क्यूसेक प्रतिसेकेन्ड मापन भएको नियन्त्रणकक्षका भारतीय अधिकारीहरुले जानकारी दिएका छन् । पहाडी जिल्लाहरुमा हुने वर्षा अनुसार नै कोशी नदीमा जलस्तर बढ्ने भएकाले सोहीअनुसार बहाव घटबढ भइरहेको र अहिले कूल ५६ वटा ढोकामध्ये २० वटा खोलिएको अधिकारीहरुले जनाए ।
९ लाख क्यूसेक प्रतिसेकेन्ड पानी बवाव गर्ने क्षमता रहेको कोशी ब्यारेजमा वर्षौंदेखि थुप्रिएको बालुवाले तीन लाख क्यूसेकमै पानी झण्डै पुल नै छुने गरी बग्ने गर्छ । बहाव क्षमता कम भएकाले अहिले डेढलाख क्यूसेक भन्दा बढी पानी हुनासाथ कोशी ब्यारेजमा खतरा सूचक रातो झण्डा लगाउने गरिएको छ ।
सप्तकोशीमा पानीको बहावको इतिहास
वर्षा लाग्ने बित्तिकै सप्तकोशी नदीको पानीको बहाव सधैं समाचार बन्ने गरेको छ । पानीको बहाब कम हुँदा वा बढी हुँदा दुवै संचारमाध्यमहरुमा त्यसले प्रमुखताका साथ स्थान पाउने गरेका छ । बहाव बढ्ने क्रम सुरु हुँदा नदीले कटान गर्ने सम्भावना बढदै जाने तटबन्ध र कोशी ब्यारेज नै जोखिममा पर्ने सम्भावनाका कारण कोशीको पानीको बहाबलाई सबैले सम्वेदनशील भएर हेर्ने गरेका छन् ।
सन् १९६२ का सप्तकोशीको ब्यारेज निर्माण हँुदा त्यति बेला साढे ९ लाख क्युसेक पानीको बहाबको क्षमता भएको बताइएको थियो । भारतको कोलकता स्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले सन १९५२ देखि सुरु गरी १९६२ मा कोशी ब्यारेजको निर्माण कार्य पुरा गरेको थियो । त्यसपछि कोशीको पानीलाई ब्यारेजमा नियन्त्रण गर्ने प्रयासको थालनी भएको हो ।
कोशी ब्यारेजको निर्माणताका नदीमा बालुवा जमेको थिएन र त्यति बेला साढे ९ लाख क्युसेक क्षमता भएको बताइएको थियो । ब्यारेज निर्माण भएको ६ वर्ष पछि मात्र ब्यारेज भएर सबैभन्दा बढी पानीको बहाब भएको मापन गरिएको थियो ।
कोशी ब्यारेज स्थित नियन्त्रण कक्षको रेकर्ड अनुसार सन १९६८ को ५ अक्टुबरका दिन ब्यारेज भएर अहिले सम्मकै सबैभन्दा बढी ९ लाख १३ हजार क्युसेक पानीको बहाब भएको थियो । त्यति बेला उक्त बहाब भएको दिन पुर्वी र पश्चिमी नेपाललाई जोडने केसी ब्यारेजको पुल नै थर्किएको थियो ।
त्यसपछिको अत्यधिक बहाब १२ अगस्ट, १९९० मा पाँचलाख ९० हजार क्युसेक मापन गरिएको थियो । ५ अक्टुबर, १९६८ देखि १२ अगस्ट, १९९० को बीचमा पाँचलाखभन्दा कम र एकलाख ५० क्युसेक भन्दा माथी पानीको बहाब भएको नियन्त्रण कक्षको रेकर्डमा उल्लेख छ । कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक पानीको बहाब हुने बितिकै खतराको सुचक भन्दै रातो झण्डा फहराउनुका साथै रातो बती बाल्ने नियम छ ।
किन दोहोरिन्छ प्रत्येक वर्ष समस्या
पछिल्ला केही वर्षहरुमा पानीको बहाब धेरै नभएपनि गतवर्ष भने पानीको बहाब उच्च बिन्दुमा पुगेको थियो । अगस्ट २१, २०१० का दिन कोशी ब्यारेज भएर तीनलाख ४० हजार चारसय ६० क्युसेक प्रति सेकेन्डको बहाब मापन भएको थियो । ठुलो बहाब हुँदा पनि केही नभएर कोशीको तटबन्धमा सानो बहाबमै क्षति हुने गरेको इतिहास पनि छ ।
०६५ साल भदौ २ गते कोशीको पुर्वी तटबन्ध सुनसरीको पश्चिम कुसहामा भत्किँदा कोशी ब्यारेजमा पानीको बहाव एकलाख ६७ हजार क्युसेक मात्र थियो । त्यतिबेला नेपाल तर्फ सुनसरीको पश्चिम कुसहा, श्रीपुर, हरिपुर र लौकही गाविसका ४२ हजार जनता घरबारविहिन भएका थिए भने बिहारका एकदर्जन जिल्ला जलमग्न भएका थिए ।
यसैगरि गतवर्ष एकलाख ४० हजार क्युसेक पानीको बहाब भएकै बेला कोशी ब्यारेजको १२ नम्बर ढोका क्षतिग्रस्त भएको थियो । ठुलो बहाब हुँदा समस्या नुहने र सानो बहाब हुँदा समस्या भएर बढीले क्षति हुनुको पछाडीका कारढाहरुमा कोशीमा बालुवा जम्मा हुनु र ब्यारेजका संरचनाहरुको मर्मत सम्भार लामो समयदेखि नहुनु नै रहेको प्राबिधिकहरुको भनाइ छ ।
०६५ साल भदौ २ गते कोशीको पूर्वी तटबन्ध पश्चिम कुसहामा भत्किदा सो स्थानभन्दा उत्तर तर्फको वस्तीमा बालुवा भरिएको र भत्केको स्थानभन्दा दक्षिण कोशी ब्यारेजसम्मै पाँच फिटसम्म बालुवा जमेको प्राबिधिकहरुको भनाइ छ । कोशी ब्यारेज नजिक पाँच फिट सम्म बालुवा जम्नुका कारण ब्यारेजको क्षमतामाथी सिधा २५ देखी ३० प्रतिसतले ह्रास गर्ने गरेको छ ।
यसैगरि ब्यारेज क्षेत्रमा बालुवा जमेकै कारण उत्तरी क्षेत्रबाट पानी आफ्नो वेगमा दक्षिणी क्षेत्रमा नआउने र पानी जम्ने गरेका कारण तटबन्धको भाग असुरक्षित बन्ने गरेको छ । कोशी ब्यारेजको संरचनाको सवालमा भने निर्माण भएको ४९ वर्षपछि गतवर्षदेखि बिहार सरकारको कोशी योजनाले १२ नम्बर ढोका क्षतिग्रस्त भएपछि मर्ममतको काम सुरु गरेको थियो । एक महिना अघिसम्म ब्यारेजको संरचनाको मर्मत गरिएको थियो ।