
श्रावण ७, २०७३- भोजपुरी फिल्ममा पाँच वर्ष बिताएर नायक विराज भट्ट फिल्म ‘जय पर्शुराम’ मार्फत् स्वदेशी फिल्ममा कमब्याक भएका छन्। बुधबार रिलिज गरिएको फिल्मको ट्रेलरमा विराज दुई भिन्न गेटअप र भूमिकामा देखिएका छन्।
पूर्णत: एक्सन शैलीमा बनेको फिल्ममा विराज प्रहरी र लडाकुको भूमिकामा देखिन्छन्। रोज राणाको निर्देशन रहेको फिल्ममा विराजको जोडीका रूपमा निशा अधिकारी देखिएकी छन्। यसअघि यो जोडी ‘नैना रेशम’ मा पनि देखिएको थियो।
ट्रेलर हेरेपछि वितरक सुनील मानन्धरले विराज पुन: स्वदेशी फिल्म छोड्न नपाउने अवस्था आउने दाबी गरे। त्यसो त विराज करिअरको उच्चतम बिन्दुमा छँदै भोजपुरी फिल्म खेल्न पुगेका थिए।
‘त्यो बेला मेरा रिलिजका लागि पालो पर्खेका फिल्म थुप्रै थिए। त्यसैले त्यो समय यहाँ ब्रेक गरेर भोजपुरी खेल्न पुगेको थिएँ,’ फिल्मको प्रेसमिटमा बोल्दै विराजले भने, ‘एक वर्षअघि नै कमब्याक हुन चाहन्थें। तर के–के ञमिलेन।’ विराज भोजपुरी लागेपछि नेपाली फिल्मको स्टक मात्रै सकिएन, उनकै भोजपुरी फिल्म पनि यहाँ डबिङ गरेर रिलिज हुन थालेपछि भने असन्तुष्ट देखिएका थिए।
‘डबिङ फिल्म यहाँ लगाएको चित्त बुझेको थिएन। त्यसैले पनि फेरि यहाँ आएर फिल्म खेल्न चाहेको हुँ।’ त्यसो त चलचित्र विकास बोर्डले पनि यतिबेला डबिङ गरेर फिल्म चलाउन रोक लगाइदिएको छ।
साउन २८ देखि प्रदर्शनमा आउन लागेको ‘पर्शुराम’ मा विराज र निशासहित रविन तामाङ पनि मुख्य भूमिकामा छन्।
प्रकाशित: श्रावण ७, २०७३