ताल बनेको तमोरलाई बगाउने प्रयास भएन, त्रास कायमै

ताप्लेजुङ । ताप्लेजुङको सावादिन गाविसमा गत शनिवार राति झरेको पहिरोले तमोर नदी थुनिएर बनेको ताल दुई दिन बितिसक्दा समेत पूर्णरुपले नखुलेकाले तल्लो क्षेत्रका बस्तीमा जोखिम अझै कायमै छ । नदी थुनिएदेखि बढेको त्रास स्थानीयमा त छ नै थुनिएको भाग खोल्न नसक्दा स्थानीय प्रशासनसमेत प्राकृतिक रुपमा नै नदीले खोल्ने आशामा बसिरहेका छन् ।
गत शनिवार राति झरेको पहिरोले तमोर नदी थुनिएर तालमा परीणत हुँदै धार परिवर्तन गरेर आइतबार विहानैदेखि बग्न थाले पनि थुनिएको भागभन्दा माथिल्लो क्षेत्रबाट बाढी आएर नदी एक्कासी खुले तल्लो क्षेत्रमा रहेका हान्द्रुङ र दोभान बजारसहित थुम्बाबेसीको बस्तीलाई असर पार्ने भएकाले स्थानीय त्रसित बनेका हुन् ।
सावादिन गाविसको नाक्ला भीरबाट झरेको पहिरोले शनिबार राति दुई बजे तमोर नदी थुनेको थियो । नदी थुनिएर करीब ६ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बनेको छ । नदी फुरुम्बुतर्फको भागबाट जमीन काटान गर्दै अहिले पनि बगीरहेको छ ।
नाक्ला भीरबाट पहिरोसँगै ठूला-ठूला चट्टान झरेर शनिवार रातिदेखि नदी थुनिँदा एक घरसहित केहि चौपाया र अन्न बाली बगाएको थियो । आइतबार फुरुम्बु तर्फको भाग कटान गरेर बग्न थाल्दा नदी केहि घटेपनि ठूला चट्टानले नदी थुनेकाले थुनिएको भाग नखोलिएको स्थानीय पवन श्रेष्ठले बताए ।
जोखिम छैनः प्रशासन
नदीले प्राकृतिक रुपमा नै जमिन कटान गर्दै बगिरहेको भन्दै स्थानीय प्रशासनले नदी पूर्णरुपमा खुलाउने प्रयास अझैसम्म गरेको छैन ।
ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले अनलाइनखबरसँग कुरा गर्दै नदीलाई चट्टानले थुनेको र एकैपटक खुल्ने सम्भावना नरहेको बताए । ‘नदीले फुरुम्बुतर्फको भाग खोल्दै बगिरहेकाले जोखिम नहुने देखेर खुलाउने विषयमा अहिले नै केहि सोचेको छैन,’ निमत्त प्रजिअ भट्टराईले भने ।
प्रहरी, सेना र सशस्त्र प्रहरीले सो क्षेत्रको अवलोकन गरी दिएको जानकारीका आधारमा प्रमुख जिल्ला अधिकारीले बोल्ने र आफू अवलोकनका लागि नजाने भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।
नदी थुनिएर ताल बनेको स्थान नजिकै रहेको मितलुङ बजारका स्थानीय भने नदी भित्तातर्फबाट बगे आफूहरु पनि जोखिममा रहने भएकाले प्रशासनले चासो दिनुपर्ने बताउँदै आएका छन् ।
प्रभावित क्षेत्रका बासिन्दाको मनोबल बढाउन साथै नदीको अबस्थाबारे जानकारी लिन नेपाली सेनाको टोली मंगलबार विहान सो स्थानमा रहने गरी केहि दिनका लागि पठाएको निमित्त प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
ताल जोखिमपूर्ण छः भू-संरक्षण कार्यालय प्रमुख
तमोर नदी थुनिएर बनेको ताल कुनै पनि समय फुट्न सक्ने अवस्थामा रहेको भूसंरक्षण कार्यालय ताप्लेजुङका प्रमुख हरिबहादुर कुँवरले बताए ।
हरिबहादुर कुँवर
थुनिएको भाग सानु भएको साथै नदीको बेग र चाप बढी भएका कारण माथिल्लो भागबाट कुनै पनि समय बाढी आए सो ताल फुट्न सक्ने अवस्थामा रहेको कुँवरको भनाई छ ।
‘हामीले थुनिएको भाग साथै नदी भरिएको स्थानको अवलोकन र अध्ययन गर्यौं पहाडी क्षेत्र भएकाले र थुनिएको भाग भिरालो स्थानमा रहेकाले अवस्था जोखिमपूर्ण छ,’ अनलाइनखबरसँग कुरा गर्दै प्रमुख कुँवरले भने, ‘तल्लो क्षेत्रका स्थानीय नदी पूर्णरुपमा नखुलेसम्म सचेत रहन आवश्यक छ ।
‘नदीले फुरुम्बुतर्फको भाग कटान गरिरहेकाले सो स्थानमा पनि पहिरो झरीरहेको छ,’ कुँवरले भने, ‘सो स्थानमा पनि ठूलो मुख भए थुनिएको भाग नखुले पनि थुनिएको ताल फुट्न सक्छ । दिनमा भन्दा रातमा पानी बढी परीरहेकाले सो स्थान मुनिको खोक्लिङको थुम्बा बेसी, हान्द्रुङ र दोभानका बासिन्दा चनाखो बस्नुपर्ने देखिन्छ ।’
करिब ६ सय मिटर लम्बाई, २ सय मिटर चौडाई र १५ मिटर गहिराईमा नदी थुनिएर ताल बनेको सो स्थानमा १५ लाख क्यूविकमिटर पानी जम्मा भएकाले एकैपटक फुटे त्यसको क्षति नदी आसपासका ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाको नदी आसपासका क्षेत्रमा पुग्ने कुँवरले बताए ।
Don't Forget To Join US Our Community