पोर्चुगलको जित रोनाल्डोका लागि



असार २८, २०७३- क्रिस्टियानो रोनाल्डो रोए । उनको घुँडामा पीडा थियो । उनी दु:खी देखिन्थे । उनले यति महत्त्वपूर्ण खेलमा यस्तो हुन्छ भनेर सोचेकै थिएनन् । आफ्नो ‘आर्म ब्यान्ड’ साथी खेलाडीलाई दिए । स्ट्रेचरमा बसे । उनलाई ‘लकर रुम’ लगियो । युरो २०१६ को फाइनलले भर्खर २४ मिनेट छोएको थियो । विश्व फुटबलको सबैभन्दा ठूला स्टारले आधा घन्टामै खेल छोड्नुपर्ने स्थिति ? यसले यति ठूलो महत्त्वको खेलमा निर्णायक असर छाड्नुपर्ने थियो ।

त्यो भयो पनि । पोर्चुगलले आफ्नो नेता गुमाएको थियो । टिमको ज्यान बाहिरिएको थियो । कुनै टिम यस्तो स्थितिमा कमजोर हुन सक्छ । पोर्चुगल भएन । खेललाई अतिरिक्त समयसम्म पुर्‍यायो । खेलको १ सय ९ औं मिनेटमा गोल पनि गर्‍यो । फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले आफ्नो फुटबल इतिहासमा पहिलो उपाधि जित्यो । निर्णायक गोल एडरले गरे । ‘हामीले भनेका थियौं, हामी रोनाल्डोका लागि जित्नेछौं,’ पोर्चुगाली डिफेन्डर पेपेले भने, ‘हामी यस्तो गर्न सफल पनि रह्यौं ।’

पोर्चुगलले वास्तवमै उपाधि जित्यो । तर यो सुन्दर भने रहेन । प्रतियोगितामा पोर्चुगलले तय गरेको यात्रा सुखद रहेन । समूह चरणमा तीनै खेल बराबरी खेलेको थियो । हंगेरी र आइसल्यान्डपछि तेस्रो स्थानमा रह्यो । तर पनि युरोका २४ टिममध्ये अन्तिम १६ मा पुग्यो । आइसल्यान्डविरुद्ध अन्तिम समयमा गोल खाएपछि त्यसले पोर्चुगललाई सजिलो ‘ड्र’ भने दियो । त्यसको अर्थ पोर्चुगलले इटाली, स्पेन, इंग्ल्यान्ड, फ्रान्स र जर्मनी जस्तो टिमविरुद्ध खेल्नुपरेन ।

त्यसको अर्थ पोर्चुगलले अतिरिक्त समयमा क्रोएसियालाई हरायो, पोल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा जित निकाल्यो, अनि सेमिफाइनलमा वेल्सलाई पन्छायो । यो नै पोर्चुगलको प्रतियोगितामा नियमित समयमा एक मात्र जित रह्यो । र, आइतबार पोर्चुगलले फ्रान्समाथि स्तब्धपूर्ण जित निकाल्यो । आलोचकले भन्नेछन्, पोर्चुगलले पस्केको फुटबल राम्रो रहेन । प्रतियोगितामा उसले ७ सय २० मिनेट खेलेको थियो । तर ७३ मिनेटमा मात्र अगाडि रह्यो । तर नतिजाले भने पोर्चुगललाई सधैं साथ दियो ।

रोनाल्डोबिना पनि पोर्चुगल आत्तिएन । ‘यो यस्तो उपाधिको यात्रा हो, जसमा हलिउड सिनेमा बनाउन सकिन्छ,’ पोर्चुगाली खेलाडी जोस फोन्टेले भने, ‘तर हामीले इतिहासमा आफ्नो नाम भने लेखायौं ।’ फाइनल सकेको ह्विसल बजेपछि पोर्चुगाली खेलाडी एकमाथि अर्को चढे । खुसीले । फ्रान्सेली खेलाडी भने मैदानमा ढलेका थिए । फ्रान्स नोभेम्बरमा भएको आतंककारी आक्रमणबाट मुक्त हुने प्रयासमा थियो । फ्रान्सका लागि युरो खुसी फर्काउने बहाना थियो । प्रतियोगिताको समाप्तिमा कम्तीमा फ्रान्सलाई दु:ख हुने छैन ।

सन्तोष नै हुनेछ । प्रतियोगिता राम्रोसँग चल्यो । सुरक्षाको समस्या भएन । सायद अन्त्यमा सफलताको त्यति नजिक पुगेर पनि चुकेकामा भने दु:ख हुनेछ । फाइनलमा फ्रान्सले पर्याप्त मौका नपाएको पनि होइन । तर सेमिफाइनलमा जर्मनीलाई हराउँदा जस्तो जोस फ्रान्सेली टिममा थियो, त्यो फाइनलमा देखिएन् । ‘फुटबल निर्दयी हुने गर्छ,’ फ्रान्सेली कप्तान ह्युगो लोरेसले भने, ‘हामी निराश छौं ।’ र, पूरा कथामा छुटाउन नहुने एकजना पोर्चुगाली प्रशिक्षक फर्नान्डो सान्तोस हुनेछन् ।

सन् २०१४ मा उनले टिम पाएका थिए । उनको नेतृत्वमा पोर्चुगलले खेलेको पहिलो खेल संयोगले फ्रान्सविरुद्ध थियो । त्यसमा पोर्चुगल पराजित भएको थियो । त्यतिबेला सान्तोसले आफ्ना खेलाडीलाई भनेका थिए, अबको लक्ष्य युरो २०१६ को उपाधि । खेलाडीले उनको भनाइ माने । रोनाल्डो मैदानबाट बाहिरिएपछि उनले जति पनि निर्णय लिए, सबै सही सावित भए । अनि, निर्णायक गोल गर्ने एडर के भन्छन् त ? उनको भनाइ थियो, ‘हामीलाई थाहा थियो, खेलमा यस्तो आश्चर्यजनक स्थिति कुनै पनि बेला आउन सक्छ । हामीले त्यस्तै स्थिति बनायौं ।’




Don't Forget To Join US Our Community