'सामन्ती राष्ट्रवाद' को आक्षेप लगाएको भन्दै ओलीले दाहालको जवाफ दिए ।

वर्तमान राजनीतिक चलखेल खालि कसैलाई प्रधानमन्त्रीबाट हटाउन र कसैलाई बनाउनमा मात्र सीमित छैन भन्दै झन्डै साढे दुई घण्टा लामो सम्बोधनको अन्त्यतिर ओलीले भने, 'नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप झनै बढ्नेछ र नेपाललाई प्रयोगको थलो बनाउने दुष्प्रयास तीव्र हुनेछन् ।' मत्थर भएका जातीय-क्षेत्रीय संकीर्णता एवं विद्वेषलाई फेरि चर्काउने चेष्टा हुने ओलीको दाबी छ ।
अविश्वासको प्रस्ताव पेस गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका अभिव्यक्ति र क्रियाकलापप्रति टिप्पणी गर्दै ओलीले सरकार गठनका उद्देश्य, काम र कार्यशैलीबारे बोलेका थिए । 'जनता विगतका गल्ती कमजोरीबाट शिक्षा लिएर असल राजनीतिक संस्कार स्थापित होस् भन्ने चाहिरहेका छन् तर भइरहेका परिदृश्यहरू भिन्न छन्,' ओलीले भने, 'कहिलेकाहीं यस्तो हुन्छ । सत्यको पक्षमा उभिनेहरू दण्डित हुनुपर्ने, देशभक्तिको कुरा गर्नेहरूले सजाय भोग्नुपर्ने र अवसरवादको बिगबिगी हुने स्थिति पनि आउँछ ।' रहस्यमय ढंगले गरिने लागेको सरकार परिवर्तनको खेलको अन्तर्य समयक्रममा उद्घाटित हुने भन्दै ओलीले इतिहासको कठघरामा सबैले उभिनुपर्ने बताए ।
आफ्नो सरकारका राष्ट्रिय हित र स्वाभिमानका कदमहरू तथा सरकारले निर्माण गरेको समानतामाथि आधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय एकता र सामाजिक सद्भावको पक्षमा यसको सम्झौताहीन अडानका कारण यसविरुद्ध घेराबन्दीको प्रयास सुरुदेखि नै भएको उनले बताए । कहिलेकाहीं संसदको अंकगणित र जनताको आशा/भरोसाबीच विरोधाभास सिर्जना हुने गरेको उल्लेख गर्दै अहिले त्यही स्थिति देखिइरहेको ओलीले बताए ।
लोकतन्त्रमा सरकार परिवर्तन सामान्य विषय भए पनि मुलुकलाई नै नोक्सान पुर्याउने गरी बिना औचित्य यस पटक खेल खेलिएको ओलीको आरोप थियो । 'कुनै समस्या भए उच्चस्तरीय राजनीतिक समितिमा छलफल गरेर समाधान गरौं भनेको थिएँ, त्यसको बैठक नै नबसी अचानक रहस्यमय ढंगले सरकार परिवर्तन गर्ने खेलमा लाग्नु त्यो पनि धोखाधडी र झ्याप्पै छापामार शैलीमा,' ओलीले भने ।
२०५२ सालमा मनमोहन अधिकारीको सरकारलाई एउटा बजेटसम्म पेस गर्न नदिई अपदस्थ गर्ने राजनीतिक चक्रब्यूह रचिएको उल्लेख गर्दै उनले अहिले पनि त्यस्तै हालत भएको बताए । 'जनताको मतले बनेको सरकारलाई जनताको सेवा गर्नबाट षड्यन्त्रपूर्ण ढंगले वञ्चित गरिएको उक्त घटनाले मुलुकलाई हिंसातिर धकेल्यो,' ओलीले भने, 'यतिखेर, संविधान कार्यान्वयन, आत्मनिर्भरता तथा स्वाधीन अर्थतन्त्रको निर्माण, राष्ट्रिय स्वाभिमान र समृद्धिको बाटोमा मुलुकलाई अगुवाइ गरिरहेको यो सरकारको बाटो नौ महिनामै छेकेर के सन्देश दिन खोजिरहेका छौं ?'
संसद्मा दाहालले दिएको मन्तव्य सुन्दा सरकारको कामप्रतिको अविश्वासभन्दा पनि व्यक्तिगत चित्त फाटेका कारण अहिलेको अवस्था आएको जस्तो लागेको ओलीले बताए । 'मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा झैं धेरै पटक सिउने कोसिस गरें । मैले एकल र सामूहिक रूपमा, साँझ बिहान, दिन धेरै पटक मैले तुन्ने काममा बिताएको छु,' उनले दाहाललाई कटाक्ष गर्दै भने, 'तर भयो के भने आज तुनेर पठाउने, भोलिपल्ट आउँदा अर्कोपट्ट िफाटेको छ । अब यसपछि सहकार्य गर्ने साथीलाई पनि यी अनुभव काम लाग्छन्, होसियार हुनुहोला, एउटा माघले जाडो जाँदैन ।'
नेपाल, भारत र चीनबीचका सम्बन्धका आफ्नै विषेशताहरू रहेकाले त्यसलाई तुलना गरेर अविश्वासको प्रस्ताव ल्याउनु अशोभनीय भएको ओलीको आरोप छ । 'छिमेकीहरूसँगको हाम्रो सम्बन्ध मित्र-मित्र बीचको सम्बन्ध हो, शासक-शासितबीचको जस्तो हैन । परनिर्भरताले बारम्बार सिर्जना गरेका पीडा, आउने पुस्ताले व्यहोर्नु नपरोस् भनेर सुरु गरिएको सार्वभौम समानतामाथि आधारित सन्तुलित सम्बन्ध हाम्रा मित्रहरूलाई किन ग्राह्य नभएको हो ?' ओलीले प्रश्न गरे । भूपरिवेष्ठित अवस्थालाई भूजडित अवस्थामा बदल्ने कदम पनि पाच्य नभएको भन्दै ओलीले विपक्षीहरूप्रति आपत्ति जनाए । 'फेरि पनि नेपाल एकतर्फी निर्भरतामा बाँचिरहोस् र आर्थिक परनिर्भरताले नेपाललाई सधैंभरि आश्रति राष्ट्रको हैसियतमा सीमित राखोस् भन्ने उहाँहरूको चाहना हो ?,' ओलीले भने, 'अन्यथा, राष्ट्रिय हितको यति महत्त्वपूर्ण मुद्दामा पनि किन अशोभनीय राजनीति ?'
गणतन्त्र, राष्ट्रवाद र संघीयता लगायतका निष्ठामाथि माओवादी अध्यक्ष दाहालले संसद्मा गरेको शंकालाई पनि ओलीले सम्बोधनका क्रममा जवाफ दिए । 'मैले राजतन्त्रका विरुद्ध संघर्ष गर्दा साथीहरू कता हुनुहुन्थ्यो ? राजतन्त्रसँग लडाइँ गर्दा कापीकलम बोकेर कुन स्कुलमा धाइरहनु भएको थियो ? सोध्ने ठाउँ छ तर म सोध्दिनँ,' ओलीले भने । आफ्नो राष्ट्रवादी अडानलाई 'सामन्ती राष्ट्रवाद' को आक्षेप लगाएको भन्दै ओलीले दाहालको जवाफ दिए । 'देशहरू भूगोल र जनसंख्याका आधारमा ठूला-साना हुन्छन् तर सार्वभौसत्ता बराबर हुन्छ यो भन्नु सामन्ती राष्ट्रवाद भयो ?'
आफू सरकारमा सामेल हँुदा मुलुक अत्यन्त अप्ठेरो अवस्थामा रहेको नाकाबन्दी, दैनिक अभावमा रहेको, नेपाल-भारत सम्बन्ध अत्यन्तै बिगि्रएको भन्दै त्यस अवस्थाबाट पार लगाएर सामान्य अवस्थामा ल्याएको सरकार ढलाउने खेल रहस्यमय भएको उनको आरोप थियो । 'सरकारले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिरहेकै बेला एक साँझ अचानक सरकार परिवर्तनको प्रस्तावसहित सत्ता साझेदार दलका प्रमुख आउनुभयो । यो मेरा निम्ति अप्रत्याशित मात्रै होइन, अकल्पनीय र दुःखद विषय थियो,' उनले भने, 'दलहरू आफ्ना बारेमा निर्णय लिन स्वतन्त्र छन् । तर सहकार्य गरिरहँदा र त्यसबाट अलग हुँदा पनि निश्चित मूल्यमान्यतालाई अवलम्बन गरिएन भने र दलहरूबीचको सम्बन्धलाई सौदाबाजी, धोखाधडी र छिर्के दाउको विषय बनाइयो भने त्यसले समस्या सिर्जना गर्छ ।'
शान्ति प्रक्रियामा इमानदार नभएको भन्ने दाहालको टिप्पणीको पनि उनले जवाफ दिए । द्वन्द्वका बेला शान्ति प्रक्रियामा ल्याउने भूमिका एमालेले नै खेलेको उल्लेख गर्दै उनले पाप-धर्मको ख्याल गर्न दाहालको ध्यानाकर्षण गराए । सरकारका विधेयक असफल गर्ने बेला संसदमा ठूला कुरा गरिएको भन्दै उनले भने, 'दुई-चार महिना हेरौं न त, गफ होइन काम गर्नेका काम पनि ।'
Don't Forget To Join US Our Community