समृद्धि ल्याउने नेतृत्वको खाँचो



डम्बर खतिवडा, काठमाडौं

असार २९, २०७३-

समाज स्वयं गतिशील प्रवर्ग हो । त्यसमाथि राजनीति त झनै गतिशील हुन्छ । भनिन्छ– समाजिक–सांस्कृतिकभन्दा आर्थिक र आर्थिकभन्दा राजनीतिक परिवर्तन छिटो हुन्छ । राजनीतिक गतिशीलता सामाजिक गतिकै परिचायक भएको हुँदा यसलाई नकारात्मक अर्थमा लिन उचित हुँदैन । समय, पात्र, प्रवृत्ति र परिघटनाले राजनीतिमा नयाँ—नयाँ ध्रुवीकरण माग गर्छ । अन्यथा देशले सही निकास पाउन सक्दैन । देशले पछिल्लो समय जुन गतिरोधको सामना गरिरहेको छ, त्यो राजनीतिक प्रवृत्तिहरूको सही ध्रुवीकरण हुन नसकेकाले पनि हो ।

समृद्धिको युग
नयाँसंविधानले देशका सबै पक्षलाई राम्ररी समेट्न नसकेको यथार्थलाई छोडेर हामी आधुनिक नेपालको एकीकरण युगको भावना र नेतृत्वसँंग लोकतान्त्रीकरणको युगको भावना र नेतृत्वको टसलबाट बाहिर आएका छौं । यहाँनेर दुइटा कुरा ध्यान दिन उचित हुन्छ । एक, कुनै एउटा युगको भावना र नेतृत्व अर्को युगका लागि बाधक हुन्छ कि हुँदैन ? दुई, यदि हुँदैन भने त्यसको रूपान्तरणको तरिका के हो र यदि बाधक हुन्छ भने नयाँ विकल्प कसरी दिने ?

राजनीति सधैं बहुसम्भावनाको बीचमा हुन्छ । तर सबै सम्भावना एकसाथ वास्तविकचाहिँ हुँदैन । शाहवंशीय राजाहरूले एकीकरण युगको नेतृत्व गरेको सत्य हो । लोकतान्त्रीकरणको युगलाई पनि आफूले न्याय गर्ने उनीहरूका दाबी र शाब्दिक निष्ठा थियो । कम्तीमा राजा त्रिभुवन र वीरेन्द्रको शासनकालका घटनाक्रमलाई राजाहरू लोकतान्त्रिक युगका लागि पनि बाधक हुँदैनन् भन्ने सन्देशका लागि उपयोग गरिएको थियो ।

एकीकरण युगको नेतृत्वले नै रूपान्तरणद्वारा लोकतान्त्रीकरणको युगलाई न्याय गर्नसक्ने सम्भावना सम्भावनाकै रूपमा टर्‍यो, यथार्थमा परिणत हुनसकेन । यही बहस फेरि पुनरावृत्त भएको छ । लोकतान्त्रीकरणको युगपछि समृद्धीकरणको युग प्रारम्भ भएको छ । लोकतान्त्रीकरण युगको मुख्य नेतृत्व कांग्रेस–कम्युनिष्ट हुन् भन्ने कुरामा कुनै विमति हुनसक्दैन । तर के उनीहरूले आफ्नो स्वरूपान्तरणद्वारा समृद्धिको युगलाई न्याय गर्न सक्लान् कि त्यसका लागि बाधक बन्लान् ? शाब्दिक रूपमा त उनीहरूले समृद्धिको युगलाई न्याय गर्ने नै कुरा गरेका थिए । तर २०४६ साल यताको करिब ३ दशकको अनुभवलाई हेर्दा त्यो दाबी सिद्ध भएको मान्न सकिन्न ।

तीन असफल कल्पना
नेपालको राजनीतिक ढाँचा कसरी बढ्छ भन्ने तीन मुख्य कल्पनाहरू थिए । एउटा राजावादी कल्पना नै थियो जसलाई राजा महेन्द्रले निर्दलीय प्रजातन्त्रका रूपमा सैद्धान्तीकरण गर्न खोजे । उनले शोषणविहीन समाज, हिन्दु अधिराज्य, मिश्रित अर्थतन्त्र, गाउँ फर्क र भूमिसुधार जस्ता आधारमा पञ्चायतलाई दार्शनिकीकरण गर्न खोजे, जसको उद्देश्य सम्बद्र्धनवादमा आधारित निर्देशित लोकतन्त्र थियो । कुनै समय निकै ठूलो महाआख्यानझैं लाग्ने यो बाटो नेपाली समाजले स्वीकार गरेन ।

दोस्रो हाइपोथेसिस नेपाली कांग्रेस र त्यसका मुख्य नेता बीपी कोइरालाले निर्माण गरे । साम्यवाद र पुँजीवादको फ्युजनबाट बनेको प्रजातान्त्रिक समाजवाद, राजाको वैधानिक नायकत्वमा आधारित संसदीय प्रणाली र उत्पादनमुखी सानो आकारको ग्रामीण अर्थतन्त्र बीपी विचारका मुख्य विशेषता थिए । २०४७ सालको संविधानलाई नेपाली समाजले अस्वीकार गरेसँंगै महेन्द्रपथझैं बीपीपथ पनि नेपाली समाजका लागि खासै सार्थक नभएको निष्कर्ष कतिलाई पूर्वाग्रहपूर्ण लाग्नसक्छ । तर कटुसत्य यही हो ।

तेस्रो असफल कल्पना अनेकन कम्युनिष्ट समूह र नेताहरूले निर्माण गरे । नेपाली समाज नौलो जनवाद (माओवाद), सोभियत समाजवाद (लेनिनवाद) हुँदै वर्गविहीन, निजी सम्पत्तिविहीन साम्यवाद(माक्र्सवाद) तिर जाने छ भन्ने विश्वास उनीहरूले बाँडे । अहिले यो सपना पनि व्यावहारिक रूपले सार्थक देखिँदैन । पार्टी आ–आफ्नो धारमा छन् । उनीहरूका योगदानको पनि सम्मान गर्नुपर्छ । तर मुख्य तीन कल्पनाको असफलतापछि नेपाली समाजले चौथो काल्पनिकी, चौथो महाआख्यान खडा गर्न जरुरी छ । त्यसका लागि पनि नयाँ राजनीतिक ध्रुवीकरण आवश्यक देखिन्छ ।

कांग्रेसका सीमा
नेपाली कांग्रेस नेपाली लोकतान्त्रिक आन्दोलनको सबैभन्दा बलियो खम्बा हो भन्ने कुरामा दुईमत हुनसक्दैन । सन् १९९० अघिसम्म कम्युनिष्टहरूको लोकतन्त्रप्रतिको प्रतिबद्धता शंकायोग्य नै थियो । मदन भण्डारीले जनताको बहुदीलय जनवाद बनाउनु र माओवादी आन्दोलनले शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गर्नु अघिसम्म कम्युनिष्टहरू सोभियत संघ, चीन, उत्तरकोरियाको जस्तै एकदलीय मोडलमा जाने त हैनन् भन्ने शंका स्वाभाविक हुन्थ्यो । यस अर्थमा कम्युनिष्टहरूको लोकतन्त्रप्रतिको निष्ठा खासै बलियो थिएन र त्यसको एक्लो जिम्मेवारी कांग्रेसले नै बोक्नपरेको थियो ।

तर त्यही एउटा आधारमा कांग्रेसले समृद्धिको युगलाई न्याय गर्ने विश्वास पैदा हुँदैन । दक्षिण एसियाली समाजको खराब पक्षका रूपमा रहेको वंशवादी चिन्तन र बर्चस्वशाली सामाजिक तप्काहरूको आड राजनीतिक शक्ति प्राप्त गर्ने सोच र संरचनामा परिवर्तन नआएसम्म कांग्रेस उदात्त, खुल्ला र पारदर्शी लोकतान्त्रिक दल हुने अपेक्षा गर्न सकिन्न । साथै उसको वैचारिक आधार पनि प्रजातान्त्रिक सममाजवाद र उदार लोकतन्त्रका रूपमा सधैं अस्पष्ट रहने गरेको छ ।

उत्तरआधुनिक युगका चिन्ता, चासो र सरोकारलाई सम्बोधन गर्नेगरी पार्टी संरचना, शक्ति—सम्बन्ध र राजनीतिक संस्कृतिलाई पुनर्परिभाषित नगरुन्जेलसम्म कांग्रेस नयाँ युगका लागि भरोसायोग्य बन्न सक्दैन । साथै आदिबासी, जनजाति, मधेसी, थारु, महिला, दलित, मुस्लिम लगायतको आन्दोलन, विशेषत: समानुपातिक समावेशी र सहभागितामूलक लोकतन्त्रप्रतिको बेवास्ताले कांग्रेसलाई सीमित गर्दिन्छ ।

कम्युनिस्ट काल्पनिकीको संकट
कम्युनिजम अबको युगमा एउटा साँच्चैको दर्शन हो वा ऐतिहासिक विरासतले सिर्जना गरेको बाध्यता ? यो प्रश्नले अरूलाई भन्दा बढी कम्युनिष्टहरूलाई पिरोलेको छ । फलत: कम्युनिष्टहरू एकअर्काप्रति आरोप—प्रत्यारोप गर्दै जिन्दगीको धेरै ऊर्जा खर्च गर्न अभिशप्त छन् । झापाविद्रोह, सीपी मैनालीको नायकीकरण, जनयुद्ध र प्रचण्डको नायकीकरणदेखि आज नयाँ युद्धको तयारी र विप्लवको नायकीकरणसम्म आइपुग्दा एउटै परिदृश्य पुनरावृत्त भएको छ ।
पात्र बदलिएकाछन् । स्कुलिङले दिने पीडा सबै युगमा एकै खालको छ ।

मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणमा योगदान गर्नु आफ्नो ठाउँमा महत्त्वपूर्ण छ नै, तर ध्यान दिनुपर्ने कुरा के छ भने उनले नेपालका लागि कुनै नयाँ लोकतान्त्रिक ढाँचाको प्रस्तावना दिएका हैनन्, बरु परम्परागत कम्युनिष्ट आन्दोलनलाई सिफ्ट गराएका मात्र हुन् र पुनश्च: संसदीय प्रणालीकै सीमाभित्र सोच्न प्रेरित गरेका हुन्, जसको चपेटामा परेकै कारण आज एमाले शासकीय स्वरूप परिवर्तन, उचित प्रकारको संघीयता र समानुपातिक समावेशी लोकतन्त्रको मुद्दाबाट च्युत भएको छ ।

आज कम्युनिष्टहरूले उदात्त आत्मसमीक्षा गर्न जरुरी छ । माक्र्स, लेनिन र माओका काल्पनिकीहरू नेपालका लागि कति फलदायी भए—भएनन्, विश्व राजनीतिमै पनि त्यो तादात्म्य रह्यो कि रहेन, त्यसको विवेचन र सयौं प्रश्नको उत्तर नदिइकन बढ्ने कम्युनिजमको भविष्य पश्चिमबंगालको उत्कर्षसम्म पनि पुग्न गाह्रो होला ।

नयाँ शक्ति र वैकल्पिक राजनीति यस्तो राजनीतिक
परिदृश्यमा नयाँ राजनीतिक शक्तिको जन्म भएको छ– नयाँ शक्ति, नेपाल । यसको चुनावी भविष्य अहिलेसम्म परीक्षण भएको छैन । तसर्थ समग्र नेपाली राजनीतिमा यसको प्रभाव र योगदानको क्षेत्र के कति हुनेछ, त्यो त पर्खिएरै हेर्नुपर्छ । तर यो एउटा समानान्तर राष्ट्रिय संगठनका रूपमा भने उदित भइसकेको प्रतीत हुन्छ ।

यसका केही राजनीतिक प्रस्तावनाहरू विलकुलै नयाँ छन् । नयाँ यस अर्थमा कि कम्तीमा नेपालका अन्य राजनीतिक दलले त्यस प्रकारको अभ्यास गर्दैनन् । पार्टी सदस्यहरूको सार्वभौमसत्तामा आधारित पार्टीसत्ता अर्थात् पार्टीभित्र प्रत्यक्ष निर्वाचन र राजकीय पदका लागि प्राइमरी निर्वाचन नेपालका अन्य दलको एजेन्डा र अभ्यासमा छैन । शास्त्रीय सिद्धान्तभन्दा बाहिर विकास, सुशासन र समृद्धिलाई राजनीतिक सिद्धान्त र एजेन्डा पनि नयाँ शक्तिले बनाएको छ । ‘त्रिक्लस्टर’ आधारित समानुपातिक नेतृत्व प्रणाली नयाँ शक्तिमा प्रारम्भ नै भइसकेको छ । भूराजनीतिक जटिलताको पुनव्र्याख्या र गतिशीलको पुलको अवधारण पनि नयाँ शक्तिको मौलिक प्रस्तावना हो । नयाँ राजनीतिक ध्रुवीकरणका लागि एउटा वैकल्पिक धारसमेत प्रारम्भ भएको यथार्थलाई स्वीकार गर्नुश्रेयष्कर नै हुनेछ ।

नयाँ ध्रुवीकरणको आधार
नेपाली समाजको गतिशीलताका लागि एउटा नयाँ राजनीतिक ध्रुवीकरणको आह्वान गर्न हिचकिचाउनु पर्दैन । एकीकरणको युग र लोकतान्त्रीकरणको युगको समाप्तिपछि अबको ध्रुवीकरण तेस्रो युग, समृद्धिको युगलाई नेतृत्व गर्न सक्ने हुनुपर्छ । पुनध्र्रुवीकरणको प्रयासले राजनीतिकप्रवृत्तिहरूलाई नयाँ गठजोडमा ल्याउनेछ र देशमा नयाँ तरंग पैदा हुनेछ ।

यसरी हेर्दा मूलत: नेपालमा अहिले ५ वटा राजनीतिक प्रवृत्तिहरू छन् । पहिलो, पुरानो शासनसत्ताको आडमा जन्मिएको र त्यसैलाई आदर्श मान्ने कन्जर्भेटिभ धार अर्थात् राप्रपा धार । दोस्रो, संसदवाद र बजार अर्थतन्त्रलाई आदर्श मान्ने उदारवाद लोकतान्त्रिक अर्थात् कांग्रेस धार । तेस्रो, माक्र्सवाद, लेनिनवाद, माओवादजस्ता सिद्धान्तलाई आदर्श मान्ने तर व्यवहारमा बहुदलीय व्यवस्थालाई स्वीकार गर्ने कम्युनिष्ट धार । चौथो, सीमान्तकरण, पहिचान, समावेशी र क्षेत्रीयतालाई मुख्य मुद्दा मान्ने मधेसी तथा जनजातिवादी धार अर्थात् समाजवादी फोरम र मधेसवादी दलहरूको धार । पाँचौं, उत्तरमाक्र्सवादी र उत्तरपुँजीवादी युगमा विगत सिद्धान्त र अभ्यासको पुनरावलोकन गर्दै नयाँ सिद्धान्त र अभ्यासहरू विकास गर्न चाहने, स्वाधीनता, समृद्धि, सुशासन, समानुपातिक समावेशी र सहभागितामूलक लोकतन्त्रलाई मुख्य मुद्दा बनाएको वैकल्पिक धार ।

जतिसक्दो चाँडो यी धारहरूमा राजनीति ध्रुवीकरण हुनेछ, त्यति नै छिटछिटो गतिरोधका मुद्दाहरू छिमोलिँदै जानेछन् । समाजमा नयाँ गति पैदा हुनेछ र समृद्धिको युगका कार्यभार पुरा गर्न सजिलो हुनेछ ।




Don't Forget To Join US Our Community