भैरहवा एयरपोर्टको २० प्रतिशत काम सकियो, वर्षामा पनि निर्माण जारी

२८ असार, काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य २० प्रतिशत सकिएको छ । विमानस्थलमा जमिनको काम करीव सकिन थालेको छ ।
यो विमानस्थल सन् २०१७ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भूकम्प, नाकाबन्दी र निर्माण समाग्री रोडा बालुवाको अभावले विमानस्थल निर्माण कार्यमा केही ढिलाई भएपनि अप्ठ्यारो काम सकिन लागेको परियोजना प्रमुख ओम शर्माले बताए ।
परियोजनाका लागि आवश्यक पर्ने गिट्टी बालुवाको सहज आपूर्ति नहुँदा निर्माण कार्य तिब्र गतिमा अगाडि बढाउन समस्या भएको छ । विमानस्थलमा दैनिक ३०० ट्रक रोडा बालुवा आवश्यक परेपनि स्थानिय प्रशासनले स्वीकृति नदिँदा नवलपरासीबाट ल्याएर काम चलाइरहेको शर्माले बताए ।
‘हामीले नवलपरासीको दुम्किवासस्थित विनय खोलाबाट दैनिक १०० ट्रक रोडा बालुवा ल्याएर काम गरिरहेका छौं’ परियोजना प्रमुख शर्माले भने– ‘त्यहाँबाट आउन जान करीव २०० किलोमिटर दुरी पार गर्नुपर्छ ।’
वर्षात् सुरु भएसँगै कामको ‘भोल्यूम’ पनि घटेको छ । ‘वर्षाभरी दैनिक १०० ट्रक रोडा बालुवाले काम चलाउन सकिन्छ’ शर्माले भने– ‘वर्षा सकिने वित्तिकै तिनाउँ स्थानिय नदिबाट रोडा बालुवा ल्याउन दिने आश्वासन प्राप्त भएको छ ।’ नवलपरासीको विनय खोलाबाट अझै दुई महिना रोडा बालुवा ल्याइउने उनको भनाई छ ।
Don't Forget To Join US Our Community