पारसको प्रभाव, इङ्ल्यान्ड भ्रमणमा नेपालको लगातार तेस्रो विजय



तस्बिरहरु: कौशल अधिकारी

कप्तान पारस खड्काको प्रभावशाली ब्याटिङपछि नेपालले इङ्ल्यान्ड भ्रमणमा लगातार तेस्रो विजय हात पारेको छ । नेपालले शुक्रबार स्टानमोर क्रिकेट क्लबमा क्रिकेट क्लब कन्फ्रेन्स (सीसीसी) लाई ४ विकेटले पराजित गर्‍यो ।



टस जितेको सीसीसीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय २६ रन बनायो । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र अनिल मण्डलले दिलाएको राम्रो सुरुआतमा पारसले ६६ बलमा ६७ रन बनाएपछि नेपालले ४६.१ ओभरमा लक्ष्य पुरा गर्‍यो ।



लन्डनमा नेपालले पहिलो खेल फ्रि फोरेस्ट क्रिकेट क्लबसँग खेलेको थियो । ४० ओभरको सो खेल नेपालले १ सय २६ रनले जितेको थियो । त्यसपछि इन्डियन जिमखाना क्रिकेट क्लबसँगको ट्वान्टी-२० खेलमा २० रनको विजय हात पारेको थियो । नेपालले आइतबार लन्डन शहर बाहिरको इस्टबर्न क्रिकेट क्लबसँग ५० ओभरको खेल खेल्ने छ ।



बिहीबार नेपालको ब्याटिङ फेरी प्रमुख तीन खेलाडी पारस, ज्ञानेन्द्र र शरद भेषावकर केन्द्रित हुन पुग्यो । त्यसमा केही योगदान अनिलले दिए । परामर्श प्रशिक्षक पुबुदु दासानायकेको चिन्ता यसैमा थियो । मध्यक्रममा विनोद भण्डारी प्रदर्शन अझै दरिलो हुन सकेको छैन ।

अनिल र ज्ञानेन्द्रले १३ ओभर भित्र ६७ रन जोडेर नेपाललाई राम्रो सुरआत दिलाए । उत्कृष्ट फर्ममा रहेका ज्ञानेन्द्रले ४२ बलमा ३६ रन बनाए । डिप मिड विकेटमा क्याच दिनु अगाडी उनले ३ चौका प्रहार गरे । उनले प्रहार गरेको एक विशाल छक्का जंगलमा हराएपछि नया बल ल्याएर खेल सुरु गरिएको थियो । त्यसपछि आएका सागर पुन ४ रनमै आउट भए ।



अनिलले चार चौका प्रहार गरी ६४ बलमा ४३ रन जोडी विकेटको पछाडी क्याच दिन पुगे । पारस र शरदले चौथो विकेटमा ५३ रनको साझेदारी गरे । पारसले ठुला ठुला शटहरु खेले । विकेट छाडेर खेल्न खोज्दा शरद ३५ औं ओभरमा बोल्ड भए । त्यसको अर्को ओभरमा पारसले स्ट्रेट चौका र त्यसपछि दुई रन जोड्दै अर्धशतक पुरा गरे ।

४० औं ओभरमा पारसले लङ अनमा क्याच दिन पुगे । उनले ८ चौका र एक छक्का प्रहार गरे । त्यसपछि आएका विनोद भण्डारी ४ रनमै आउट भए । राजेश पुलामी र राजु रिजालले मिलेर नेपाललाई जिताए । राजेशले २६ बलमा २ चौका प्रहा गरी १६ र राजुले १३ बलमा तीन चौका प्रहार गरी १७ रन बनाए । स्कोर बराबर भएको अवस्थामा उनले नै विजयी चौका प्रहार गरे । सीसीसीका लुक च्यापम्यानले ३ विकेट लिए ।



यसअघि सीसीसीको सुरुआत पनि राम्रो थियो । सागर पटेलले र किशन दाससँग मिलेर पहिलो विकेटमा १० ओभर भित्र ३५ रन जोडे । किशन १५ रन बनाई करण केसीको बलमा आउट भए । अहमद इलेचलाई पारसले ५ रनमा बोल्ड गरे । जेम्स साउथगेट १५ रन बनाई सन्दीप लामिछानेको शिकार भए ।

सागर र स्टिभ सेलउडले चौथो विकेटमा ५० रन जोडे । सन्दीपकै बलमा स्टम्प हुनु अगाडी सागरले ८२ बल खेली ६ चौका र १ छक्कासहित ६५ रन बनाए ।

डर्बीसायरका पूर्व खेलाडी सेलउडले ६७ रन बनाए । ७३ बलको इनिङ्समा उनले ५ चौका र १ छक्का प्रहार गरे । सोमपाल कामीले उनलाई आउट गरे । सोमपालले अन्तिम ओभरमा निक स्टेभन्सलाई ९ रनमा फ्लो थ्रुमा रनआउट गरे भने एन्ड्रु वेस्टफललाई शुन्यमा बोल्ड गरे । सोमपाल र सन्दीपले १० ओभर पुरा बलिङमा क्रमश ३८ र ३६ रन खर्चे । पारस र करणले ६ ओभरमा क्रमश २५ र ३५ रन दिए । शक्ति गौचन र सागरले ७ ओभरमा क्रमश २४ र ३४ तथा ज्ञानेन्द्रले ४ ओभरमा २७ रन खर्चे ।


Don't Forget To Join US Our Community