
असार ३०, २०७३- सबैभन्दा लामो समय (सन् २०१० यता) गृहमन्त्री रहेर आप्रवासीका हकमा अनुदार ठानिएकी टेरेजा मे नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छन् । बेलायतको इतिहासमा मार्गरेट थ्याचरपछि टेरेजा दोश्रो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् । सन् १९९७ देखि निरन्तर सांसद रहेकी ५९ वर्षीया मे राजनीतिमा आउनु अघि बैंकिङ क्षेत्रमा थिइन् ।
बेलायती महारानीले मेलाई बुधबार बकिङहम प्यालेसमा आमन्त्रण गरी नयाँ सरकार गठनका लागि आग्रह गरेलगत्तै मे प्रधानमन्त्रीमा नियुक्त भइन् र नयाँ मन्त्रिमण्डल समेत गठन भएको छ ।
बुधबार नै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती महारानीलाई भेटेर पदबाट राजीनामा दिएका थिए ।
बुधबार प्रधानमन्त्री मेले घोषणा गरेको सानो मन्त्रीमण्डलमा लन्डनका पूर्व मेयर बोरिस जोन्सन विदेशमन्त्री र विदेशमन्त्री फिलिप ह्यामोण्डले अर्थमन्त्री (चान्सलर) को जिम्मेवारी पाएका छन् । रक्षामन्त्री माइकल फालोनलाई पुन: रक्षा मन्त्रालयको कार्यभार दिइएको छ भने डेभिड डेभिसलाई युरोपियन यूनियनसित अलग हुने कार्यका लागि मन्त्री बनाइएको छ । उर्जा तथा जलवायु परिवर्तन मन्त्री एम्बर रुढले गृह मन्त्रालयको महत्वपूर्ण अभिभारा पाएकी छिन् भने पूर्व विदेशमन्त्री लियाम फक्सले अन्तर्राष्ट्रिय व्यापार मन्त्रीको जिम्मा पाएका छन् । लियामले सन् २०११ मा रक्षा मन्त्रीबाट राजीनामा दिएका थिए ।
नवनियुक्त मन्त्रीहरुमध्ये जोन्सन, फक्स र डेभिस जुन तेश्रो साता सम्पन्न जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट अलग्गिनुपर्छ भन्ने पक्षमा सशक्त ढंगले लागेका थिए भने ह्यामोण्ड, रुढ र फालोन बेलायत युरोपियन युनियनमै रहनुपर्छ भन्ने पक्षमा थिए ।
प्रधानमन्त्री नियुक्त भए लगत्तै मेले बेलायतलाई अझ समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गर्दै सीमित वर्गका लागि मात्र नभई कामदार वर्गका लागि विशेष कार्यक्रम ल्याइने आश्वासन दिएकी छिन् । प्रधानमन्त्रीमा मे सुनिश्चित भएपछि शेयर बजार र बेलायती मुद्राको बजारभाउमा सुधार आउन सुरु गरेको छ ।
गत जुन २३ मा भएको जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट निस्कनुपर्छ भन्ने पक्षमा जनमत आएपछि सोको विपक्षमा रहेका प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । उनको सो घोषणापछि सत्तारुढ दलभित्र नयाँ नेता छान्न भएको चुनावमा मे र एण्ड्रिया लिडसम अन्तिम दुईमा पुगे पनि लिडसमले विवादास्पद अभिव्यक्तिका कारण नेता बन्ने दौडबाट पछि हट्नु परेको थियो ।