
काठमाडौं: नौ महिना सरकारमा रहेर पार्टी निर्देशनअुसार मन्त्री पद छाड्नुपरेपछि पुल्चोकस्थित मन्त्री निवासमा बस्दै आएका माओवादी केन्द्रका मन्त्रीका सहयोगी बुधबार दिनभर ठूलै चटारोमा देखिन्थे । मन्त्रीनिवासबाट सामान सार्नुपर्ने भएपछि कोही पोकापुन्तरा बनाउँदै थिए भने कोही गाडीमा धमाधम सामान सार्दै थिए ।
पार्टीले फिर्ता बोलाएसँगै मन्त्री पदबाट राजीनामा दिएका माओवादीका कोही मन्त्रीले डेरा सरिसकेका छन् भने धेरै सर्ने तयारीमा छन् । माओवादी केन्द्रबाट असोज २४ मा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा एक उपप्रधानमन्त्री र सातजना मन्त्री सहभागी भएका थिए । प्रधानमन्त्री ओलीसमक्ष बुधबार उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् ।
गृहमन्त्री शक्तिबहादुर बस्नेत र वाणिज्यमन्त्री गणेशमान पुन त मंगलबार नै मन्त्रालयमा सबैलाई धन्यवाद दिएर बिदाइ भएका थिए । बस्नेतले बुधबार बिहानै पुल्चोकस्थित मन्त्रीनिवासबाट पोकापुन्तरा बाँधेर भैंसेपाटीमा डेरा सरेका छन् । वनमन्त्री अग्निप्रसाद सापकोटाले बुधबार मन्त्री निवास छाडेपछि कौशलटारस्थित भतिजाको डेरामा बस्न पुगेका छन् ।
उनको पुरानो डेरा तीनकुने सुविधानगरमा बिहीबारमात्रै सर्ने जानकारी उनका सहयोगी युवराज दुलालले दिए । सापकोटाले मन्त्री भएबापत सुविधामा पाएको गाडीसमेत फिर्ता गरिसकेका छन् । कृषिमन्त्री हरिबोल गजुरेलले भने बिहीबारमात्रै पुल्चोक निवास छाड्ने तयारी गरेका छन् । उनका सहयोगी रमेश गुरागाईंले पार्टीको आन्तरिक मिटिङ र नयाँ सरकारको तयारी छलफलका कारण व्यस्त भएकाले बुधबार समान पोका बाध्ने काममात्रै भएको जानकारी दिए । मन्त्री हुनुअघि गजुरेल कालोपुलमा बस्थे ।