
असार २९, २०७३- नेपाल खेलकुद पत्रकार मञ्चले वुधबार सार्वजनिक गरेको बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७२ को चार विधाको मनोनयनमा फुटबलको वर्चस्व रहेको छ । सर्बाधिक ५ जना फुटबलबाट मनोनयनमा परेका छन् ।
बर्ष २०७२ का उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षकमा ५-५ जनाको मनोनयन मञ्चको खेलाडी छनोट समितिले घोषणा गरेको हो । बंगबन्धु गोल्डकप च्याम्पियन तथा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक विजता टिमका फरवार्ड नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथु पुरुषतर्फ मनोनयनमा परेका छन् । दुवै प्रतियोगितामा रहेका विंगर अन्जन विष्ट युवा खेलाडीको शीर्ष ५ मा छन् ।
राष्ट्रिय फुटबल टिमलाई २३ बर्षपछि उपाधि (बंगबन्धु गोल्डकप) दिलाएका बालगोपाल महर्जन र सन् १९९३ यता पहिलो स्वर्ण जिताएका राजुकाजी शाक्य २०७२ सालको उत्कृष्ट प्रशिक्ष्ाकको मनोनयनमा परे । मनोनयन सूचिमा १२ औं सागमा पदक जितेका खेलाडीको वर्चस्व रह्यो । सागमा ऐतिहासिक एक रजतसहित चार पदक जितेकी १३ बषर्ीय स्वीमर गौरिका सिंह र गुवहाटी-सिलोङ संस्करणमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी उसु खेलाडी नीमा घर्तीमगर युवा र महिलाका दुवै विधाको मनोनयनमा छन् ।
प्रशिक्षक सहित जुडो र उसुका ३-३, क्रिकेट र तेक्वान्दोका २-२ तथा पौडी, भारोत्तोलन र ट्रायथलनका १-१ जना मनोनयनमा परेका छन् । २०७२ सालमा भएका राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगितामा गरिएको प्रदर्शन र हात पारेको उपलब्धिको आधारमा मनोनयन सूचि तयार पारेको खेलाडी छनोट समितिले जनाएको छ । एसएमएस भोटिङ र फेसबुक लाइकको आधारमा विजेताको छनोट हुने पिपुल्स च्वाइस अवार्डमा ५ खेलाडीको मनोनयन मञ्चले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको मुख्य प्रायोजन रहेको अवार्डमा साउन ६ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । आठ विधासमावेश अवार्ड विजेताको घोषणा त्यही दिन हुनेछ । २०७२ सालका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ दिइनेछ । पारा एथलिट, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डमा भने विजेताको मात्र चयन गरिनेछ, जुन कार्यक्रमकै दिन घोषणा हुनेछ ।
पुरुष
बंगबन्धु गोल्डकप र १२ औं सागमा स्वर्ढा विजेता फुटबल टिमका नवयुग श्रेष्ठ, विकेश कुथु, सागमा रजत हात पारेका भारोत्तोलक विकास थापा, तेक्वान्दोका वीरबहादुर महरा र उसुका राजेश चौधरी २०७२ सालको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा परेका छन् ।
बंगबन्धु गोल्डकपमा सर्बाधिक चार गोल गरेका नवयुग त्यसमा सर्बोत्कृष्ट खेलाडी पनि चुनिएका थिए । उनले सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ह्याटि्रक गरेका थिए । उनले १२ औं सागमा दुई ह्याटि्रकसहित सर्बाधिक सात गोल गरेका थिए । फाइनलमा भारतविरुद्ध उनको निर्णायक गोल सनसनीपूर्ण थियो । राष्ट्रिय लिगमा सर्बाधिक १४ गोल गरेपछि आर्मीका यी फरवार्ड राष्ट्रिय टिमबाट पहिलोपल्ट स्थान बनाएका थिए ।
गोलकिपर विकेश पनि बंगबन्धु र सागका हिरो हुन् । उनले बंगबन्धुमा पाँचमध्ये चार खेलमा विपक्षीलाई गोल गर्न दिएनन् । प्रतियोगितामा १ गोल मात्र बेहेारेका उनले १२ औं सागमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । राष्ट्रिय लिगमा आर्मी उपविजेता हुदा सबभन्दा कम (६ गोल) उनले बेहोरेका थिए । लिगको १६ खेलमा ११ 'क्लिन-सिट'को रेकर्डपछि उनले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्ने मौका पाएका थिए । नवयुग र विकेशको सहयोगमा आर्मीले झापा गोल्डकप र मदन भण्डारी गोल्डकप पनि जितेको थियो ।
भारोत्तोलन खेलाडी विकासले करिअरकै सबभन्दा राम्रो प्रदर्शन गर्दै स्न्याचमा राष्ट्रिय कीर्तिमानसहित १२ औं सागको ६२ केजी स्पर्धामा रजत जितेका थिए । उसुमा ५६ केजमिुनि रजत हात पारेका राजेश सान्सौतर्फ फाइनल पुग्ने एक्लो नेपाली पुरुष खेलाडी हुन् । उनले आठौं एसियन जुनियर उसु च्याम्पियनसिपमा पनि कांस्य हात पारेका थिए । पहिलोपल्ट नेपाली तेक्वान्दो स्वर्णविहिन भएपनि वीरबहादुरले उत्कृष्ट प्रदर्शन गर्दै ६३ केजीमुनि रजत जितेका थिए । वीरबहदुर र राजेशले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक कब्जा गरेका थिए ।
महिला
१२ औं सागका स्वर्णधारी जुडोकी फुपु ल्हामु खत्री, उसुकी नीमा घर्तीमगर, पौडीमा सनसनीपूर्ण प्रदर्शन गरेकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की मनोनयनमा परे ।
रियो ओलम्पिक खेल्ने पक्का गरेकी फुपू सागको जुडोमा स्वर्ण जित्ने पहिलो नेपाली महिला हुन् । उनले भारतसहित चार देशका खेलाडीलाई हराएर ६३ केजीमुनि स्वार्ण् कब्जा गरेकी थिइन् । हंगेरी ओपनमा कांस्य पनि हात पारेकी उनले जुनियर प्रतियोगितामा एक-एक स्वर्ण, रजत र कांस्य पनि हात पारेकी थिइन् ।
रुकुमकी नीमाले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै सागमा थाउलोको नानछ्वान अलराउन्ड स्पर्धामा कुल १६.८९ अंकसहित स्वर्ण हात पारेकी थिइन् । नेपाललाई १२ औं सागमा स्वर्ण दिलाउने उनी पहिलो हुन् । लन्डनमा प्रशिक्ष्ाण गरिरहेकी १३ बषर्ीय गौरिकाले सागमा ऐतिहासिक १ रजत र ३ कांस्य जितेकी थिइन् । उनी सागकेा पौडीमा पदक जित्ने पहिलो नेपाली हुन् । २०७२ सालका ५ प्रतियोगितामा २२ राष्ट्रिय कीर्तिमान बनाएकी उनी रियो ओलम्पिकलाई पनि छनोट भएकी छिन् ।
सागमा पहिलोपल्ट ट्रायथलनसमावेश हुदा रोजाले व्यक्तिगत स्पर्धामा कांस्य र मिक्स टिम रिलेमा रजत हात पारेकी थिइन् । पहिलोपल्ट नेपालको प्रतिनिधित्व गर्ने मौका पाएकी रेजिनाले ४६ केजीमुनि पाकिस्तानी खेलाडीसँग सडनडेथमा चुकेपछि रजतमा रोकिएकी थिइन् ।
उत्कृष्ट
नीमा र गौरिकासँगै १२ औं सागकै रजत पदक विजेता जुडोकी मनीता श्रेष्ठ प्रधान, उदीयमान क्रिकेटर सन्दीप लामिछाने र फुटबलर अन्जन विष्ट उत्कृष्ट युवा खेलाडीको मनोनयनमा छन् ।
१७ बर्षीय सन्दीपले आईसीसी यू १९ विश्वकपका ६ खेलमा १४ विकेट लिदै नेपाललाई क्वाटरफाइनल पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने दोस्रो खेलाडी रहेका उनले लिग चरणमा आयरल्याण्डसँग ह्याटि्रकसहित ५ विकेट लिएका थिए ।
पाम (बन्दी सहायता नियोग) मा हुर्किएकी १७ बर्षीय मनीताले ५७ केजीमुनि तीन खेलाडीलाई हराएर पहिलो अन्तर्राष्ट्रिय सहभागितामै सागमा रजत जितेकी थिइन् । १८ बषर्ीय अन्जनले बंगबन्धु गोल्डकपको फाइनलमा बहराइन यू २३ विरुद्ध १ गोल गरेका थिए भने प्रतियोगिता दुई गोलको अवसर सिर्जना गरे । सागमा २ गोल गरेका उनले प्रथम साफ यू १९ मा नेपालको च्याम्पियन यात्रामा ३ गोल गरेका थिए ।
प्रशिक्षक
बंगबन्धु गोल्डकप च्याम्पियन बालगोपाल महर्जन, १२ औं सागमा नेपाल यू-२३ टिमलाई स्वर्ण दिलाएका राजुकाजी शाक्यसहित सागमा उसुको थाउलोतर्फका प्रकाश महर्जन, जुडोमा महिला टिम सम्हालेका दलबहादुर गुरुङ र यू-१९ क्रिकेट टिम सम्हालेका जगत टमाटा उत्कृष्ट प्रशिक्षकको मनोनयन परे ।
थाउलोमा सहभागि सहभागि सात खेलाडीले नेपाललाई सागमा एक स्वर्ण र ६ रजत दिलाएको थियो । नीमा पनि उनकै चेली हुन् । महिला खेलाडीले सागको जुडोमा १ स्वर्ण २ रजत र ३ कांस्य हात पारेको थियो । २३ बर्षपछि दक्षिण एसियाली खेलकुदमा नेपाली फुटबल टिमलाई स्वर्ण जिताएका राजुकाजीले सम्हालेको मनाङमस्र्याङदी राष्ट्रिय लिगमा तेस्रो भएको थियो ।
हाल बंगलादेशको पहिलो डिभिजनको क्लब ब्रदर्श युनियन सम्हालीरहेका बालगोपालले तत्कालीन एन्फा अध्यक्ष गणेश थापामाथि प्रतिबन्ध, खेल मिलेमतो प्रकरण र प्रशिक्षक विवादवीच नेपाललाई बंगबन्धु गोल्डकप च्याम्पियन बनाएका थिए । उनले सम्हलो नेपाली टिम नै साफ यू १९ च्याम्पियन भएको थियो । राष्ट्रिय क्रिकेट टिमको पनि मुख्य प्रशिक्षक रहेका टमाटाले यू १९ विश्वकपको छनोट र एसीसी यू-१९ एलिटमा नेपाललाई उपविजेता बनाएका थिए । यू १९ विश्वकपमा सनसनीपूर्ण खेल्दै क्वाटरफाइनल पुगेको नेपाली युवा टिम पनि उनले नै सम्हालेका थिए ।