‘ब्रासलेट’ का गीत र ट्रेलर रिलिज



असार २४, २०७३- नायकको रूपमा एकताका लाइमलाइटमा रहेका रमेश उप्रेती करिअर छोडेर एकाएक अमेरिका पुगेर उतै बस्न थाले । त्यसपछि स्वदेशी फिल्ममा धेरै नयाँ नायकहरूको आगमन भयो ।

त्यही आगमनमा यतिबेला रमेश पनि थपिए । फिल्म ‘ब्रासलेट’ लाई उनको कमब्याक भनिएको छ । गत बुधबार सार्वजनिक गरिएको ट्रेलरमा यसलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ । निर्मल शर्मा निर्देशित ‘ब्रासलेट’ को निर्माता भने केशव भट्टराई हुन् । फिल्ममा रमेशले रजनी केसी र नम्रता सापकोटासँग जोडीका रूपमा अभिनय गरेका छन् ।

‘फिल्ममा सस्पेन्स, थ्रिल, एक्सन र ड्रामा सबै कुरा छ,’ ट्रेलर रिलिज कार्यक्रममा फिल्मबारे निर्देशक शर्माले भने, ‘एउटी नारीले आफ्नो पतिबीच आईपर्ने बाधा, अवरोधलाई कसरी ट्याकल गर्छे भन्ने पनि देखाउँछ । फिल्म पूर्णत: मनोरञ्जनात्मक हो ।’

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सूचना तथा सञ्चारमन्त्री शेरधन राईले फिल्मको सफलताको कामना गर्दै समग्र फिल्म क्षेत्रमा पनि केही गर्नुपर्ने उल्लेख गरे । ‘अब यो क्षेत्रमा केही गर्नुपर्छ । तपाईंहरूबाट ठोस सुझाव, प्रस्ताव र कार्यक्रमको अपेक्षा राखेका छौं । विभागीय मन्त्रीको हैसियतले अब छिटै केही योजना, नीति र कार्यक्रमको साथमा आउनेछु,’ मन्त्री राईले भने ।

भदौ १७ देखि देशव्यापी प्रदर्शन थाल्न लागेको ‘ब्रासलेट’ लाई सुदीप बरालले खिचेका हुन् भने हिमाल केसीको द्वन्द्व र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । फिल्मलाई विपीन मल्लले सम्पादन गरेका हुन् ।


Don't Forget To Join US Our Community