प्रधानमन्त्रीले भने, ‘धेरै माला र खादा चाहिँदैन, नमस्कार गरे भैगो नि’



असार २९, २०७३- त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको सभाले ८३ हजार ४ सय २५ विद्यार्थी ५४औं ग्रेस लिस्ट पारित गरेको छ । प्रधानमन्त्रीलाई स्वागतमा कीर्तिपुरस्थित त्रिवि स्मृति हल बाहिर लामवद्ध भएर त्रिविका उपकुलपति प्राध्यापक तीर्थराज खनिया, शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठी, रजिस्ट्रार डिल्लीराम उप्रेतीलगायत डीनहरु, विभागीय प्रमुखहरु तथा कर्मचारीहरु हात–हातमा फूलगुच्छा लिएर उभिएका थिए । प्रधानमन्त्रीले आफ्नो स्वागतलगत्तै राष्ट्रिय झण्डोत्तोलन तथा राष्ट्रियगान गाइएको थियो भने त्यसलगत्तै त्रिविको झण्डोत्तोलन गरेका थिए । उक्त स्वागतको परम्परागत ढाँचाप्रति प्रधानमन्त्रीले सभा विसर्जनको घोषणालगत्तै सबैलाई सम्झाएका थिए ।

मलाई एउटा कुरा भन्नु छ । कुनै पनि सभामा प्रमुख अतिथि, अतिथि बोलाइन्छन् । स्वागतका निम्ति फूलगुच्छा चाहिन्छ । एउटा फूलगुच्छा भएपुग्छ । धेरैवटा माला, धेरैवटा खादा आवश्यक छैन । एकजना जो अगाडि हुन्छ । उसले एउटा पुष्पगुच्छा दिने र बाँकीले नमस्कार गरे पुग्यो । धेरै खर्च किन गर्नुपर्‍यो ?

त्यस कारण मेरो विचारमा पुरानो ढाँचा छोडेर नयाँ ढाँचामा एउटा पुष्पगुच्छाले एकजनाले स्वागत गरे पुग्छ । त्यो युनिभर्सिटीले नै गरेको हो नि । त्यसकारण यसलाई अलिकति अगाडि लैजाऊँ भन्ने लाग्छ । (शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले भनिन्– म यो कुराको समर्थन गर्छु । ओलीले पनि तत्कालै जवाफ फर्काए, ‘थ्यांक यू’ ।)

हामी यो पुरानो तरिकाबाट पुष्पगुच्छा किन्ने । खर्च गर्ने । ओसार्ने । ल्याउने । लाने गर्छौं । प्रमुख अतिथिले छुन्छ मात्रै । त्यसैले एउटामात्रै दिए भयो नि त विश्वविद्यालयले । यो अभ्यास अन्यत्र पनि लागू गर्न जरुरी छ ।

अर्कोचाहिं मोहनदास करमचन्द गान्धीले स्वदेशमै कपडा बुनेर लगाउने भने । सधै चर्खा कातेर भारतभरिका मान्छेलाई कपडा पुर्‍याएका थिएनन् । तर केही कार्यक्रममा जाँदा चर्खा बोकेर जान्थे । चटाइ ओछ्याएर चर्खामा धागो ख्यारख्यार पारिहाल्थे । त्यसले एउटा राष्ट्रिय भावना जगाउँथ्यो । उहाँले विदेश कपडा नलगाउने, विदेशी उत्पादन नखाने, आफ्नो उत्पादनमा निरभर रहन भनेका थिए ।

हामीले आफ्नो नेपाली उत्पादनहरु आफ्नो खाना, नाना पाएसम्म प्रयोग गरौं । अथवा खादा प्रयोग गर्ने हो भने आफ्नो उत्पादन प्रयोग गरौं । तर यो केमिकलजस्तो खादा न डढ्छ न सड्छ । प्रयोग नगरौं । यो प्लास्टिक जस्तो छ । स्वास्थ्यको लागि हानिकारक छ । त्यसको प्रयोग प्रोत्साहित नगरौं । फेरि त्यसमा बुट्टाबुट्टामा के के लेखिएको हुन्छ । हामी बुझ्दैनौं । त्यसकारण एउटा खादाको सट्टा एउटा फूल दिए पुग्छ ।

मेरा आग्रह प्रदूषित चिजहरु जुन सड्दैन त्यो प्रयोग नगरौं । मैले यत्तिमात्र भनेको हुँ । हाम्रो ढाँचा, हाम्रो लाईन अफ् थिंकिङ बदलौं ।

अमेरिकामा राष्ट्रपति जाँदा खुबै भए एउटा फूलको गुच्छा दिइन्छ । वस त्यतिले स्वागत भयो । लाइन बसेर फूलको गुच्छा दिनु अव्यवहारिक हो । (उतिखेर प्रधानमन्त्रीको संभाषणलाई त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राध्याध्यापक चिरिकशोभा ताम्राकारले स्वागत गरेकी थिइन् ।)




Don't Forget To Join US Our Community