देउवालाई समर्थन गन सक्छुः ओली


चिरञ्जीवी ढुंगाना
काठमाडौं: प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समर्थन गर्न सकिने बताएका छन् । एमाले उच्च स्रोतका अनुसार देउवासँग ओलीले बुधबार फोनसंवादमा भनेका छन्, ‘देउवाजी तपाईंलाई समर्थन गर्न सक्छु ।'
देउवाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्ने वचन दिइसकेकाले अहिलेलाई केही गर्न नसक्ने उत्तर दिएका थिए । ओलीले बिहान देउवासँग फोनमा कुरा गरेका थिए । स्रोतका अनुसार देउवाले ‘ओलीले मंगलबार रातिसम्म त्यस्तो प्रस्ताव राख्नुपथ्र्यो, अब ढिलो भयो' भनेका थिए ।
एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमले मंगलबार ओलीलाई माओवादी केन्द्रले सरकारबाट आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको अवस्थामा प्रधानमन्त्रीबाट राजीनामा गर्न आग्रह गरेका थिए । उनीहरूले ओलीसँग देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न तत्काल प्रस्ताव गर्न आग्रह गरेको एमाले उच्च स्रोतले बतायो ।
ओलीले आफ्ना गुटका केही नेताको परामर्शमा कांग्रेस र माओवादीबाट आउने कुनै पनि चुनौतीको सामना गर्ने अडान राख्दै सोहीअनुसार स्थायी समितिमा समेत निर्णय गराएका थिए । एमाले वरिष्ठ नेता नेपालले देउवासँग मंगलबार राति टेलिफोन गरी नेतृत्व लिइदिन आग्रह गरे पनि उनले अस्वीकार गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले भने ओली सरकारविरुद्ध आएको अविश्वास प्रस्ताव एकमतले फेस गर्ने निष्कर्ष निकालेको छ । राप्रपा नेपाल संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले भने, ‘सरकारविरुद्ध आएको अविश्वास प्रस्तावको फेस नगरी सत्ता स्वार्थमा हिँड्नु राजनीतिक बेइमानी हुनेछ ।'


Don't Forget To Join US Our Community