
असार ३०, २०७३- नेपालमा सरकार परिवर्तनको प्रक्रिया चलिरहेको समयमा भारतले भावी कांग्रेस–माओवादी गठबन्धनलाई स्थायित्व दिनुपर्ने, द्विपक्षीय सम्बन्धमा सुधार गर्नुपर्ने र नेपालमा संविधान कार्यान्वयन हुनुपर्ने भन्दै तीन तहको चुनावमा ध्यान केन्द्रित गर्न सुझाव दिएको छ ।
दलहरूले भर्खरै सरकार परिवर्तनको प्रक्रिया सुरु गरेकाले त्यसबारेमा औपचारिक प्रतिक्रिया दिनु अपरिपक्व भए पनि सुभेच्छा दिने चाहना भारतीय पक्षले प्रकट गरेको हो । एक उच्च भारतीय अधिकारीले आफूहरूको धारणा सधैं स्पष्ट रहेको बताए ।
‘नेपालमा बढेको भारतविरोधी भावना कम होस्, मधेसी समस्याको समाधान होस् र समयमा नै निर्वाचन होस् भन्ने हाम्रो चाहना हो,’ ती अधिकारीले भने । उनले नेपालमा भइरहेको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको समेत बताए । पहाडमा मात्रै होइन मधेसमा समेत भारतविरोधी भावना बढेको र त्यसमा वर्तमान सरकारमा रहेका पार्टीहरू जिम्मेवार रहेको भारतीय पक्षको धारणा छ ।
ती अधिकारीले यस अगाडि तत्कालीन माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले भारतलाई दोष देखाएर राजीनामा दिए पनि यस पटक उनलाई प्रधानमन्त्री बनाउने मामिलामा भारतको कुनै रिजर्भेसन नरहेको बताए ।
‘नेपाली जनता र संसदले बनाएको प्रधानमन्त्रीलाई हामी स्वागत गर्छांै, खालि हाम्रो चाहना भनेको दुई देशको बीचको सम्बन्ध राम्रो होस् भन्ने हो,’ ती अधिकारीले भने । उनले ओली सरकार गठनपछि केही असमझदारी रहे पनि पछिल्लो समयमा थुप्रै दुईपक्षीय बैठक भएको र त्यसले सम्बन्धलाई राम्रो दिशामा अगाडि बढाएको बताए । गत वर्ष संविधान जारी भएपछि मधेसवादी दलले गरेको नाका अवरोधलाई नाकाबन्दीको संज्ञा दिएर नेपालका केही शक्ति जबर्जस्ती भारतविरोधी भावना फैलाउन लागेको भारतीय निष्कर्ष छ ।
केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा पूर्वभारतीय विदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरणले नेपालमा भारतविरोधी भावना बढेपनि भारतमा नेपालविरोधी भावना नबढेको बताएका थिए ।
भारतीय जनता पार्टीका नेता तथा परराष्ट्र मामिलाका पूर्वप्रमुख एनएन झाले भारतको चाहना जहिले पनि नेपालमा स्थायित्व हुनुपर्छ भन्ने रहेको बताए । ‘वर्तमान प्रधानमन्त्री केपी ओलीले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नभन्दा चीनतर्फ बढी जोड दिएको देखियो,’ उनले भने, ‘नयाँ गठबन्धन र भारतको बीचमा राम्रो सम्बन्ध हुनुपर्छ ।’
नेपाल मामिलाका जानकार एसडी मुनिले पनि माओवादी र कांग्रेसको गठबन्धन स्थायी हुनुपर्ने बताए । ‘यो गठबन्धनको स्थायित्व र विश्वसनीयताले नेपाललाई स्थायित्व र विकासतर्फ लैजान सक्छ,’ उनले भने । मुनिले नेपालको अहिलेको तरल अवस्था हिन्दुवादी तत्त्वहरूले हिन्दुराष्ट्र र राजतन्त्रको एजेन्डालाई जोड दिन नहुने बताए ।