
असार २५, २०७३- फिल्म संख्या र सफलतालाई आधार मान्दा दयाहाङ राई यो समय अभिनेताको लहरमा अग्रपंक्तिमा छन् । यही वर्ष उनले ‘कबड्डी कबड्डी’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड चुमे । योसहित राष्ट्रिय अवार्डमा ह्याट्रिक गरेका छन् । अघिल्लो वर्ष ‘सम्बोधन’ बाट उत्कृष्ट अभिनेता र सन् २००९ मा ‘दासढुंगा’बाट उत्कृष्ट सह–अभिनेताको अवार्डमा यही विधामा कब्जा जमाएका थिए । थिएटरबाट सिनेमाका सहायक भूमिका हुँदै मुख्य भूमिकामा दरिलो पकड जमाइरहेका यी अभिनेतासँग अवार्ड, करिअर र आगामी योजनाबारे गौकर्ण गौतमले गरेको कुराकानी:
राष्ट्रिय अवार्डमा ह्याट्रिक गर्दाको अनुभव कस्तो रह्यो ?
तीनैपटक भिन्न अनुभूति भयो । ‘दासढुंगा’बाट पाएको अवार्ड मेरो करिअरकै पहिलो भएकाले अति खुसी थिएँ । तर त्यसपछिका प्रतिक्रियाले हतोसाहितजस्तो भएँ । त्यति बेला एमालेको सरकार थियो, दासढुंगा एमालेकै फिल्म भएकाले सेटिङ गरेर अवार्ड पाएको तिखो आरोप खेप्नुपर्यो । यो हल्ला आमदर्शकसम्म पुग्यो/पुगेन, थाहा छैन । तर, कतिले त मेरै सामुन्ने भने । त्यसपछि नै हो, मलाई अवार्डप्रतिको मोह हराएको । पाउनुभन्दा नपाउनु नै ठीक । नपाउँदा सहानुभूति पाइन्छ, पाउँदा गाली मात्र । अघिल्लो वर्ष ‘सम्बोधन’बाट पाएँ, त्यस्तै खल्लो अनुभव भयो । निर्माता कांग्रेसी थिए रे । सरकार पनि कांग्रेसको । फेरि पनि सेटिङ गरेरै अवार्ड दिइएको रे । तर यसपटक त्यस्तो केही सुनेको छैन । खुसी लागेको छ ।
यसपटक पनि सञ्चारमन्त्री शेरधन राई, तपाईंकै गृहजिल्लाबासी र चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई । यही गृहजिल्ला र ‘राई कनेक्सन’ले दयाराई राईलाई अवार्ड दिइएको भन्छन् नि ?
त्यसरी हेर्ने हो भने यसअगाडिका अवार्ड पनि सेटिङ नै हो त ? मानौं रे, यसपटक त राई–राई रहेछन् र मैले पाएँ । अगाडि क्षत्री वा अरू कोही थिए होलान्, सबै कनेक्सनले काम गरेको भन्न मिल्छ ? राईहरूको भित्री अध्ययन गरिंदैन । डल्लै हेरिन्छ । सांस्कृतिक रूपमा नबुझिएको कुरा यो हो कि राई एउटा समुदाय मात्र हो, त्यहाँ नातावाद र कृपावाद हेरिंदैन । हावाको भरमा लगाइएको आरोप हो यो ।
स्वमूल्यांकन गर्दा उत्कृष्ट अभिनेताका लागि कतिको लायक छुजस्तो लाग्छ ?
‘कबड्डी कबड्डी’मा हाम्रो समाजमा भएको तर कहीं कतै स्थापित गर्न नसकिएको चरित्र जन्मायौं । अनि त्यसलाई मैले इमानदारीसाथ निभाएको छु । त्यसको जीवन दर्शनलाई मारेको छैन । त्यसैले म योग्य थिएँ ।
यो अवार्डले के जिम्मेवारीबोध भएको छ ?
अभिनेताका रूपमा पर्दामा नअटाइएका, हेपिएका वा बेवास्ता गरिएका पात्रलाई निर्माण गर्छु र आम दर्शकसम्म पुर्याउँछु ।
तपाईंलाई फिल्म व्यावसायिक रूपमा हिट हुँदा बढी खुसी मिल्छ कि सकारात्मक टिप्पणी र अवार्ड पाउँदा ?
पहिलो त रिलिज भएपछि कस्तो प्रतिक्रिया आउँछ भन्ने नै हो । त्यसमा पनि कमर्सियल रूपमा हिट भयो भने खुसीको ग्राफ बढ्ने भइहाल्यो, किनभने मलाई लगानी गर्ने मान्छे बाँच्छ । अवार्डले चाहिँ सम्मान र हौसला दिन्छ ।
लुटपछि तपाईंप्रतिको अपेक्षा एकाध फिल्मबाहेकले पूरा नगरेको गुनासो सुनिन्छ । कतिपयले त ‘पाए जति सबै फिल्म खेलेर दयाहाङ राजेश हमालपथमा हिँड्न लाग्यो’ भन्ने आरोप पनि लगाउन थालिसकेका छन् । तपाईंलाई के लाग्छ ?
यसलाई म सही रूपमै लिन्छु । अपेक्षा र बुझाइको अन्तर हो यो । म चरित्रलाई जहिल्यै न्याय गर्न खोज्छु । चरित्रले के भन्न खोजेको स्पष्टसँग भन्छु । कुनै चरित्र एक–दुई सिनका लागि मात्र जन्मिएको छ भने त्यसलाई पर्दामा ल्याउन हिच्किचाहट गर्दिनँ । यो भन्दिनँ कि लिड रोल गरिसकेको छु, सानो चरित्र खेल्दिनँ । आमदर्शकले चाहिं जहिल्यै हिट सिनेमा दिओस् भन्ने अपेक्षा राख्दा रहेछन् । जबकि मेरो लोभ समाजमा कहीं न कहीं लुकेर बसेका पात्रलाई बचाउनतिर छ ।
भनेपछि तपाईंले जति पनि फिल्म खेल्नुभएको छ, एकदमै सही छ ?
मैले कुनै चरित्रका लागि काम गरेको छु, कुनै कथाका लागि मात्र । तर समस्या के भइदियो भने अधिकांश चरित्र निर्माता/निर्देशकले मलाई पूर्वाग्रह राखेर दिएका छन् । अलि हसाउँछ र दर्शकको ध्यान तान्छ भन्ने लोभले । कतिले त मैले खेलें भने मेरो चरित्र बढाएर अरूको माइनस गर्छुसमेत भन्छन् । यस्तो कुराको कामै छैन ।
निर्माता–निर्देशक र दर्शकको यो अपेक्षा सम्पत्तिजस्तो लाग्छ कि अनावश्यक चुनौती ?
नि:सन्देह अनावश्यक चुनौती नै हो । यति चर्को दबाब आउन थालेको छ कि इच्छाएको विपरीत काम गर्न पनि म विवश हुन्छु कहिलेकाहीं । ‘तपाईंकै लागि सिनेमा बनाउन लागेको हो, तपाईंले खेल्नुभएन भने पैसै उठ्दैन’ सम्म भन्छन् । यो एकदमै गलत हो ।
‘लुट’ अगाडि तपाईं निर्माता–निर्देशकको रोजाइमा पर्नुहुँदैनथ्यो । बल्ल–बल्ल पाएको भूमिका पनि सहायक र कामकाजी मात्र हुन्थ्यो तर, आज तपाईंकै खातिर लाखौं लगानी आइरहेको छ । यसलाई दबाब भन्ने कि सफलता ?
बडो भावुक कुरा हो यो । यसमा शंकै छैन, यो सफलता हो । तर मेरो बुझाइ र उहाँ (फिल्ममेकर) हरूको बुझाइमा अन्तर छ क्या । मलाई समाजका मसिना घटनाबाट प्रभावित भएका कथा औधि मन पर्छ, विशेषगरी सोसल ड्रामा । अझ सिनेमा सौन्दर्यले अझैं किनारामा पारेका अति सामान्य पात्रलाई प्रेम गर्छु । तिनका जीवनशैली र कथा भन्न लालायित छु । तर यहाँ कमर्सियल बनाउने नाममा नानाभाँती कुरा गरिन्छ र समस्या जन्मन्छ ।
तपाईंको आगमनपश्चात् नायक वा हिरोप्रतिको आमधारणा र बुझाइमा कत्तिको व्यावहारिक अन्तर पाउनुहुन्छ ?
म मेरो बलबुताले मात्र होइन, समाजको चेतनाले यहाँसम्म आइपुगेको हुँ । ०६२/०६३ अगाडि हुँदो हो त, सायदै सम्भव थियो । बिस्तारै–बिस्तारै मजस्ता हेर्दा ‘हिरो’ नलाग्ने कलाकार र हामीले निर्वाह गर्ने सामान्य पात्रलाई रुचाउन थालिएको छ । यसमा म वा अरू कुनै अमूक व्यक्तिको मात्र योगदान छैन । बरु हामीलाई चेतनाको स्थापित वा सांकेतिक रूप मान्न सकिएला ।
फिल्मबाट प्रस्ताव आउँदा निर्देशक, ब्यानर, कथा, चरित्र र सँगै पारिश्रमिक जोडिन्छ । केलाई प्रधान मानेर फिल्म रोज्नुहुन्छ ?
अहिले हामी निकै दोधारको समयमा बाँचिरहेका छौं, पेन्डुलमजस्तो । साँचो कथा र चरित्र निर्माण गर्न सकिएको छैन । त्यसैले कथा र त्यसमा आफ्नो चरित्र कसरी बाँचिरहेको छ, त्यो हेर्छु । त्यसपछि निर्देशकको सोच र उसको क्रियटिभ टिमलाई प्रधान मान्छु, त्यो भनेको ब्यानर होइन । अब पैसा त जहिले पनि अति आवश्यक फ्याक्टर भइहाल्यो ।
पैसाको कुरा निस्कियो । अहिले यति ‘लाइमलाइट’मा हुनुहुन्छ । तपाईंलाई खेलाउन निर्माताले कति खर्चनुपर्छ ?
ठ्याक्कै त कसरी भनूँ र † सरसर्ती हिसाब गर्दा मैले लिइरहेको पारिश्रमिक फिल्मको कुल बजेटको १० देखि १५ प्रतिशत हुँदोरहेछ ।
तपाईं आजकल पैसाभन्दा पनि सेयर र विभिन्न राइट माग्नुहुन्छ हैन ?
माग्ने होइन, मलाई दिन्छन् । तर म त्यो लफडा गर्दिनँ । मैले राइट लिएर काम गर्ने भनेको षट्कोण र ब्ल्याकहर्स ब्यानरसँग मात्र हो ।
थिएटरबाट अरू प्रतिभावान कलाकारको प्रवेश भइरहेको छ । अनमोल केसीजस्ता चकलेटी लुक्सका हिरोहरूको क्रेज पनि उत्तिकै बढिरहेको छ । आफ्नो क्रेज कति लामो समयसम्म कायम होलाजस्तो लाग्छ ?
मनकै कुरा भनूँ । बाँचुन्जेल एक्टरको रूपमा काम गर्ने लोभ छ । तर मेरो ‘नलेज ब्याकिङ’ सकिएको छ । कामको हिसाबले भन्दा म थाकिसकें । भनेजस्तो काम गर्न सकिरहेको छैन । त्यसैले ब्रेक चाहिएको छ । रिफ्रेस हुन जरुरी छ । त्यसकै प्रयासस्वरूप अहिले मण्डला थिएटरका नयाँ विद्यार्थीसँग क्लास सेयर गर्छु । व्यावहारिक रूपमा अझ उपयोगी हुन सकेको छैन । मलाई अर्को सत्य के पनि थाहा छ भने, माथि चढेपछि एक दिन झर्नैपर्छ ।
फिल्म निर्देशन गर्ने योजना पनि छ कि ?
जति बेला सिनेमाप्रतिको मोह जागेर म काठमाडौं आएको थिएँ, म कलाकार बन्छु भन्दा मान्छेहरू गिल्ला गर्थे । नजिकका साथीहरू राम्रो अभिनय गर्छस् त भन्थे तर सेटमा पुगेपछि सबै हाँस्थे । त्यसैले निर्देशनतिर रस पस्नु बाध्यता थियो, किनभने फिल्मको भूत त चढि नै सकेको थियो । तर भाग्य भनूँ कि के, अभिनयमै व्यस्त हुन थालियो । तर निर्देशनको चाह हराएको छैन । बरु निर्देशनका लागि अझ तयार भइसकेको छैन भन्ने बोध हुन थालेको छ । जे होस्, कोसिस जारी छ । म मेरै भोगाइका कथाहरू भन्नेछु ।
तपाईंको र नेपाली सिनेमा उद्योगको प्रगतिको गति समान छ कि तपाईं अलि अगाडि पुग्नुभएको छ ?
यतातिर त मेरो कहिल्यै ख्याल पुगेको रहेनछ । तपाईंको प्रश्नले महसुस गर्ने मौका पाएँ । व्यक्तिगत रूपमा हिजो म जे सोच्थें, आज त्यो पाएको छु । यही अनुपातमा नभए पनि सिनेमाप्रतिको मेरो सोचाइ र अपेक्षा धेरै हदसम्म पूरा भएको छ । भलै हामीले हाम्रो सिनेमा कस्तो हुनुपर्छ भन्ने विस्तृत बहस गर्न जरुरी छ ।
अहिलेको हाम्रो सिनेमाको सबल र दुर्बल पक्ष के हो ?
सबल पक्ष चरित्र निर्माण नै हो । तर कथा भन्ने शैलीमा हामी अझ पछाडि छौं ।
तपाईंलाई आफ्नो कत्तिको स्टारडम छ भन्ने लाग्छ ?
छदै छैन । स्टारडम भए पनि धान्नै सक्दिनँ । अरूले मेरो नामका कारण फिल्म बिक्छ भन्छन् तर म विश्वास गर्दिनँ । किनभने सिनेमा राम्रो नभई मेरो नामले मात्र चल्नेवाला छैन ।
संघर्षबाट यहाँसम्म आइपुग्दा सबभन्दा बढी आनन्द केले दिएको छ ?
मैले जो–जोसँग काम गरें, ती सबै मेरो मिल्ने साथी भएका छन् । मेरो सन्तुष्टि यसमै छ ।
एउटा फरक प्रसंग, तपाईं र प्रियकां कार्कीको बढ्दो निकटतालाई लिएर अनेक ‘गसिप’ सुनिन्छ । यथार्थचाहिं के हो ?
सत्य कुरा, हामी क्लोज छौं । हामीलाई सँगै काम गर्ने मौका मिलिरहेको छ । सातवटा सिनेमा गरिसक्यौं । अर्को कुरा, ‘झोले’भन्दा अगाडि मलाई प्रियंकासँग डर लाग्थ्यो किनभने मैले हिरोइन मटिरियल भएको मान्छेसँग पहिलोपटक स्क्रिन सेयर गर्दै थिएँ । तर प्रियंकाले यति सम्मानका साथ मसँग काम गरिन् कि उनीप्रति अति नै सम्मान जाग्यो । उनी पनि मलाई सम्मान गर्छिन् । सिनेमाले नै जोडेको सम्बन्ध हो हाम्रो ।
पारिश्रमिक संयुक्त रूपमा डिल गर्ने, एकअर्कालाई सिफारिस गर्नेदेखि प्रोडक्सन हाउस खोल्ने कुरा नि ?
पारिश्रमिक र रिकमेन्ड गर्ने कुरा एकदमै गलत हो । त्यो हुनै सक्दैन । प्रोडक्सन हाउसको योजनाचाहीं हो । जुन कमर्सियलभन्दा केही च्यारिटी बेसका सिनेमा निर्माणमा केन्द्रित हुनेछ । त्यसको गृहकार्य भइरहेको छ ।