
काठमाडौं: मुलुकमा एउटै एप बनाउन एक करोडभन्दा बढी लगानी हुन थालेको छ । नेपाल कृषि कम्पनीका लागि एफ १ सफ्ट कम्पनीसँग मिलेर बनाइरहेको एपको लागत एकदेखि डेढ करोड रुपैयाँ पर्नेछ । सामान्य एपको लागत २५ हजार रुपैयाँबाट सुरु हुन्छ । यन्त्रीकरणमार्फत खेतीको लागत घटाउने र आधुनिक तौरतरिका प्रयोग गरी मोरङ/सुनसरीमा जमिनको उत्पादकत्व बढाउने अभियानमा लागेका बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले काठमाडौंमै बसेर कार्यक्रमको सुपरीवेक्षण गर्न सक्ने हुन एप बनाउन लगाएका हुन् ।
मोरङ र सुनसरीमा ५० हजार बिघामा आधुनिक प्रविधिको प्रयोग गरी धानबालीमा उत्पादकत्व बढाउन निमार्णाधिन यो एपमार्फत खेतीको व्यवस्थापन गरिनेछ । खेतीकामा जोत्न, धान रोप्न र काट्न र व्यवस्थापनका लागि प्रयोग गरिएका मेसिनलाई सञ्चालन गर्न, कन्ट्रोल गर्न र मेसिनको अवस्था बारे जानकारी लिन एप प्रयोग हुनेछ ।
‘अन्तर्राष्ट्रिय बजारमा एप्सको प्रयोग छ्याप्छ्याप्ती हुन थाले पनि एप्स विकासको क्रम अझै पनि सुरुवातकै चरणमै छ', एप एनाइका अनुसन्धानकर्ता डानिएल लेभिटासले यसरी एप्सको बारेमा भनिरहँदा नेपाली बजारमा भने फरक देखिएको छ ।
आईफोनले ल्याएको एप्सको क्रेज अहिले एन्ड्रोइडमा बढी देखिएको छ । एप एनाइको २०१६ को प्रतिवेदनअनुसार अहिले गुगल प्लेस्टोरमा २२ लाखभन्दा बढी एप्स रहेका छन् भने आईओएमा २० लाख एप्स छ । २०१५ प्रतिवेदनअनुसार विश्वभर एप्सको डाउनलोड संख्या एक खर्ब ११ अर्व २० करोड छ । संख्या सन २०१६ को अन्त्यसम्ममा ३३ प्रतिशतले बढेर एक खर्व ४७ अर्ब तीन करोड पुग्ने एप एनाइको रिर्पोटले जनाएको छ ।
रिपोर्टमा सन् २०२० सम्ममा एप्सको डाउनलो संख्या दुई खर्ब ८४ अर्ब ३० करोड पुग्ने अनुमान गरिएको छ । नेपाली बजारमा पनि करोडौंको संख्यामा एप्सको डाउनलोड गरी प्रयोग भएको सिरान टेक प्रालिका प्रमुख कार्यकारी निर्देशक सजक श्रेष्ठले बताएका छन् । उनका अनुसार नेपालमा निर्माण भएको एप्सको संख्या अहिले १५ देखि २० लाख पुगिसकेको छ । ‘सबैभन्दा बढी प्रयोग हुनेमा ‘हाम्रो पात्रो' र ‘नेपाल लोडसेडिङ' एप छ', श्रेष्ठले थपे । नेपालमा सबैभन्दा बढी प्रयोग हुने एप्समा भने पहिलो ‘फेसुबक म्यासेन्जर' र दोस्रो ‘फेसबुक' रहेको छ ।
पछिल्लो समय सबैजसो कर्पोरेट हाउस एप निमार्णमा तातिएका छन् । ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्नका साथै हाउस/प्रडक्टको ब्रान्डिङका लागि एपको निमार्ण गर्ने चलन बढेको छ । व्यापार विस्तार गर्नु छ भने एप नबनाई नहुने समय आइसकेको छ । सन २०१४ यता एप्समा समय बिताउने क्रम ६४ प्रतिशतले बढेको छ ।
अहिले नेपालमा भएका बैंक मध्ये ९० प्रतिशतले आफ्नै बैंकिङ एपको निमार्ण गरिसकेका छन् । बा“की बैंक एप बनाउँदैछन् । श्रेष्ठका अनुसार नेपालका बनेका एप्स बढी बिजनेस प्रयोजनका छन् । बिजनेस प्रयोजनका लागि निमार्ण भएका एप्समार्फत नेपालमा महिनामा कम्तीमा एउटा एप्सले २५ हजारदेखि १० लाखसम्म आम्दानी गर्ने गरेको श्रेष्ठले थपे ।
तर, विश्व बजारमा रहेको एप्स बजारमा एसको प्रयोग र एसबाट हुने आम्दानी ठूलो रहेको छ । एप्समार्फत सन २०१५ मा ४१ अर्ब १० करोड डलर आम्दानी भएको भने यो क्रममा २४ प्रतिशतले बढेर सन २०१६ को पहिलो महिनामा ५० अर्ब ९० करोड आम्दानी भएको युनिभर्ससीटी अफ बर्गिमहममा एट अलबामाको बिजनेस प्रोग्रामको रिपोर्टले देखाएको छ ।
खेतीकामा जोत्न, धान रोप्न र काट्न र व्यवस्थापनका लागि प्रयोग गरिएका मेसिनलाई सञ्चालन गर्न, कन्ट्रोल गर्न र मेसिनको अवस्थाबारे जानकारी लिन एप प्रयोग हुनेछ ।
‘एपमार्फत नेपालमा पनि करोडौंको आम्दानी गर्ने सम्बभावना रहेको फ्टनेप प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल रिजालले बताएका छन् । तर, नेपालमा भएको नीतिगत समस्याले सम्भव नभएको उनले बताए । उनका अनुसार मुलुक बाहिर पैसा पठाउने राष्ट्र बैंकको नियम नहुँदा नेपालमा पेड एपको विकास हुन सकेको छैन भने निमार्ण भएको एप्समा पनि पूर्णरूपमा प्रयोग हुन सकेको छैन ।
हजारौंको संख्यामा मानिसलाई रोजगारीको अवसर प्रदान गर्दै आएको यो सेक्टरको विकासका लागि राष्ट्र बैंकले जति सक्दो नीतिगत सुधार गर्नु पर्ने व्यावसायीको माग छ । सजक श्रेष्ठका अनुसार राष्ट्रबैंकले नेपालमा पे–पालमार्फत बाहिर पैसा पठाउन मिल्ने नीतिको निर्माण हुने क्रममा छ । यसले एप्स निमार्णको क्रम अझ तीव्रगतिमा बढ्ने उनको अनुमान छ ।
एफ– १ सफ्ट कम्पनीका कार्यकारी निर्देशक सुवास शर्माका अनुसार मुलुकमा अहिले एप्समार्फत आम्दानी गर्ने भनेको गुगल एड र एप्समार्फत गरिने कारोबार जस्तै ‘इ–सेवा' हो । तर, राष्ट्र बैंकले बाहिर पैसा पठाउन पाउने नीति ल्याए एपको बजार झन तीव्र हुनेछ । पछिल्लो समय बढ्दो स्मार्टफोनको प्रयोगले ग्रामीण भेगमा पनि एपको प्रयोग बढ्दो छ ।
एपमार्फत सहजरूपमा कुनै पनि प्रोग्राम प्रयोग गर्न सकिने भएकाले युवामा मात्र नभएर बृद्धबृद्धाले पनि एपको प्रयोग गर्ने थालेका छन् । ग्रामीण भेगमा प्रयोग हुने एपमा फेसबुक र भाइबर अग्रपंक्तिमा छ । एप्सको बढ्दो प्रयोग र यसप्रतिको आकर्षणले अबको छोटो समयमा नेपालका प्रत्येक कर्पोरेट हाउसले आफ्नै एप निमार्ण गरिसक्ने उनको अनुमान छ ।