
गुरुङ फिल्मका निर्देशक वेदबहादुर गुरुङ श्यामले २०५२ मा अभिनय गरेको गुरुङ फिल्म ‘न्हाम्स्यो न्होँरी’ (कुहिरी भित्र) निर्माण हुँदा जम्मा एक लाख रुपैयाँ खर्च भएको थियो । त्यतिबेला कलाकारलाई पारिश्रमिक दिनुपर्ने थिएन । आफैं क्यामेराम्यान, निर्देशक, निर्माता हुन्थे । लाइटको पनि प्रयोग हुने थिएन । तिनै श्यामले अहिले निर्देशन गरेको ‘युम्पो देउराली’ (ढुंगे देउराली) २० लाख रुपैयाँमा सकियो । यही फिल्मले यस वर्ष आदिवासी जनजातितर्फ राष्ट्रिय चलचित्र पुरस्कार पनि हात पार्यो ।
गुरुङ फिल्मले ठूलो फडको मारेको दाबी गर्ने श्याम अहिले गुरुङ फिल्म एसोसिएसन नेपाल (जीफान) का अध्यक्ष पनि छन्, जसका अनुसार सुरुका समय दुईतीन वर्षमा एउटा फिल्म बन्ने गरेकामा अहिले वार्षिक १५/१६ वटा निर्माण हुने गरेका छन् । १ सय बढी गुरुङ फिल्म निर्माण भइसकेका छन् । ‘सुरुमा सौख र रहरले बनाउन थालेका फिल्म हिजोआज व्यावसायिक रूपमा बनाउन थालिएको छ,’ शनिबार बेंसीसहरमा आयोजित गुरुङ फिल्म एसोसिएसन लमजुङको पहिलो भेलामा उनले भने । उनका अनुसार गुरुङ फिल्मले व्यावसायिक रूप लिएसँगै कलाकार, प्राविधिक, निर्माता, निर्देशक बढेका छन् । यसकारण विदेशमा हङकङ र जापान, स्वदेशमा काठमाडौं र लमजुङमा शाखा गठन गरिएको छ । कास्की शाखा गठनको तयारी गरिएको छ ।
एसोसिएसनका संस्थापक अध्यक्ष माओत्से गुरुङका अनुसार अहिले १५ देखि २० लाखका बीचमा धेरै फिल्म बन्न गरेका छन् । निर्देशक भोजबहादुर गुरुङका अनुसार अहिले सम्पादनमा रहेको ‘मैँरिमो’ (सम्झिरहेछु) १५ लाख रुपैयाँमा निर्माण हुन लागेको छ । उनका अनुसार २०६३ मा ‘सैं न्होर्बे म्रुस्यो’ (हृदयकी रानी) निर्माण गर्दा १० लाख रुपैयाँ खर्च भएको थियो । शंकर गुरुङ (बतासे) ले ‘कर्म क्याँ’ (कर्मको बाटो) १४ लाखमा निर्माण गरेको बताए । निर्देशक सुवास गुरुङका अनुसार भेडीगोठ २० लाख रुपैयाँमा निर्माण हुनेछ । यो फिल्म पनि अहिले सम्पादनमा छ । निर्देशक खुसबहादुर गुरुङले ‘आम्लेब माया’ (नबिर्सने माया) साढे १२ लाख रुपैयाँमा सक्ने लक्ष्य लिएको बताए । लमजुङमा छायांकन भएका यी फिल्मबाहेक कास्की, स्याङ्जालगायत ठाउँमा छायांकन हुने फिल्म पनि १५ लाखदेखि २० लाखसम्म लाग्ने गरेको माओत्सेले बताए । दुई दशकको अवधिमा गुरुङ फिल्मका लागि मात्रै २ करोडभन्दा बढी लगानी भइसकेको चलचित्रका निर्माताहरू बताउँछन् ।