
असार २९, २०७३- आन्दोलनरत मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री केपी ओलीविरुद्ध माओवादी केन्द्र र कांग्रेसले पेस गरेको अविश्वास प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार अपराहन बसेको गठबन्धन आबद्ध २९ घटकको बैठकले उक्त निर्णय गरेको हो ।
बैठक चल्दाचल्दै प्रधानमन्त्री प्रत्यासी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनका प्रस्तावक कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन घटकको समर्थन माग्न पुगेका थिए । रामसपा अध्यक्ष शरतसिंह भण्डारीका अनुसार दुवै नेताले मधेसी मोर्चा र गठबन्धनको माग सम्बोधन गर्ने विषय आगामी सरकारले पहिलो प्राथमिकता दिने जनाउँदै समर्थनका लागि आग्रह गरे । ‘उहाँहरूले सातबुँदे समझदारीबारे प्रतिबद्धता दोहोर्याउनुभयो । हामीले मोर्चा, गठबन्धनको माग सम्बोधन हुने गरी सीमांकनलगायत विषयमा एजेन्डासहित कुराकानी गर्ने प्रतिबद्धता माग्यौं,’ रामसपा अध्यक्ष भण्डारीले भने, ‘उहाँहरूले माग सम्बोधन गर्ने प्रतिबद्धतासहित चिठी नै दिनुभएको छ ।’
दाहाल र देउवासँगै बैठकमा पुगेका माओवादी नेता जनार्दन शर्माका अनुसार दाहालले ओली नेतृत्वमा संविधान कार्यान्वयन र मधेसको मुद्दा समाधान हुने नदेखेरै विकल्पमा अघि बढेको बताएका थिए । दुवै नेताले दुई दलबीच भएको सातबुँदे समझदारीको पहिलो बुँदामै मधेसका मुद्दा समाधान गर्ने प्रतिबद्धता जनाएको मोर्चा र गठबन्धन नेताहरूलाई जानकारी गराए । १५ मिनेट बसेका दाहाल र देउवा दुवैले गठबन्धनलाई अविश्वास प्रस्तावका पक्षमा उभिन आग्रह गरे । ‘केपी ओलीको नेतृत्वमा बसिरहँदा मधेससँग संवाद हुन सकेन, अब तपार्इंहरूको साथ लिएर म अघि बढ्छु र मुद्दालाई सम्बोधन गर्छु,’ दाहाललाई उद्धृत गर्दै शर्माले भने, ‘हामीले भर्खरै अविश्वासको प्रस्ताव दर्ता गरेका छौं । मधेसको मुद्दा सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्न तपाईंहरूको साथ चाहिएको छ ।’ देउवाले पनि दाहाललाई सघाउन नेताहरूलाई आग्रह गरेका थिए ।
गठबन्धन नेताहरूले ओलीको विकल्पमा जोसुकै आए पनि सरकार गिराउन सघाउने नीतिअन्तर्गत दाहाल र देउवालाई पनि सघाउने जवाफ दिएका थिए । यसअघि असोज २४ गते प्रधानमन्त्री चुनावमा मोर्चाले ओलीविरुद्धका उम्मेदवार सुशील कोइरालाको पक्षमा मतदान गरेको थियो । संसद्मा मोर्चाका ३९ सहित गठबन्धनका ४२ सांसद छन् । तीमध्ये केही सांसद हाल बाहिर रहेकाले उनीहरूलाई तत्काल काठमाडौं फर्कन नेतृत्वले बुधबारै आग्रह गरेको छ ।
ओलीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा समर्थन गर्ने गठबन्धनले बुधबारै विज्ञप्ति प्रकाशन गरी जनाएको छ । गठबन्धनले अविश्वास प्रस्तावमा समर्थनका लागि हस्ताक्षरसमेत बुधबार रातिभित्रै जुटाइसक्ने जानकारी दिएको छ । गठबन्धनले दाहाललाई सघाउने सहमति दिएसँगै माओवादी–कांग्रेस गठबन्धनको पक्षमा ३ सय ३३ सिट जुट्ने पक्का भएको छ । कांग्रेसको २ सय ६ सिट, माओवादीको ८२ सिट, गठबन्धनको ४२ सिट, नेकपा संयुक्तको ३ सिट जोडदा उक्त बहुमत संख्या हुन आउँछ । गठबन्धनले दाहालको सरकारमा भने अहिल्यै जाने कुनै सम्भावना नभएको दोहोर्याएको छ ।
गत वर्ष साउन ३१ देखि मधेसी मोर्चा संघीय प्रदेशको सीमांकनलगायत माग राखेर आन्दोलनमा छ । गठबन्धनको नेतृत्वमा हाल राजधानीमा जेठ २५ यता रिले अनशन चलिरहेको छ ।