गोल्डेन बुट ग्रिजम्यानले पाए, उत्कृष्ट युवा खेलाडी सान्चेस






काठमाडौं । युरो २०१६ को उपाधि भलै घरेलु टोली फ्रान्सले जित्न सकेन तर, उत्कृष्ट खेलाडीको दुई पुरस्कार भने फ्रान्सेली स्टारहरुले पाएका छन् ।

प्रतियोगितामा सर्बाधिक गोल गरेर गोल्डेन बुटको उपाधि एन्टोइन ग्रिजम्यानले पाएका छन् भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्टर दिमित्री पायेत उत्कृष्ट खेलाडी चुनिएका छन् ।

टिममेट ओलिभर जिरोर्ड र पोर्चगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै ग्रिजम्यानले गोल्डेन बुट पाएका हुन् । प्रतियोगितामा उनले सर्बाधिक ६ गोल गरे ।

उनले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा अल्वानियाबिरुद्ध खेलको अन्त्यतिर गोल गर्दै युरोमा गोलको सुरुवात गरेका थिए । एथ्लेटिको मडि्रडका गोलमेसिन उनले नकआउट चरणमा त कमालै गरे ।

प्रतियोगिताको प्रि-क्वार्टरफाइनलमा आयरल्याण्डबिरुद्ध विजयी दुई गोल गरे । त्यस्तै क्वाटरफाइनलमा आइसल्याण्डलाई ५-२ ले हराउँदा उनले आफ्नो गोल ट्यालीमा १ गोल थपे । सेमिफाइनलमा जर्मनबिरुद्ध त उनी नायक नै सावित भए । उनले विश्वविजेता जर्मनलाई सेमिफाइनलबाट घर पठाउने क्रममा २ गोल गरे ।

सन् १९८४ को युरोकपपछि उनी युरोकपमा सबैभन्दा धेरै गोल गर्ने पहिलो खेलाडी पनि बने । फ्रान्सेली टोलीबाटपनि उनले यो कीर्तिमान बनाएका छन् । त्यस युरोमा लेजेण्ड मिचेल प्लाटिनीले ६ खेलमा ९ गोल गरेर कीर्तिमान कायम गरेका थिए । गि्रजम्यानले ७ खेलमा ६ गोल गरे ।

गोल्डेन बुट ग्रहण गरेपछि ग्रिजम्यानले भनेका थिए कि ‘हुनसक्छ भविश्यमा यो उपाधिले मलाई गौरवान्वित बनाउनेछ । तर अहिले यो समूहको लागि हो । यो मेरा टिममेटका लागि निक्कै निराशाजन क्षण हो,’ २५ बर्षीय स्ट्राइकरले भने, ‘वास्तवमा मैले प्रतियोगिताको ट्रफी उनीहरुलाई दिन चाहन्थेँ, तर अपसोच मैले फाइनलमा गोल गर्न सकिनँ ।’

उनले यो फाइनल जीवनकै सबैभन्दा दुःखद क्षण भएको पनि औल्याए । उनले भने, ‘तर हामीले यसबाट सिक्नुपर्छ । तर हामीले यो खेलमा शतप्रतिशत योगदान गरेका हौं ।’

क्रिष्टियानो रोनाल्डोले प्रतियोगितामा ३ गोल र ३ एरिष्ट गरे बापत सिल्भर बुट पाए भने ३ गोल र २ एरिष्ट गरेका फ्रान्सेली स्टार ओलिभर जिरोर्डले ब्रोन्ज बुट पाए ।


Don't Forget To Join US Our Community