के होला एटीएमको भविष्य

काठमाडौं: वाणिज्य बैंकमा स्तरोन्नति भएपछि अरू वाणिज्य बैंकसरह सेवा विस्तार गर्ने योजनामा रहेको कृषि विकास बैंक एटीएमको विस्तार छ्यापछ्याप्ती पार्ने/नपार्ने अन्योलमा छ । यति ढिलो एटीएम विस्तारमा जोड गर्दा यसका प्रयोगकर्ता घट्ने हुन् कि भनेर बैंक अध्ययनकै क्रममा छ ।
‘मोबाइल बैंकिङ र अनलाइन बैंकिङका कारण एटीएम प्रयोग हुने सहरी क्षेत्रमा एटीएमको भविष्य के हुन्छ भन्न सकिने अवस्था छैन’, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लीलाप्रकाश सिटौला भन्छन्, ‘भटाभट एटीएम खोलौंला तर एटीएम बन्द गर्नुपर्ने अवस्था आउने हो कि भनेर अध्ययन भइरहेको छ ।’
एटीएमलाई मोबाइल बैंकिङले विस्थापित नै गर्छ त भन्ने प्रश्न अन्यत्र पनि उब्जिएको छ । मोबाइल बैंकिङले ल्याएको सहजता र समयको बचतले एटीएम र मानिसबीचको ग्यापलाई बढाउँदै गएको छ ।
विश्व बजारमा एटीएम र बैंकको नयाँ शाखा सञ्चालनमा ल्याउने क्रम निरन्तर घट्दो छ । हातमा भएको स्मार्ट फोनबाट बैंकिङ कारोबार गर्न सकिने प्रविधिको विकासले एटीएम प्रणाली विस्थापित नै हुनसक्ने आँकलन विज्ञ तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका छन् । बैंकको कार्डमात्र भए किनमेलका लागि नगद नचाहिने अवस्था छ ।
नेपालमा एटीएम सेवा सुरु भएको धेरै भएको छैन । २०४७ सालमा हिमालयन बैंकले नेपालमा एटीएम भित्र्याएको थियो । यहाँ एटीएमको विस्तार रोकिएको छैन । सँगसँगै ९० प्रतिशत बैंकले मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेका छन् । तैपनि यसको विस्तार क्रमशः घट्दै जाने अनुमान छ । स्मार्ट फोनको बढ्दो प्रयोग र एप्सको विकासले गर्दा कारोबारसमेत मोबाइलमार्फत नै हुन थालेको छ । यसको उत्कृष्ट उदाहरण हो ‘ई सेवा’ ।
यसमार्फत अहिले दैनिक ७ करोड रुपैयाँ ट्रान्सफर हुन्छ । एफ १ सफ्ट कम्पनीका कार्यकारीनिर्देशक सुवास शर्माका अनुसार स्मार्ट फोनमा धेरै काम सम्भव हुन थालेको छ । मोबाइलबाट कारोबार गर्ने क्रम बढ्दो छ । मोबाइल रिचार्जका लागिमात्र दैनिक ८० देखि ९० हजार रुपैयाँ ई सेवामार्फत कारोबार हुन्छ । उनका अनुसार अहिलेसम्म नेपालमा निर्माण भएका मोबाइल बैंकिङ एपले एटीएमलाई नै विस्थापित गर्नसक्ने खालको भइसकेको छैन । ‘तर यो असम्भव भने छैन’, उनले थपे ।
Don't Forget To Join US Our Community