कुखुरा पालेर महिनामा दुई करोड आम्दानी


सिन्धुली: सिन्धुलीका वेरोजगार युवाले कुखुरापालन व्यवसायबाट मासिक दुई करोडभन्दा बढी आम्दानी लिने गरेका छन् । स्वरोजगारको सजिलो बाटो बनेको ब्रोइलर तथा लेयर्स कुखुरा पालन व्यवसायबाट उनीहरूले यस्तो आम्दानी गर्न थालेका हुन् ।
सिन्धुलीमा अहिले करिब एक हजार जनाभन्दा बढी किसान व्यावसायिक रूपमा कुखुरा पालन गर्न थालेका छन् । उनीहरूले जिल्लामै खपत् भएको कुखुराको मासुबाट दुई करोड ६४ लाख रुपैयाँ मासिक आम्दानी गर्ने गरेका हुन् । विदेशमा हन्डर खाएर स्वदेश फर्किएका धेरै जसो युवा कुखुरा पालन व्यवसायमा लागेका छन् ।
लाखौं रुपैयाँ खर्चेर विदेश जाने युवाले भने जस्तो पैसा कमाउन नसके पनि स्वदेशमै लगानी गर्दा मनग्य आम्दानी लिन सकिने भएपछि कुखुरा पालन व्यवसाय सुरु गरेको कमलामाई नगरपालिका नारायण मगरले बताए ।
विदेशमा चार वर्षसम्म बस्दा केही गर्न नसकेपछि गाउँमै फर्केर १५ सय ब्रोइलर पाल्न थालेको उनको भनाइ छ । ‘अहिले सबै खर्च कटाएर मासिक एक लाख रुपैयाँसम्म आम्दानी गर्न थालेको छु । विदेश जाँदा लागेको ऋण तिर्न र घर खर्च चलाउन पुगेको छ' ,उनले भने । गाउँमा उनको जस्ता सयौंका संख्यामा रहेका युवाले दुई सयदेखि दुई हजार वटासम्म ब्रोइलर पाल्न थालेका छन् । थोरै लगानीमा पनि मनग्ये आम्दानी लिन सकिने भएको कारण किसान कुखुरा पालनतर्फ आर्षित भएका हुन् ।
सिन्धुलीमा एक महिनामा कम्तीमा पनि एक लाख २० हजार किलो मासु उत्पादन हुने गरेको कुखुरा पालक कृषक संघ सिन्धुलीकी निरु श्रेष्ठले जानकार दिइन् । अहिले बजारमा प्रतिकिलो तीन सयमा ब्रोइलर कुखुराको मासु बिक्री हुन्छ ।
सिन्धुलीमा मासिक २८ हजार ब्रोइलरको र २५ हजार लेयर्स कुखुराको चल्ला खपत हुने गरेको कमलामाई भेट सप्लायर्सका सञ्चालक ओमप्रकाश श्रेष्ठ वताउँछन् । यो सप्लायर्सबाट मात्र ६ सय जना व्यावसायिकले कुखुराका चल्ला लाने गरेको श्रेष्ठको भनाइ छ ।


Don't Forget To Join US Our Community