सरकारबाट थाकेर जनताको दैलोमा


श्रावण २, २०७३- ‘गुगल ब्वाई’ का रूपमा चिनिएका आदित्य दाहालको नाममा खोलिएको प्रतिष्ठानलाई एक करोड रुपैयाँ आर्थिक सहायता दिने सरकारी निर्णय सुनेपछि ‘नेपाली हयुम्यानिस्ट’ नामका एक फेसबुक प्रयोगकर्ताले वालमा लेखे, ‘पैसा कमाउन सजिलो उपाय बल्ल पाएँ मैले । अबचाहिँ मैले नाम याहु ब्वाई राख्ने भएँ । अन्यथा अन्धविश्वासलाई करोड, महावीर पुनको वैज्ञानिक अनुसन्धान केन्द्रलाई जिरो ? कुन तर्कमा राज्य कोषबाट पैसा वितरण हुन्छ । यदि सरकारले बाँडेको साँच्चै हो भने त्यो निर्णय तुरुन्त फिर्ता होस् ।’

सरकारको यो निर्णयको सामाजिक सञ्जालहरूमा विरोध त भएको छ नै, राष्ट्रिय आविष्कार केन्द्र खोल्न ४ वर्षदेखि सरकारसँग सहयोग मागिरहेका महावीर पुनको कदमको पनि चर्चा सुरु भएको छ । पुन तिनै व्यक्ति हुन्, जसले ग्रामीण भेगमा सूचना प्रविधि पुर्‍याएर अभूतपूर्व परिवर्तन ल्याउन सफल भएकोमा सन् २००७ मा अन्तर्राष्ट्रिय स्तरको रामोन म्यागासेसे पुरस्कार पाएका थिए । सरकारी दैलो धाउँदा पनि सरकारबाट आश्वासनबाहेक केही नपाउने छाँट देखेपछि उनी यतिबेला स्वत:स्फूर्त रूपमा आर्थिक सहायता उठाइरहेका छन् । महावीरले कान्तिपुरसँग कुरा गर्दै भने, ‘गुगल ब्वाईलाई रकम दिन मिल्ने तर मैले अघि सारेको राष्ट्रिय सोचलाई दिन नमिल्ने भन्ने त हुँदैन होला नि ?’

महावीरले राष्ट्रिय आविष्कार केन्द्रको सोच बनाउँदा बाबुराम भट्टराई प्रधानमन्त्री थिएँ । त्यसयताको चार वर्षमा फेरिएका चारै जना प्रधानमन्त्री र अर्थमन्त्रीहरूसँग महावीरले कैयौं पटक भेटिसके । कैयौं पटक आफ्नो सोच र त्यसले देशलाई पुर्‍याउने फाइदाबारे बताइसके । महावीरले सुनाए, ‘बाबुराम, सुशील कोइराला र केपी ओलीलाई तीन–तीन पटक भेटें, खिलराज रेग्मीलाई दुई पटक भेटें । अर्थमन्त्रीहरूलाई त कति पटक भेटें भन्ने गनेर साध्यै छैन ।’ प्रत्येक प्रधानमन्त्री पुनको योजना सुनेर छक्क पर्थे । सबैजसोले उनलाई अघि बढ्न र त्यसमा सरकारले सघाउन पुरै तयार रहेको वाचा गरे । प्रत्येक अर्थमन्त्रीले पुनको योजनाका निम्ति सरकारले आर्थिक सहयोग गर्न पछि नहट्ने वाचा गर्थे । पुन तिनका कुरा पत्याउँथे र केही त होला भन्ने आशा बोकेर फर्किन्थे । पर्खिन्थे ।

महावीरले माओवादीबाट अर्थमन्त्री भएका वर्षमान पुन र कांग्रेसबाट अर्थमन्त्री भएका रामशरण महतलाई सबभन्दा धेरै पटक भेटे । त्यसका अलावा सबैजसो पार्टीका प्रभावशाली नेतालाई समेत भेटेर आफ्ना योजना सुनाए । सबैले भन्थे, ‘गज्जबको कुरा रै’छ । यो राष्ट्रका निम्ति आवश्यक छ । प्रविधिको विकास गर्ने यस्तो कुरामा हामी सहयोग गर्छौं ।’ यसरी वाचा गर्ने सबै नेता र मन्त्रीहरू सरकारमा आउने र जाने भइरहे । उनलाई आश्वासन दिन भने कसैले छाडेनन् । तर प्रक्रियासंगत रूपमा आर्थिक सहायता दिने काम भने कसैले अघि बढाएनन् ।

 महावीरले प्रस्टीकरणको भाषामा भने, ‘यो मेरा निम्ति गर्न लागेको काम हैन । सोचमात्रै मेरो हो । प्रविधिको विकास गरेर देशकै कायापलट गर्ने योजना हो ।’ उनले सरकारले सोझै आर्थिक सहायता दिन सक्दैन भने सफ्ट लोन दिए पनि हुन्छ भन्ने माग राखेका थिए । उनको कुरा सबैले सुने, तर कसैले पूरा गरेनन् । कतिसम्म भने सुशील कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री महतले त यो विषयबारे बजेटमै राखे । तर बजेटमा राखिएको कुरा प्रक्रियागत रूपमा अगाडि नबढदा त्यसै हरायो ।

 नेपाल आविष्कार केन्द्रबारे उनले आफ्नो वेबसाइटमा विस्तृतमा खुलाएका छन् । केन्द्रले नेपालका प्रतिभाशाली युवाले अघि सारेको सोचलाई मूर्तरूप दिन आर्थिक र प्राविधिक सहायता पुर्‍याउँछ । त्यस्तो सोचबाट जन्मेको आविष्कारलाई बजारमा पुर्‍याउँछ र आर्थिक विकासमा टेवा पुर्‍याउँछ । ‘चार/पाँच करोडमा हुने परियोजना भएको भए म सरकारको मुखै ताक्ने थिइनँ,’ उनले सुनाए, ‘देशकै भविष्य कायापलट गर्ने ठूलो परियोजना भएकाले मात्रै सरकारी सहयोग खोजेको हुँ ।’

सरकारी दैला धाउँदा धाउँदै आजित बनेर केही दिनअघि महावीरले फेसबुकमा लेखे, ‘नेपाल सरकारको ढोका छाडेर जनताको घरदैलोमा उपस्थित भएको सूचना ।’ उक्त स्टाटसमा उनले लेखेका छन्, ‘चार वर्षसम्म अथक प्रयास गर्दा पनि केही उपलब्धि नभएपछि दुई हप्तादेखि सरकारी दैलो धाउन छाडें ।’ प्रधानमन्त्री ओलीले प्रत्येक पल्टको भेटमा उनको योजनाको तारिफ गर्थे । ‘तर भनाइ र गराइमा फरक हँुदो रै’छ,’ उनले भने, ‘प्रधानमन्त्रीले चाहेजस्तो देखिए पनि उनका सल्लाहकारहरूले बेइमानी गरे ।’ सरकारले सहायता नदिएकोमा भन्दा चार वर्ष बित्थामा खर्च भएकोमा महावीरको थकथकी छ । उनले भने, ‘दिन्छु दिन्छु भनेर

मलाई झुलाएजस्तो देखिए पनि यो राम्रो काम गर्ने सपना देख्नेहरूलाई झुलाएको हो ।’

 सरकारबाट केही नहुने भएपछि उनी अहिले स्वत:स्फूर्त रूपमा अनलाइनमार्फत र सोझै पनि आर्थिक सहायता उठाइरहेका छन् । उनका अनुसार कम्तीका ४० करोडदेखि ५० करोड रुपैयाँ केन्द्रका निम्ति लाग्नेछ । उनले भने, ‘यो सामान्य सोच होइन । सिंगो देश नै बदल्ने सोच हो ।’ उनको आह्वानपछि विभिन्न व्यक्तिले झन्डै आठ लाख रुपैयाँ दिने प्रतिबद्धता जनाइसकेका छन् । त्यस्तै करिब एक लाख रुपैयाँ नगद सहयोग पाइसकेका छन् । उनी आफैं पनि स्कुल र कलेजमा पुगेर विद्यार्थीलाई आविष्कार केन्द्रको आवश्यकता र यसले कसरी काम गर्छ भनेर बुझाइरहेका छन् ।

उनले भने, ‘विद्यार्थीले खाजा खर्च कटाएर पनि सहयोग सुरु गरेका छन् । जसरी हुन्छ केन्द्र खोलेरै छाड्छु ।’




Don't Forget To Join US Our Community