कुवेतस्थित दूताबासमा ‘खदामा’ लाई थुनेको त्यो दिन !

यस्ता नेपाली चेली कति होलान् ? जसलाई कुवेतीले थुनेका छन्
गोमादेवी ढकाल पौडेल
“मेरो साहु आएर मलाई कुट्न त कुट्दैन नि बैनी ??” उनले एकदम काँपेको स्वरमा मलाई हेरिन् ।
“तपाईं ढुक्क हुनुस् दिदी यहाँ आएर कसैले केही गर्न सक्दैन ।”
“मेरो साहु त पुलिस हो नि बैनी”
“उसको छोरा त झन् पुलिसको ठुलो मान्छे रे । “
गोमादेवी ढकाल पौडेलगोमादेवी ढकाल पौडेल
“म घरबाट भागें भने उसले चोरीको केश लगाइदिएर जिन्दगीभरि कुवेतको जेलमा सड्ने बनाइदिन्छु भन्थ्यो । मलाई बचाउनुस् है बैनी ।”
“चिन्ता नलिनुस् दिदी तपाईं यहाँ आउनुभएको छ । जसरी पनि तपाईं नेपाल पुग्नुहुन्छ ।” मैले उनलाई आश्वस्त पार्न खोजें ।
एकैछिनमा एकजना मोटी कुवेती हृविल चेयरमा बसेर मेरो कोठामा छिरी । उसका साथमा अर्की कुवेती महिला पनि थिई ।
“खदामा मौजुद सफारा ? (मेरी नोकर्नी आएकी छे ?)”
“आना कफिल” (म उसकी मालिक्नी हुँ)”
“हिअ खल्ली वैत (उसलाई मेरो घरमा पठाइदेउ)” उसले एकैसासमा भनी ।
“आतिनी पासपोर्ट (खोई उनको पासपोर्ट दिनुस् त)” मैले पहिला ती दिदीको पासपोर्ट मागें ।
“दिग्गी वताका (तपाईंको परिचयपत्र दिनुस्)” अनि ती महिलाको सिभिल आइडी कार्ड मागें ।
आफ्नी नोकर्नीलाई आफुसँग पुनः घरमा पठाइदिन्छे भन्ने आशाले उसले पासपोर्ट खुरुक्क दिई । तर, सिभिल आइडी कार्ड अहिले आफुसँग नभएको बाहना बनाई ।
पासपोर्ट मैले टेबुलको घर्रामा चाबी लगाएँं ।
“खदामा माई रो वैत । हिअ रो साफर (उनी तपाईंको घरमा जान्नन्…. नेपाल जान्छिन्)” मैले भनें ।
“लेस ?? (किन ??….) आना कफिल (म उसको मालिक हुँ)” उसले चर्को स्वरमा कराउन लागी ।
“उनलाई किन कुटेको ?? कुटपिट गर्ने, तपाईंको घरमा कसरी पठाउने ?” मैले भनें ।
उसले मलाई नै कुटौला जस्तो गरेर हेरी र भनी “म यहाँको सभा फेमिली (राज खान्दान) को मान्छे हो । मलाई मेरो खदामा लैजान दे, नत्र मैले जानेको छु । “
उसले खदामालाई कुटुँला जस्ता आँखाले हेरी । “उठ् …..मसँग हिँड्” उसले ती दिदीलाई धम्क्याई ।
उनी एकदमै डराइन् र जुरुक्क उठिन् ।
“तपाईं किन उठ्नुभएको दिदी ? उसको घरमा जाने हो ?” मैले अलि रिसाएको स्वरमा सोधें ।
“जान त नजाने भनेको नि । ” एकदमै काँपेको स्वरमा उनले भनिन् ।
“अनि ? किन उठ्नुभको त ?”
“नगएमा उसले यहीँ पुलिसलाई बोलाउँछु भन्छे नि त ।”
“यसले भनेर हुन्छ ? कुनै हालतमा यसको घरमा जाने होइन । तपाईंलाई यसले केही गर्न सक्दैन । हामी जसरी पनि तपाईंलाई नेपाल पठाउँछाैं । यहीँ त यसरी कुटौलाजस्तो गर्नेले घरमा गयो भने के गर्ली ? म छु यहाँ …. नडराई बस्नुस् त ।” मैले अलि चर्को स्वरमा उनलाई भनें ।
“यसले त मलाई मार्छे बैनी, मलाई बचाउनुस् है”…….. उनी डराउँदै बसिन् ।
उ रीसले रातो भई । ठुल्ठुलो स्वरमा मलाई गाली गरी । घुरेर हेरी र भनी “मेरो खदामालाई रोक्ने तँ को ? मेरो कत्रो वास्ता (सोर्स/फोर्स) छ, तलाईं देखाउँछु । तेरो विरुद्धमा केश गरेपछि थाहा होला, मेरो खदामालाई नजा भन्ने तेरो हैसियत ।”
“यल्ला रो” । उसले दिदीको पाखुरामा समाती र घिसार्न खोजी ।
म कुर्सीबाट जुरुक्क उठें र रीसले रातो हुँदै कराएँं -“आफैं कुटपिट गर्ने अनि फेरि तेरो घरमा जानुपर्ने ? उनको हात छोड् ।”
ती दिदी एकदमै डराएर काँप्न थालिन् ।
“नउठ्नुस् दिदी । यसको घरमा कुनै हालत जाने होइन ।
उ मसित आगो भई – “आतिनि जवाज (पासपोर्ट दे)” उसले भनी ।
“ला .दिन्न)” मैले भनें ।
“लेस् ? ….. आना कफिल …. केरे ? म मालिक हो । मेरो नोकर्नीको पासपोर्ट मैले किन नपाउने ?” रीसले उसका आँखा राता भए ।
“तेरो खदामा भन्दा पहिले उ नेपाली नागरिक हो । यो पासपोर्ट नेपाल सरकारले दिएको हो । यो उनको व्यक्तिगत डकुमेन्ट हो । यसमा तेरो कुनै अधिकार छैन, म दिन्न ।” मैले अडान लिएँ ।
नदिने त ? ” उसले फोन डायल गरी र अरबी भाषामा खोई केके भनी ।
…………..
एकैछिनमा ४ जना प्रहरी आए ।
“सुनो मुस्किला ?? (के समस्या भयो ?)” प्रहरीले सोध्यो ।
उसले बेलीविस्तार लगाई ।
प्रहरीले उनलाई उसको घरमा पठाइदिन हामीसँग अनुरोध गर्यो ।
मैले प्रहरीलाई प्रश्न गरें “कुटपिट भएर आएको एकजना नेपाली नागरिकलाई फेरि त्यहीँ पठाउने ? “
“प्लिज एक दिनलाई भए पनि पठाइदिनु । हामी आइहाल्यौं” प्रहरीले अनुरोध गर्यो ।
“किन पठाउने ? पीडित भएर आएको महिलाको सुरक्षा गर्नु हाम्रो कर्तव्य र धर्म हो । हामी कुनै हालतमा पठाउँदैनाैं”
“त्यसो भए पासपोर्ट दिनुस्”
“दिन्न”
“किन ?”
“यो उनको व्यक्तिगत सम्पत्ति हो । कसैको इच्छाविपरीत कसैले पनि अर्काको पासपोर्ट राख्न मिल्दैन ।”
प्रहरी अवाक भयो ।
मालिक्नी कराइ गरिरहेकी थिई । आफ्नो खदामालाई घरमा जान नदिएकोमा मसँग उसलाई सारै रीस उठेको थियो । उसले मेरो विरुद्धमा केस दर्ता गरिदिन प्रहरीसँग अनुरोध गरी ।
एउटा प्रहरी अलि बुझक्कड रहेछ । उसले भन्यो “राजदूतावासमा आएको कोही पनि उसको नागरिकलाई उसको इच्छाविपरीत हामीले न त साहुको घरमा फर्काउन सक्छौं, न त पासपोर्ट दिन जबरजस्ती गर्न नै । त्यसमाथि कर्मचारीको विरुद्धमा केस हाल्न कसरी मिल्छ ? हाम्रो वास्ता (सोर्स/फोर्स) ले मात्रै यहाँ चल्दैन । हामीले कानून मान्नुपर्छ, हामी केही गर्न सक्दैनौं ।”
अब भने उ फत्र्याक्कै गली । उसका ओठमुख सुके । उ नाजावाफ भई । “तँ कसरी नेपाल जाँदिरैछेस्, हेर्छु म पनि” खदमालाई औंलो ठड्याउँदै घुरेर हेरी र फनक्क फर्किई ।
प्रहरीहरु गए । ऊ फत्फताउँदै भित्र-बाहिर गरिरही । मन त थियो त्यसलाई त्यहाँबाट गलत्याएर बाहिर निकाल्ने । तर, म त्यसो गर्न सक्दिनथें । आफ्नो खदामालाई कुटपिट गर्ने र उल्टै राजदूतावासमा आएर कर्मचारीमाथि औंला ठड्याउने त्यो जंगली कुवेती महिलालाई मेरो लाग्ने पुग्ने भए लगेर प्रहरी खोरमा जाक्न मन थियो ।
तर, के गर्नु ? मलाई थाहा थियो, यहाँको सिस्टम । कुनै पनि कुवेतीले अन्य देशका नागरिकविरुद्धमा जस्तोसुकै अपराध गरे पनि उ कारवाहीको भागिदार बन्नुपर्दैन । यहाँका हरेक सरकारी अधिकारीले कुवेतीकै पक्ष लिन्छन् । त्यसैले त जो चोर, उसकै ठूलो स्वर भएको थियो त्यहाँ ।
त्यो साहुनी भित्र आएर फेरि ती दिदीलाई लैजान जबरजस्ती गर्ली भनेर मैले उनलाई कोठाभित्रै थुनें, बाहिरबाट चाबी लगाएँं र म निस्कें ।
उ धेरैबेर फत्फताइ रही । मलाई खोज्दै तलमाथि गरी । ती दिदीलाई लैजान हर प्रयास गरी । तर, केही नलागेपछि उ गई ।
म कोठामा छिरें । लामो सास फेरें । अघिसम्म कालोनीलो अनुहार लगाउँदै थरथर काँपिरहेकी ती दिदी मुसुक्क मुस्कुराइन् र ढुक्कले बसिन् ।
“बहिनी धन्यवाद, त्यो घरमा फर्केर गएको भए त मलाई त्यसले मार्ने थिई । बचाउनुभो ।”
“अब म नेपाल जान पाउँछु ?” उनले सोधिन् ।
पासपोर्ट त हामीसँग छ । तर, उसले केश हाल्दिई भने तत्काल जान पाइन्न । त्यस्ता केस भएकाहरु जेलमा बसेर मात्रै फर्किनुपर्छ । तैपनि चेक गरेर टिकटको व्यवस्था गरौंला ।”
०००००
भोलिपल्ट उनको केश भए/नभएको चेक गरियो । तर सोचेजस्तो कहाँ हुन्थ्यो ? आफ्नो वास्ता (सोर्स/फोर्स) ले लाग्ने पुग्ने भए राजदूतावासका कर्मचारी विरुद्धमै केश हाल्न तम्सिएकी उसले भागेर जाने आफ्नी खदामालाई छोड्ने कुरै थिएन । त्यही दिन उसले खदामा विरुद्धमा भगौडा केश (रन वे केश) दर्ता गरिछ ।
उनी पासपोर्ट लिएर नेपाल र्फकन नपाउने भइन् । अब उनी प्रहरीमार्फत जेलमा बसेर डिपोर्ट भएर मात्रै नेपाल र्फकन सक्ने भइन् । नेपाल फर्काउने प्रकृयाका लागि राजदूतावासले नै उनलाई प्रहरीकहाँ बुझाउनुपर्ने थियो ।
प्रहरीकहाँ पठाउन पनि सजिलो थिएन । यस्ता केश भएका र गैरकानूनी कामदारहरु धेरै भएकैले जेलमा ठाउँ छैन भन्दै प्रहरीले समेत लिन मान्दैन । दुई महिनाको भगिरथ प्रयत्नपछि नेपाल फर्काउन डिपोर्टेशन प्रकृयाका लागि उनलाई प्रहरीकहाँ बुझाइयो ।
००००
“हेलो मेडम नमस्कार” … मोवाइलमा नेपालबाट आएको एउटा फोनमा एक परिचित आवाज थियो ।
“नमस्कार दिदी …. तपाईं नेपाल पुग्नुभो ?”
“पुगें बैनी ।” उनले खुशी मुद्रामा भनिन् ।
“राम्रैसँग पुग्नुभो नि ? ल दिदी एकदमै खुशी लाग्यो ।”
“अँ राम्रैसँग पुगे बैनी । तपाईंलाई धेरैधेरै धन्यवाद छ है, बैनी ।. तपाईंले त्यो दिन चाबी लगाएर नथुनेको भए खोई म नेपाल फर्किन पाउँथे कि पाउन्नथें ।”
उनको कुराले मलाई गम्भीर बनायो । ढोकामा चाबी लगाएर उनलाई थुनेको त्यो दिनको सम्झना आयो । यस्ता सयौं केशहरु मेरा आँखामा झलझली घुम्न थाले ।
सोचें – “उनलाई त मैले चावी लगाइदिएकी थिएँ र नेपाल पुग्न सकिन् । तर, यस्ता नेपाली दिदीबहिनीहरु कति होलान्, जसलाई कुवेतीले चावी लगाएर थुनेको छ । र, उनीहरु कहिले नेपाल पुग्लान् ?” एउटा अनुत्तरित प्रश्नले सताइरह्यो मलाई ।
२०७३ साउन २६ गते १३:५४ मा प्रकाशित (२०७३ साउन २७ गते १०:४१मा अद्यावधिक गरिएको)
Don't Forget To Join US Our Community