दाहाल दोस्रोपटक प्रधानमन्त्री निर्वाचित



श्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि ९ वर्षअघि उनी पहिलोपटक प्रधानमन्त्री भएका थिए ।

प्रधानमन्त्रीका लागि बुधबार संसदमा भएको मतदानमा एकल उम्मेदवार रहेका दाहालको पक्षमा ३६३ र विपक्षमा २१० मत परेको थियो । सभामुख ओनसरी घर्तीले संसदमा हाल कायम सदस्य संख्याको बहुमत मत पाएका दाहाललाई विजयी घोषणा गरिन् ।



संसदको सबैभन्दा ठूलो दल कांग्रेस, ४२ मत रहेको मधेसी मोर्चासमेतको संघीय गठबन्धन, फोरम लोकतान्त्रिक, राप्रपालगायत साना दलको समर्थनमा दाहाल प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनको पार्टी माओवादी केन्द्र भने संसदमा तेस्रो ठूलो दल रहेको छ । निर्वाचनमा ५ सय ७३ सांसद उपस्थित थिए ।

नेपालमा दोहोरिएर प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका छन् ।

दाहालविरुद्ध अन्य कुनै पनि दलले उम्मेदवारी दिएका थिएनन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदका लागि एक मात्रै उम्मेदवारी परे पनि अन्य पदमा जस्तो निर्विरोध घोषणा हुँदैन ।

संसदको दोस्रो ठूलो दल एमाले र केही साना दलले विपक्षमा मतदान गरेका थिए । पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको तत्कालीन माओवादी र तेस्रो दल एमालेको गठबन्धनका तर्फबाट २०६५ भदौमा दाहाल पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसको नौ महिनापछि नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको विवादास्पद बर्खास्ती प्रकरणमा उनले २०६६ वैशाख २१ मा पदबाट राजीनामा दिएका थिए ।





प्रधानमन्त्रीबाट नौ महिनामै बाहिरिएको नौ वर्षपछि उनी पुन: नौ महिनाका लागि प्रधानमन्त्री हुन लागेका हुन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध सदनमा अविश्वास प्रस्ताव दर्ता गर्नुअगावै कांग्रेस र माओवादीबीच सत्ता समीकरण निर्माणका लागि भएको सहमतिमा दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले नौ/नौ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।

संविधानसभाबाट रूपान्तरित भएर बनेको संसद्मा अहिले ५९५ (दुई निलम्बितसमेत) सदस्य छन् ।




Don't Forget To Join US Our Community