
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय कांग्रेस पार्टीको दलालको संज्ञा दिएका छन् ।
नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठक र केन्द्रीय कार्यालय बैठकको निर्णयानुसार सरकारबाट फिर्ता भएपछि सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिँदै किरातीले ओलीलाई भारतीय कांग्रेसको दलालको संज्ञा दिएका हुन् ।
'खड्ग ओली खासगरी भारतीय कांग्रेस आईका दलाल रहेछन् । कांग्रेस आई र भाजपाका नरेन्द्र मोदीबीच द्वन्द्वमा ओलीले कांग्रेस आईको दलाली गर्दा मोदीसँग द्वन्द्व बढायो, नेपाली जनतालाई कष्ट भोगायो', उनले संगीन आरोप लगाउँदै भनेका छन्, 'ओलीद्वारा नियुक्त मुसा जत्रा पुन:निर्माण प्राधिकरण कार्यकारीले पुन:निर्माणको सबै जिम्मा अमेरिकी तथा युरोपेली गैरसरकारी संस्थालाई सुम्पेकाले ओली विदेशी कठपुतली प्रमाणित भए । यस्तो गद्दारले राष्ट्रवादको नारा दिनु अझ घातक छ ।'
शान्ति प्रक्रिया, भूकम्प पुन:निर्माण र संघीय गठबन्धनको माग सम्बोधन गरी संविधान कार्यान्वयन तथा छिमेकी सम्बन्ध सन्तुलन गर्न नसक्ने ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेर पार्टीलाई स्वतन्त्र राजनीतिक हैसियत दिलाउने सफलता हासिल गरेकोमा उनले पार्टी अध्यक्ष प्रचण्डलाई हार्दिक बधाई दिन पनि भ्याएका छन् ।