
असार २८, २०७३- सत्तासाझेदार माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिदै आएको समर्थन फिर्ता लिएको छ । मंगलबार प्रधानमन्त्री केपी ओलीलाई पत्र पठाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ताको औपचारिक जानकारी दिएका हुन् ।
‘संविधानको स्वीकार्यकता र कार्यान्वयन गर्न, संक्रमणकालीन न्याय तथा शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न, तराई–मधेसमा भएको आन्दोलन एवं थारुलगायत सबै आदिवासी जनजातिका सरोकारको सम्बोधन गर्न, गत वर्षको विनाशकारी भूकम्पबाट प्रभावित जनतालाई राहत तथा पुनर्निर्माणका लागि मुलुकमा राष्ट्रिय सहमति अत्यावश्यक रहेको हाम्रो पार्टीको धारणा रहँदै आएको छ,’ दाहालले मंगलबार प्रधानमन्त्रीलाई लेखेको चिठीमा भनिएको छ, ‘वैशाख २३ गते एमाले र हाम्रो पार्टीबीच भएको ९ बुदे सहमतिको मूलमन्त्र पनि यही थियो तर वर्तमान सरकारको नेतृत्वले नौबुदे सहमति र तीनबुदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुदा हाम्रो पार्टी अब यस सरकारमा सहभागी रहिरहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं ।’ माआवादी अध्यक्ष दाहालले मन्त्रिपरिषदबाट आफ्नो दलतर्फका सदस्य फिर्ता बोलाएकोसमेत पत्रमा उल्लेख गरेका छन् ।
दाहालको पत्र बोकेर नेता प्रमुख सचेतक हितराज पाण्डे र नेता जनार्दन शर्मा प्रधानमन्त्री ओली भेट्न सिंहदरबारस्थित कार्यालय पुगेका थिए । शर्माका अनुसार उनले बुझाएको पत्र खोलेर पढेपछि ओलीले भने, ‘राम्रो । शुभकामना छ ।’
सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बोकेर शर्मा राष्ट्रपति भवन शीतल निवाससमेत गएका थिए । सभामुख ओनसरी घर्ती भेट्न भने कृष्णबहादुर महरा गएका थिए ।