तमोरलार्इ पहिरोले थुनेर बनाएको ताल बगेन

ताप्लेजुङ: ताप्लेजुङको सावादिन गाविसस्थित नाक्ला भिरबाट झरेको पहिरोले थुनेको तमोर नदी बगिरहे पनि पहिरोले नदी थुनेर बनाएको कृतिम तालको पानी नबग्दा तमोर किनारका बासिन्दालाई अझै पनि विपत्ती निम्तिन सक्ने चिन्ताले छाडेको छैन ।
नदी फुरुम्वुतर्फको भाग कटान गरेर आफैं बाटो बनाउँदै बगिरहे पनि तालमा जमेको पानी नखुल्दा ठूलो पानी पर्यो भने नदीको बाँध एकैपटक खुलेर विपत्ति निम्त्याउने हो कि भन्ने चिन्ताले दक्षिणी क्षेत्रको नदी किनारका बासिन्दा उच्च सतर्कतामा छन् ।
शनिबार राति वर्षापछि झरेको पहिरोले तमोर नदी थुनिँदा मित्लुङ क्षेत्रमा करिब ६ सय मिटर लम्बाइ, ७० मिटर चौडा र १५ मिटर गहिरो ताल बनेको थियो । नदी थुनिएर बनेको तालमा फुरम्बु गाविस–९ का दिलबहादुर र जीवन लिम्बुको घर डुबेको थियो । ठूल ठूला चट्टान लिएर झरेको पहिरोले नदी थुनिएपछि बनेको तालमा सावादिन गाविसका जीवनको एक हल गोरु समेत बगेका थिए ।
अझै पनि तालको पानी पूर्णरुपले नखुल्दा मित्लुङ बजारका बासिन्दा निकै त्रसिद बनिरहेका छन् । १३ परिवारको बसोबास रहेको मित्लुङ बजार नदीभन्दा ५० मिटर बढी उचाइमा छ । ठूलो पानी आएमा बस्ती कटान हुने डरले यहाँका बासिन्दा रातमा पानी पर्र्यो भने रातभर टर्च बालेर खोला हेर्दै बस्ने गरेको मितलुङका पवन श्रेष्ठले बताए ।
तर नदी थुनिएको क्षेत्रका दायाँबायाँ दुवैतिर ठूल्ठूला ढुंगा बसेकाले ताल तत्काल फुट्ने जोखिम नरहेको कतिपयको अनुमान छ । तर प्रकृतिसँग कसैको केही नलाग्ने भएकोले कतिबेला के हुन्छ भन्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् ।
मानो खाएर मुरी उब्जाउने असार महिनामा तमोर नदी किनारका थुम्वा वेंसी, हान्द्रुङ र दोभान बजारका बासिन्दा दिनभर तमोर नदी थुनिएर बनेको ताल र यसले निम्त्याउन सक्ने खतराको अनुसन्धानका लागि मितलुङ पुग्ने गरेका छन् ।
Don't Forget To Join US Our Community