
श्रावण १, २०७३- युरो २०१६ मा आइसल्यान्ड र वेल्सले धमाका नै मच्चाए । पोर्चुगलले आफ्नो १ सय २ वर्षको फुटबल इतिहासमा पहिलोपल्ट उपाधि जित्न सक्यो ।
यी तीनमध्ये हामी कसैले पनि एक टिमले उपाधि जित्न सक्छ भनेर किन सोच्न सकेनौं ? कम्तीमा लेस्टर सिटीले इङलिस प्रिमियर लिग जितेपछि यस्तो अपेक्षा गर्न सकिन्थ्यो । आखिरमा उपाधि जित्नेछ भनेर ५०००–१ को बाजी रहेको टिमले सबैलाई चकित पारेको थियो । यसले अनपेक्षित पनि हुन सक्छ भनेर अपेक्षा गर्ने शिक्षा त दिएको थियो नै ।
साना टिमले पनि ठूला सपना देख्न सक्छन् र यसलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ । सन् १९९२ मा डेनमार्कले युरो जितेको थियो, सन् २००४ मा उरुग्वेले यस्तै उपलब्धि हात पार्यो । सन् १९३० मा पनि उरुग्वे पहिलो विश्वकप विजेता बनेको थियो । अहिले उरुग्वेको जनसंख्या ३६ लाख मात्र छ । विश्वकप जित्दा उरुग्वेको जनसंख्या त्यसको पनि आधा थियो । खासमा सपना देख्ने मुटु र विश्वास ठूलो
हुनुपर्ने रहेछ, न कि देशको जनसंख्या अथवा क्षेत्रफल ।
दोहोर्याउनुपर्ने तथ्य के छ भने उरुग्वेले पहिलो संस्करणको विश्वकप मात्र जितेन, त्यसको २० वर्षपछि फेरि यही सफलता दोहोर्याउन पनि सफल रह्यो । त्यो पनि ब्राजिललाई हराएर । अनि युरोको समकक्षी रहेको कोपा अमेरिका उरुग्वेले ११ पल्ट जितेको छ । ‘यी सबैको रहस्य भने सामान्य छ,’ आइसल्यान्डका डिफेन्डर रागनर सिगार्डसन भन्छन् । इंग्ल्यान्डलाई हरायता उनको भनाइ थियो, ‘सबैभन्दा ठूलो हामीले यस्तो गर्न सक्छौं भन्ने विश्वास हुनुपर्छ ।’
सामूहिक भावना, सही व्यवस्थापन र संगठनात्मक ढाँचा, खेलाडीको केही गरेर देखाउने आत्मविश्वासले यस्तो नतिजा सम्भव पार्ने रहेछ । अनि ठूला टिमले सानालाई सानो नै मान्ने भूलले पनि यसमा काम गर्ने रहेछ । सिगार्डसन रुसमा व्यावसायिक फुटबल खेल्छन् । उनी आइसल्यान्डका खेलाडीमध्ये सर्वाधिक कमाउने खेलाडी पनि हुन् । उनकै अनुभवमा पनि इङलिस खेलाडीले आइसल्यान्डलाई कमजोर आँक्ने भूल नगरेको भए, सायद उनीहरूको हार पनि हुने थिएन कि ?
इंग्ल्यान्डको हारलाई लिएर एक अर्को स्वतन्त्र विचार पनि अगाडि आएको छ । आइसल्यान्डका पूर्व डिफेन्डर हर्मन हेडारसनले १५ सिजन इङलिस फुटबलमा बिताए । उनले क्रिस्टल प्यालेस र विम्बल्डन जस्ता क्लबबाट खेले । उनका अनुसार आइसल्यान्ड विरुद्धको खेलमा इङलिस खेलाडी आत्तिएका जस्ता देखिन्थे । उनीहरूको मनमा एक खाले डर देखिएको थियो । त्यही डरकै कारणले इङलिस खेलाडीले सानातिना गोल पनि गरे, जसकै कारण टिमको हार तय भएको थियो ।
जस्तो स्टोक सिटीले तयार पारेको नीति हो, लामो थ्रो गर्ने र त्यसमै गोल गर्ने । आइसल्यान्डले त्यही गरेको थियो, इङलिस खेलाडीले रोक्नै सकेनन् । कम्तीमा वेल्ससँग गेराथ बेल जस्ता स्टार खेलाडी थिए । यी रियल म्याड्रिडबाट खेल्ने विश्वकै सर्वाधिक महँगा खेलाडीमा पर्छन् । उनी वेल्सबाट खेल्न भनेपछि हुरुक्कै हुने खालका हुन् । उनले के बुझेका छन् भने आफू जस्तै स्टार खेलाडी भए पनि फुटबल टिम खेल रहेको हुनाले साथी खेलाडीको उत्साहलाई बढावा दिन सक्नुपर्छ ।
त्यसैले उनले साथी खेलाडीको मुखमा हाँसो देखियोस् भनेर ती सबै काम गरे, जुन एउटा टिम नेताले गर्नु सक्नुपर्छ । नभन्दै वेल्सका खेलाडीले खुबै मज्जा लिएर युरो खेले ।
बेलको दौड, शक्ति र उनको फ्रिकिकबारे के भन्नु ? आरोन राम्सीको पास पनि कम्ती राम्रा थिएनन् । अनि एस्ली विलियम्सले पूरा डिफेन्सको जिम्मेवारी आफ्नो काँधमा लिएका थिए । हल रोब्सन कानुले गरेको त्यो सुन्दर गोलले धेरैलाई सन् सत्तरीतिर योहान क्रुफको खेल सम्झाएको हुनुपर्छ ।
वेल्स टिमको नारा नै थियो, ‘एकजुट भयौं भने हामी शक्तिशाली हुनेछौं ।’ वेल्स टिमका प्रशिक्षक हुन्, क्रिस कोलेमन । उनको सोच युरो २०१६ ताका निकै चर्चित रह्यो । उनी भन्थे, ‘भय के हो ? मेरो विचारमा आफ्नै कमजोरीबाट धेरै सोच्नु हो, न कि विपक्षी टिमको बलियो पक्षबारे । म सपना देख्न र असफल हुनेछु भनेर डराउँदिन । मैले आफ्नो जीवनमा सफलताभन्दा बढी असफलता भोगेको छु । त्यसैले सपना देख्न डराउनु हुँदैन ।’